कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

सेवाग्राहीले बुझेनन् अनलाइन व्यवस्था

सेवाग्राही भन्छन्– ‘सुविधाको बहानामा सास्ती भयो’
‘सिस्टम बिग्रिएर समस्या आउनसक्छ’ - गोकुल शर्मा, निमित्त प्रमुख, यातायात व्यवस्था कार्यालय गण्डकी
लाइसेन्सको दरखास्तै भर्न हैरान
विना थापा

कास्की — यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) का लागि गरेको अनलाइन व्यवस्थालाई सेवाग्राहीले बुझ्न सकेका छैनन् । साउन तेस्रो सातादेखि खुलेको अनलाइन आवेदनको व्यवस्था नबुझ्दा सेवाग्राहीले हैरानी खेप्नुपरेको छ ।

सेवाग्राहीले बुझेनन् अनलाइन व्यवस्था

‘भर्न पाइन्छ भन्ने सुनेर साइबर गई भर्न थालेको सिस्टमले कामै गरेन,’ रामबजारकी स्मिता गुरुङ भन्छिन्, ‘अर्को पटक पनि गएँ, बन्द रहेछ । यस्तो अवस्थामा कसलाई भन्नु ?’ यातायात कार्यालयका कर्मचारी पनि अनलाइन आवेदनको व्यवस्थाबारे प्रस्ट बुझाउन सक्ने नभएको उनले सुनाइन् । ‘जति पालो पर्खन परे पनि पहिलेकै ठीक थियो,’ उनले भनिन्, ‘सुविधा दिने बहानामा सेवाग्राहीलाई समस्या भएको छ ।’ आफूले जेठमा भरेको आवेदन रद्द भएर पुन: भर्न खोज्दा सिस्टम इरर आएको उनले बताइन् । सिस्टममा आएको समस्याबारे सेवाग्राहीले प्रष्ट बुझिने गरी जानकारी दिइनुपर्ने उनको सुझाव छ ।

आवेदन खुलेपछि सबै सेवाग्राहीले फारम भर्न पाउनुपर्ने पृथ्वीचोकका शिवहरि पन्त बताउँछन् । ‘आवेदन खुल्यो भन्छन्, भर्न लाग्यो बन्द भइसकेको हुन्छ,’ उनले भने, ‘सम्बन्धित निकायले यसको व्यवस्था गर्नुपर्छ ।’ पोखरा पृथ्वीचोककी शान्ति सुवेदीले दिनमा १ घण्टा मात्र खुलाएर केही आवेदकले भरेपछि सिस्टम बन्द हुने गरेको बताइन् । ‘हप्ता, महिना कसरी हुन्छ, समय अवधि राखेर खुलाउँदा सहज हुन्थ्यो,’ उनले भनिन् ।

सिस्टम बिग्रिएर समस्या आउनसक्ने यातायात व्यवस्था कार्यालयको सवारीचालक अनुमतिपत्र गण्डकीका निमित्त प्रमुख गोकुल शर्मा बताउँछन् । ‘भदौ मसान्तसम्म प्याक भइसकेकाले पनि समस्या आउन सक्छ,’ उनले भने । केन्द्रबाट गण्डकीका लागि मोटरसाइकलका ५०, स्कुटरका ५० र कार, जिप भ्यानका सवारीचालक अनुमतिपत्रका लागि सय जनाको आवेदन खुलाएको उनले बताए । ‘तर, विभागबाट आवेदन बन्द भएको कुनै जानकारी आएको छैन,’ उनले भने ।

आवेदन डेढ महिना बन्द गरी साउनको तेस्रो सातादेखि पुन: खुलेको हो । चालु आवको अन्त्यमा रि–ट्रायलबारे सबै काम सिध्याएर राजस्वलगायत हिसाब मिलाउन यातायात व्यवस्था विभागले आवेदन बन्द गरेको थियो । प्रमुख शर्माका अनुसार लाइसेन्सको आवेदन, लिखित र प्रयोगात्मक परीक्षासमेत स्थगित गरिएको थियो । त्यस्तै जेठका लागि भरिएका सबै आवेदन रद्द गरी रि–ट्रायल बाँकी रहेकाहरूको परीक्षा असार दोस्रो सातासम्म सम्पन्न गरिसक्ने निर्णय गरिएको थियो ।

प्रकाशित : श्रावण २९, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?