पर्यटकलाई लोकल कुखुरा

कान्तिपुर संवाददाता

लमजुङ — चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने मस्र्याङ्दी गाउँपालिका ४ ताघ्रिङ रामबजारका एक युवकले रैथाने प्रजातिका कुखुरा पालेका छन् । पदमार्गका पर्यटकलाई लक्षित गरी ४२ वर्षीय बलबहादुर गुरुङले लोकल कुखुरा पालेका हुन् ।

आफैंले चलाएको होटलमुनिको खेतमा उनले खोर बनाएका छन् । ‘गाउँसम्म ब्रोइलर कुखुरा पुग्यो । पर्यटक लोकल कुखुरा मात्रै भन्छन्,’ उनले भने, ‘खोज्दाखोज्दै हैरान भएर आफैं पाल्न सुरु गरें ।’ एक वर्षअघि पोखराको शिशुवाबाट सय चल्ला ल्याएर व्यवसाय सुरु गरेका उनको खोरमा अहिले चार सय कुखुरा छन् । ‘राम्रै आम्दानी हुन थालेको छ । ३० देखि ४० कुखुरा मासिक बिक्री हुन्छ,’ उनले भने ।


एउटा भालेलाई १ हजार ५ सयदेखि ३ हजार रुपैयाँसम्ममा बिक्री गरेको उनले बताए । उनीसँग लुइँचे, बनराजा, स्याखिने, घाँटी खुइले, स्थानीय लोकल र पोख्रेली जातका कुखुरा छन् । केही कुखुरालाई जंगली कुखुराबाट ‘क्रस’ गराएर पालेको उनले बताए । धेरै प्रकारका कुखुरा भएकाले रंगीचंगी देखिएको उनले सुनाए । ‘हेर्न आउनेसमेत रंगीचंगी कुखुरा देखेर मख्ख पर्छन् । जुन मन लाग्यो, त्यही रोज्ने गर्छन्’ उनले भने । स्थानीय जातको लोकल कुखुराको माग बढदो क्रममा रहेकाले यसको माग थेग्न नसकेको उनले बताए । उनका अनुसार गाउँगाउँमा होमस्टे सुरु भएसँगै लोकल कुखुराको माग बढेको हो । लोकल कुखुरा हुर्काउन भने समय लाग्ने उनले बताए । यसलाई हुर्काउन गाह्रो पनि छ । ‘एउटा चल्ला हुर्कन ९ महिना लाग्छ । बढ्दो मागमा थेग्न सकिँदैन,’ उनले भने ।

Yamaha


उनले पालेका कुखुराले अण्डा पार्ने र उनले अण्डासमेत बिक्री गर्ने गरेका छन् । अण्डाको माग मनाङबाट समेत आउने गरेको उनले बताए । ‘मसँग १२/१५ माउले दैनिक फुल पार्छ । यताउता गर्दा यतै सकिन्छ । लोकल भएकाले धेरै पार्दैन । कोरल्न पनि लगाउनु पर्‍यो,’ उनले भने । कुखुराको अण्डा एक क्रेटको ६ सय रुपैयाँमा बिक्री गर्ने गरेको उनले बताए ।


आफ्नै ३ रोपनी जग्गामा कुखुरा फार्म बनाएका उनले लगानी बढाउने तयारी गरेका छन् । मस्र्याङदी गाउँपालिका पशु सेवा शाखाका प्रमुख पशु चिकित्सक नारायण कुसुमले स्थानीय जातको कुखुरा प्रवद्र्धनका लागि किसानलाई सहयोग गर्दै आएको बताए । आर्थिक वर्ष ०७४/७५ मा ७५ हजार रुपैयाँँ विनियोजन गरी व्यावसायिक लोकल कुखुरापालनमा लागेकालाई खोर सुधार गर्न अनुदान दिइएको उनले बताए । ‘किसानलाई हौसला स्वरूप सहयोग गर्न हामीले यस वर्ष पनि बजेट विनियोजन गरेका छौं । औषधिलगायत प्राविधिक सहयोग हामी दिन्छौं,’ उनले भने ।

प्रकाशित : श्रावण २५, २०७५ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सुरक्षा योजना बनाउँदै विद्यालय

०७२ सालको भूकम्पपछि हरेक विद्यालयमा विपत् जोखिम न्यूनीकरणका लागि सुरक्षा योजना बनाउनुपर्ने प्रावधान
प्रकाश बराल

बागलुङ — विद्यालय सुधार योजनामा विपत् जोखिम न्यूनीकरण कार्यक्रम समावेश गर्न थालिएको छ । विद्यालयमा आइपर्न सक्ने विपत्बारे अनिवार्य योजना बनाउन शिक्षा मन्त्रालय र स्थानीय तहले आग्रह गरेपछि विद्यालय जुर्मुराएका हुन् । ०७२ सालको भूकम्प र त्यसबाट पुगेको क्षतिपछि हरेक विद्यालयमा सुरक्षा योजना बनाउनुपर्ने प्रावधान छ ।

तत्कालीन शिक्षा विभागले विभिन्न विज्ञ र गैरसरकारी संस्थाको सहकार्यमा विपत् पूर्वतयारी र जोखिम न्यूनीकरण योजनासमेत बनाउने अभियान थालेको थियो । नमूनाको रूपमा बनाइएका केही योजना र केही घटना अभ्यास समेतपछि विद्यालयमा यो काम थालिएको शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख कुश्मराज उपाध्यायले बताए । ‘विद्यालय सुधार योजनामा अनिवार्य विपत् तथा जोखिम न्यूनीकरण कार्यक्रम बनाउन भनेपछि हाल बनाउने क्रम सुरु भएको छ,’ उनले भने, ‘योजना बनेपछि आन्तरिक र बाहिरी स्रोत जुटाएर काम गर्न पनि सजिलो भएको छ ।’


पहिलो चरणमा इकाइले केही गैरसरकारी संस्थाको सहकार्यमा नमूना अभ्यास गराएपछि काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका ४० विद्यालयले योजना बनाएका हुन् । उनीहरूको योजनामा भूकम्प, बाढी पहिरो, चट्याङ र हावाहुरीलगायतका विपत् विगत १० वर्षमा भएका घटनाको संकलन गरेर योजनामा समावेश गरिएको हो । उक्त सिकाइबाट अब गर्नुपर्ने कामबारे योजना बनाएर इकाइमा समेत पठाइएको शिक्षकले बताएका छन् । ‘हाम्रा विद्यालयमा कति धेरै जोखिम रहेछन् भन्ने बल्ल थाहा पाइयो,’ मूलपानी माविका व्यवस्थापन समिति अध्यक्ष बद्रिबहादुर केसीले भने, ‘खहरे खोला तर्न नसकेर धेरै बालबालिका घर फर्कने गरेको भेटियो ।’ सामान्य फडे पुल बनाउन नसक्दा बालबालिकाको पढाइमा असर परेको पाइएको उनले बताए । विद्यालय छाड्ने दर बढ्नु र बालबालिका बजार केन्द्रित बन्नुमा जोखिमको आँकलन नगरेको र सुरक्षाको उपाय नखोजेको उनले अनुभव सुनाए ।


विद्यालयहरूले वार्षिक क्यालेन्डरसमेत बनाएका छन् । उक्त क्यालेन्डरमा मासिक रूपमा हुने जोखिमको सूचीकृत गरिएको छ । यहाँका विद्यालयले भूकम्पको कथालाई पाठ्यक्रममा समावेश गरेका छन् । हरेक कक्षामा कम्तीमा एउटा कक्षामा भूकम्पसहितका जोखिम बारेको कक्षा सञ्चालन हुने व्यवस्था भएको सिगाना माविका प्रधानाध्यापक गोपालकुमार शर्माले बताए । ‘कथाको रूपमा प्रस्तुत गरिने सामग्रीबाट बालबालिकामा सकारात्मक प्रभाव परेको छ,’ उनले भने, ‘उनीहरूले अभिभावकलाई पनि जोखिमबारे बुझाउने काम गरेका छन् ।’ पटकपटक चट्याङले क्षति पुगेकाले केही विद्यालयले अर्थिङ गर्न थालेका छन् । ठूला रूखको छेउमा घर तथा विद्यालय रहेका स्थानमा बढी चट्याङ परेको उनीहरूको अनुभव छ । विद्यालयमा अर्थिङ गर्दा गत चैतदेखि चट्याङको जोखिम हटेको तित्याङ माविका शिक्षक कुमार पौडेलले बताए । तंग्रामका केही विद्यालयले खोल्साखोल्सीमा छोटा पुल बनाउने अभियानै सञ्चालन गरेका थिए । स्थानीय तहमै गर्न सकिने धेरै काम भएकाले ठूला पूर्वाधारका माग मात्र जिल्लामा आउने गरेका छन् । यो अभियानलाई जिल्लाका सबै विद्यालयमा लैजाने योजना इकाइको छ ।


घटनाबाट बच्नका लागि नेपाली सेनाको सहयोगमा केही विद्यालयमा अभ्याससमेत गरिएको छ । सेनाले भूकम्प, बाढी पहिरो र आगलागीका घटनाबाट बचाऊ र सतर्कताबारे अभ्यास गराउन थालेका छन् ।

प्रकाशित : श्रावण २५, २०७५ ११:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT