कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लेकाली बस्ती आलुको पकेट क्षेत्र

प्रकाश बराल

बागलुङ — कृषिबाटै आत्मनिर्भरता अभियान सुरु गरेको काठेखोला गाउँपालिकाले पकेट क्षेत्र विस्तार गरेको छ । कृषिका सम्भावना भएका स्थान समावेश गरेर पकेट र जोनसमेत बनाउन थालेको छ । सबै वडाका उच्च क्षेत्रमा आलुको व्यावसायिक उत्पादन बढाउन किसानलाई प्रोत्साहनका कार्यक्रम ल्याएको छ ।

लेकाली बस्ती आलुको पकेट क्षेत्र

३ नम्बर वडाको धम्जा ७ को रेश र ८ को कादेशमा आलुको पकेट क्षेत्र बनाउन बीउ र औजारमा सहयोगका कार्यक्रम कार्यान्वयनमा ल्याइएको गाउँपालिका अध्यक्ष अमर थापाले बताए । सबै वडामा प्रतिवर्ष ५ जनाका दरले युवालाई कृषि उद्यमको तालिम दिएर व्यवसायमा लगाउने योजना गत वर्षदेखि सञ्चालनमा छ । ‘एक वर्षमा ५ कृषि उद्यमी उत्पादन गर्दा ५ वर्षमा २० जना तयार हुन्छन्,’ उनले भने, ‘उनीहरूलाई बीउ, प्रविधि र आर्थिक सहयोग गर्न सकियो भने कृषि फसलबाटै आत्मनिर्भर बन्न सक्ने सम्भावना बढ्छ ।’ काम गरिरहेकालाई पनि थप सहयोग र हौसला दिइने उनले बताए । आठवटा वडामा ५ वर्षमा १ सय ६० नयाँ व्यवसायिक युवा बनाउने योजना उनले सुनाए । पहिलो चरणमा गाउँपालिकाले ६ नम्बर वडालाई केन्द्र बनाएर सुन्तला जोन बनाउन पनि पहल गरेको छ । हाल यो वडाबाट एकै वर्ष दुई करोड रुपैयाँ हाराहारीको सुन्तला बिक्री भएको वडाध्यक्ष युक्तप्रसाद कँडेलले बताए ।

जिल्ला कृषि विकास कार्यालय, प्रदेश सरकार र गाउँपालिकाको लगानीमा काठेखोलामै जिल्लाको सबैभन्दा ठूलो कृषि फसल भण्डार बनाउने तयारी पनि गरेको छ । त्यसका लागि प्रदेश सरकारले १ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । उक्त भण्डारन बनेमा सुन्तला, अदुवा र अलैंची जस्ता फसललाई आवश्यकताअनुसार बजारमा पठाउन सकिने वरिष्ठ कृषि विकास अधिकृत दीनेश आचार्यले बताए । काठेखोलामा पशुपालक किसान दूध उत्पादनमा पनि संगठित छन् । पशु विकास स्रोत फर्ममार्फत किसानले हरेक दिन हजार लिटर दूध बागलुङ बजारमा पठाउने गरेका छन् । उक्त फर्मका लागि पनि गाउँपालिकाले लगानी बढाएको छ । चालु आर्थिक वर्षका लागि २६ करोड ४९ लाख रुपैयाँको बजेटमा कृषि र पशुपालनलाई पहिलो प्राथमिकता दिइएको प्रशासकीय अधिकृत खिमबहादुर विकले बताए ।

ढोरपाटन र ताराखोलामा पनि प्रशस्त आलु खेती हुने गरेको छ । ती स्थानमा पनि आवश्यक भण्डारनस्थल बनाउनका लागि पहल सुरु भएको छ । ताराखोला गाउँपालिकाले आलु उत्पादन मात्र नभई परिकार बनाउने उद्यमी बनाउन लगानी सुरु गरेको अध्यक्ष प्रकाश घर्तीले बताए । ‘हामीले घरघरमै उद्यमी बनाउने लक्ष्य राखेका छौं,’ उनले भने, ‘त्यसका लाग टोलटोलमा तालिम उत्पादनकै लागि लगानी गरिरहेका छौं ।’ ताराखोलाका किसानले आलु फलाएर बर्सेनि लाखौं रुपैयाँ कमाइरहेका छन् ।

योजनाअनुसार उत्पादन बढाएर आम्दानी करोडमा पुर्‍याउने उनले बताए । ढोरपाटनमा बर्सेनि ५० मुरीदेखि २ सय मुरी आलु फलाउने धेरै किसान छन् । एक/दुईजनाले ५ सय मुरीसम्म आलु फलाएका उदाहरण छन् । ‘उत्पादन धेरै भए पनि समयमा बजार पठाउन सकेका छैनौं,’ स्थानीय गंगा अदैले भनिन्, ‘सहज सडक र भण्डारण चाहियो ।’ ढोरपाटन पुग्ने सडक सहज नहुँदा बिक्रीमा कठिनाइ भएको उनले बताइन् ।

प्रकाशित : श्रावण २८, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?