१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

फोहोरबाट ८० लाख

संकलित फोहोरबाट बनाएको कम्पोष्ट मल, कागज र प्लास्टिक बेचेर आम्दानी
प्रतीक्षा काफ्ले

स्याङ्जा — नगर क्षेत्रबाट संकलित फोहोरबाट वालिङ नगरपालिकाले एक वर्षमा ८० लाख रुपैयाँ आम्दानी गरेको छ ।

फोहोरबाट ८० लाख

नगरप्रमुख दिलीपप्रताप खाँडका अनुसार कुहिने फोहोरबाट बनाएको २५ टन कम्पोष्ट मल, कागज र प्लास्टिक बेचेर आम्दानी भएको हो ।


फोहोर व्यवस्थापनका लागि ३ रोपनी जग्गामा नगरपालिकाले चार वर्षयता फोहोर संकलन केन्द्र सञ्चालन गरेको छ । नगर क्षेत्रबाट कुहिने, नकुहिने र सिसाजन्य फोहोर छुट्याएर संकलन गरी केन्द्रमा ल्याउने गरिएको छ ।


‘सिसाजन्य फोहोर महिनामा दुई पटक उठाइन्छ,’ उनले भने, ‘कुहिने ४ र नकुहिने ३ गरी ७ टन फोहोर दैनिक संकलन हुन्छ ।’


तल्लो बगुवामा सञ्चालित संकलन केन्द्रमा पाँच जनाले रोजगारी पाएका छन् । फोहोर संकलनका लागि नगरपालिकाले दुई चालकसहित ६ कर्मचारी राखेको प्रमुख प्रशासकीय अधिकृत भीमकान्त पौडेलले बताए ।


फोहोरलाई संकलन केन्द्रमा कुहिनेलाई खाल्डामा कम्पोस्ट मल बनाउनका लागि प्रयोग गरिएको छ भने नकुहिने फोहोरलाई छुट्टै राख्ने गरिएको छ । नगरपालिकाले फोहोर व्यवस्थापनका लागि चार वर्षदेखि दिदीबहिनी तथा समाज उत्थान संस्थासँग सहकार्य गर्दै आएको छ ।


नगर क्षेत्रका ५०/५० घरधुरी समेटेर फोहोर व्यवस्थापन समिति गठन गरिएको छ । फोहोर व्यवस्थापनबाट हुने आम्दानीको ४० प्रतिशत रकम विभिन्न योजनाका लागि ती समितिलाई दिने गरिएको नगरपालिकाकी उपप्रमुख कल्पना तिवारीले बताइन् ।


‘फोहोर व्यस्थापन समितिले आफूले पाएको रकमबाट सडकका खाल्टा पुर्ने, ढल तथा नाला व्यवस्थापन गर्ने काम गर्छ,’ उनले भनिन्, ‘१४ वटै वडामा फोहोर संकलन केन्द्र बनाउने लक्ष्य लिएका छौँ । फोहोरबाट मिथेन ग्यास उत्पादन गर्ने र त्यसका लागि प्लान्ट बनाउने कार्यक्रम अगाडि बढाइएको छ ।’


नगर कार्यपालिकाले फोहोर व्यवस्थापनमा सघाइरहेको दिदीबहिनी नामक संस्थालाई वार्षिक एक लाख रुपैयाँ दिंदै आएको छ ।


संकलन केन्द्रमा हाल सञ्चालित प्लास्टिक डल्लो बनाउने मेसिनलाई व्यवस्थित गर्दै अन्य मेसिनहरू थप्ने योजना नगरपालिकाको छ ।


फोहोर व्यवस्थापनमा नमुना काम गरेकाले वालिङ मुलुकका अन्य स्थानीय तहका लागि सिकाइको केन्द्र भएको छ । नेपाल नगरपालिका संघले ७ लाख रुपेयाँसहित उत्कृष्ट नगरपालिका घोषणा गर्दै दुई वर्षअघि सम्मान गरेको थियो ।

प्रकाशित : श्रावण २९, २०७५ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?