कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

अध्ययनबिनैको निर्माणले विनाश

प्रकाश बराल

बागलुङ — अस्पताल निर्माण गर्दा बुर्तिबाङ बजारमा झर्ने खहरे खोलालाई तर्काएर सानो कुलोमा सीमित पारिएको थियो । बजारभित्र पुग्दा उक्त कुलोलाई नालीजस्तै भित्रभित्रै बगाइयो ।एक दशकसम्म उक्त खोलामा बाढी आएको थिएन । नाली भएर खोला बगेको यो अवधिमा यहाँ दर्जनौं घर थपिए ।

अध्ययनबिनैको निर्माणले विनाश

तिनले पनि खोलालाई नालामा साँघुरो पार्दै लगे । गत साउन १ को वर्षाले खहरे उर्लेर आयो । अस्पतालको दुई तला पुर्‍यो । पक्की र ठूलो भएकाले भवन भत्केन तर खहरेले ल्याएको पहिरोले बजारमा पसेर विध्वंस मच्चायो । १० घरधुरीको नाम निसान रहेन, अरू १८ घरमा क्षति पुग्यो ।


निसीखोलातर्फ जाने सडकमा पनि सडकको पानी सोहोरिएर गएपछि पहिरो खस्दा दुई घर पुरिए । ती घटनामा मानवीय क्षति नभए पनि भौतिक सम्पत्तिको नोक्सानी करोडौं रुपैयाँको भयो । तत्काल अब त्यहाँ फेरि घर बनाएर बस्न नसक्ने अवस्था भएको छ । गत असारमा गलकोटको हरिचौरमा आएको पहिरोले इलाका प्रहरी कार्यालयको गोलघर र झोलुंगे पुल बगायो । यो घटनापछि आसपासका केही घर जोखिममा परेका छन् । उक्त पहिरो खस्नुमा ग्रामीण सडकबाट सोहोरिएर आउने भलबाढी कारण भएको स्थानीय बताउँछन् । ‘प्रकृतिको गति रोक्न खोजेर गरिएको विकासले धेरै विनाश निम्त्याएको छ,’ बुर्तिबाङका हेमबहादुर विकले भने, ‘नालीमा खोलो नअटेपछि विध्वंस भएको हो । खहरे खोलालाई व्यवस्थापन नगरी बजार बसेको रहेछ ।’ पहिरो खसेपछि धेरैको क्षति र प्रकृति नियन्त्रण गर्न खोजिएको महसुस गरेको उनले बताए ।


प्राविधिक अध्ययनले पनि त्यस्तै देखाएको छ । अघिल्लो वर्ष निसीखोला गाउँपालिकाको २ नम्बर वडाका थुपै्र ठाउँमा पहिरो खस्यो । घटनामा तीन जनाको मृत्यु भएको थियो भने दर्जनौं घर विस्थापित भएका थिए । यसको मूल कारण पनि अव्यवस्थित सडक भएको पाइएको थियो । सम्भावित जोखिमको अध्ययनबिनै खनिएका सडकले पानीको बहाव फेरिदिँदा पहिरो खस्ने क्रम बढेको हो । ‘सडक कता बनाउने, कता संरक्षण गर्ने भनेर हामीले अध्ययन गरेका छैनौं,’ जिल्ला भूसंरक्षण अधिकृत शेरबहादुर श्रेष्ठले भने, ‘पुराना खोलाको कम्तीमा २० वर्षअघि र पछिको इतिहास हेर्नुपथ्र्यो । नहेरिकनै सडक खनिएको देखियो ।’ ठूलो क्षति भएपछि उद्धारका लागि तारजाली खोज्न आउनेको भीड लाग्छ । कार्यालय नै खारेजीमा परेपछि पीडितले त्यो अवसरसमेत नपाएको उनले बताए । अघिल्लो वर्षको पहिरोले निसीखोलाका केही घरपरिवार गाउँ फर्कनै सकेनन् । बालबालिकाले विद्यालय पुग्ने पुरानो बाटोसमेत मेटिएर सास्ती खेपेका छन् ।


बस्ती–बस्तीमा ग्रेड नमिलेका सडक खनिने क्रम बढ्दो छ । बागलुङ नगरपालिका ९ तित्याङमा खनिएको सडकमा बुकेनी गाउँ नै जोखिममा परेको छ । सडकसँगै धान खेत र केराबारी बगाएको छ । यहाँका सात घर उच्च जोखिममा परेका छन् । टेन्डर प्रक्रिया ढिला भएकाले वर्षातमा सडक खन्नु परेको जनप्रतिनिधि गुनासो गर्छन् ।


‘धेरै घुम्ती बनाएर डाँडोमा सडक लगिएकाले खोल्साको पानी अब सडकमा हिँड्न थालेको छ,’ सडक डिभिजन कार्यालय बागलुङका प्रमुख थानेश्वर खत्रीले भने, ‘मुख्य र व्यवस्थित सडक बनाएर सेवा लिनुपर्नेमा घरघरमा जाने सडक बनाएर बस्ती सखाप पारिएको छ ।’ करोडौं बजेट सकेपछि बस्ती विस्थापित भयो भने दुर्भाग्य हुने उनले बताए । एक महिनाअघि काठेखोला ८ को लेखानीमा बाटो भासिँदा अझै पैदल यात्रा सहज भएको छैन । हिउँदमा एस्काभेटर प्रयोग गरेर ढुंगा निकालिँदा सडक भासिएकाले समस्या भएको हो । ‘सडक सानो खर्चले बन्दैन,’ वडाध्यक्ष चित्रकला छन्त्यालले भनिन् ।

प्रकाशित : श्रावण २५, २०७५ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?