कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रभावकारी भएन बाली विज्ञान

प्रयोगात्मक अभ्यासका लागि जमिन र प्राविधिक उपकरणको अभाव
कान्तिपुर संवाददाता

पर्वत — प्राविधिक उपकरण र जमिनको अभावमा फलेवास ४ मुडिकुवास्थित माटीदेवल माविलाई बाली विज्ञान अध्यापनमा समस्या परेको छ । पाँच वर्षअघि उक्त विषयको पढाइ सुरु भएको हो ।

प्रभावकारी भएन बाली विज्ञान

पर्वत–


हाल बाली विज्ञान अध्ययन गर्ने ९१ विद्यार्थी छन् । जिल्लाकै विद्यालयमध्ये नमुना प्राविधिक शिक्षा पढाउने भनिएको विद्यालयमा विद्यार्थीलाई पर्याप्त अभ्यास गराउन नपाएको प्राविधिक विषय इन्चार्ज लालबहादुर क्षत्रीले बताए । विद्यार्थीलाई ६० प्रतिशत सैद्धान्तिक र ४० प्रतिशत व्यावहारिक अध्यापन गराइनुपर्छ ।


इन्चार्ज लालबहादुर क्षत्रीका अनुसार ‘कृषिको पढाइमा विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गराउन सिँचाइयुक्त खेतबारी आवश्यक हुन्छ,’ उनले भने, ‘स्कुलसँग उपयुक्त जमिन छैन । बाहै्र महिना तापक्रम सन्तुलन राख्ने ग्रिन हाउस (हरितगृह) नभई हुँदैन ।’ विज्ञानका धेरैजसो विषयको प्रयोगात्मक अभ्यासका लागि प्रयोगशालामा आवश्यक उपकरण छैनन् । कक्षा ९ मा अनिवार्य कम्प्युटर विषय पढाउन पर्याप्त संख्यामा कम्प्युटर छैनन् । ‘पहिलो कुरा यो विषयको पाठ्यभार नै वैज्ञानिक छैन,’ क्षत्रीले भने, ‘गाउँको विद्यालयमा प्राविधिक उपकरण पाउन निकै समस्या छ । माग गरेको बेलामा आउँदैनन्, आएका उपकरण विद्यार्थीलाई पर्याप्त हुँदैनन् ।


प्राविधिक उपकरण र प्रयोगात्मक अभ्यासस्थलको अभावले विद्यार्थीले पनि मन लागेको कुरा खुला भएर सिक्न नपाएको बताएका छन् । ‘पाठ्यक्रममा भएका कुरा पढेरभन्दा गरेर धेरै बुझ्नुपर्ने छन्,’ विद्यार्थी उषा तिवारीले भनिन्, ‘किताबमा भएअनुसारको सबै अभ्यास गर्न पाइँदैन ।’ पाठ्यभारअनुसार अवलोकन भ्रमणबाट समेत सिकाइमा सहयोग पुग्ने भए पनि अवलोकन भ्रमण नभएको विद्यार्थीको गुनासो छ । विद्यालयले आर्थिक अभाव र छुट्टै बजेटको व्यवस्था नहुँदा विद्यार्थीलाई नियमित भ्रमण गराउन नसकेको जनाएको छ ।


विद्यालयका प्रधानाध्यापक रामप्रसाद रिजालका अनुसार पछिल्लो समय यो विषयमा विद्यार्थीको आकर्षण बढदो छ । बाली विज्ञानको पढाइ हुने जिल्लाकै यो मात्रै विद्यालय भएकाले सबैजसो गाउँका विद्यार्थी यहाँ अध्ययनरत छन् । कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थी जिल्लाबाहेक बागलुङका केही गाउँका समेत छन् । शैक्षिक सत्र ०७१ बाट सुरु भएको बालीविज्ञानका कक्षाहरूमध्ये पछिल्लो वर्ष विद्यार्थी आकर्षण बढदै गएको भर्ना संख्याले पनि देखाएको छ । हाल कक्षा १२ मा ११, ११ मा १६, १० मा २५ र कक्षा ९ मा २८ विद्यार्थी छन् ।


प्राविधिक विषयका इन्चार्ज क्षत्रीका अनुसार मध्यमस्तरको जनशक्ति उत्पादन गर्न शिक्षा विभागले सिर्जना गरेको यो विषय सामान्य विद्यार्थीका लागि निकै जटिल छ । ‘साइन्सका अलावा कृषिको पढाइ हुँदा दोहोरो चाप छ,’ उनले भने, ‘मध्यम जनशक्ति उत्पादन भनेपछि सहज कोर्स हुनुपर्नेमा यो विषयमा थप कोर्स र पाठ्यभार लादिएको छ । यो वैज्ञानिक छैन ।’ कक्षा १२ पास गरेपछि सबै विषय पढ्न खुला हुने भएकाले बढी क्षमतावान् विद्यार्थीका लागि मात्रै कोर्स बनाइएको उनको आरोप छ । कोर्स जटिल र बढी तयारी गर्नुपर्ने भएकाले शिक्षक नपाइने समस्या पनि उस्तै रहेको विद्यालयले जनाएको छ ।


बाली विज्ञान पढाइ हुने मुलुकभर ९२ विद्यालय छन् । सबै विद्यालयमा समान कोर्स भएकाले लक्ष्यअनुसारको कोर्स नभएको भन्दै शिक्षा मन्त्रालयमा सबै विद्यालयले कोर्ष सच्याउन दबाब दिएका छन् । मन्त्रालयले आगामी सत्रमा सच्याएर पठाउने आश्वासन दिएको विद्यालयले जनाएको छ ।

उपकरण सहयोग
फलेवासको उक्त विद्यालयलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन कार्यान्वयन इकाइ कार्यालयले ५ लाख बराबरका आवश्यक उपकरण सहयोग गरेको छ । चारवटा कम्प्युटर, दुई ल्यापटप, १ सय ९४ प्राविधिक पुस्तक, दुई प्रोजेक्टर र कुर्सी–टेबल सहयोग गरिएको इकाइ प्रमुख वरिष्ठ कृषि अधिकृत वसन्तकुमार श्रेष्ठले बताए । सहयोग सामग्री फलेवासका नगर प्रमुख पदमपाणि शर्माले हस्तान्तरण गरेका थिए ।

प्रकाशित : श्रावण २५, २०७५ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?