३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

पर्यटक तान्दै भालुपहाड

भालुपहाड पोखराबाट नजिकैको प्राकृतिक सुन्दर स्थान
कान्तिपुर संवाददाता

स्याङ्जा — पुतलीबजारकी अप्सना शर्मा फुर्सदका बेला भालुपहाड पुगिहाल्छिन् । स्वच्छ, सफा र शान्त वातावरणमा रमाउन मन पराउने उनी त्यहाँ पुगेपछि तनावमुक्त हुने बताउँछिन् । ‘त्यहाँ साँच्चै मन आनन्दित हुन्छ,’ उनले भनिन्, ‘नजिकै पर्छ, रमाइलो छ । वनजंगल, खोलानाला देखिन्छन् ।’ एक्लै र समूहमा पुगेका उनीजस्ता थुप्रैलाई भालुपहाडले मन भुलाउने गरेको छ ।

पर्यटक तान्दै भालुपहाड

हाल दैनिक ६०/७० जना आन्तरिक पर्यटक आउने गरेको स्थानीय बताउँछन् । साप्ताहिक बिदाका दिन यहाँ भीड रहन्छ । घुमन्ते आउने क्रम बढेपछि यो क्षेत्रको व्यापार पनि बढेको छ । खाजा र खानाका होटलहरूको आम्दानी बढेको छ । भालुपहाडको एउटै मात्र ठूलो डाँडा छ । बीचमा सेती खोला छ । खोला पहाड घुमेर बगेको छ । यो क्षेत्र पुतलीबजार नगरपालिका र फेदीखोला गाउँपालिकाको संगमस्थलमा पर्ने यहाँ बेलाबखत चलचित्रको छायाँकन पनि हुने गरेको छ ।


पोखराबाट २८ किमिको दूरीमा पर्ने भालुपहाड सिद्धार्थ राजमार्गमै पर्छ । भालुपहाडको बीच भागमा रहेको राजमार्गका कारण आन्तरिक मात्र होइन बाह्य पर्यटक पनि यहाँ आउने गरेको पर्यटनका अभियन्ता अनन्तकुमार श्रेष्ठ बताउँछन् ।


‘पोखरा आउने पर्यटक लुम्बिनी पुगेकै हुन्छन्, लुम्बिनी आउने पोखरा पुगेका हुन्छन्,’ उनले भने, ‘दुवै ठाउँ आउजाउ गर्ने बाटोको बीचमा पर्ने भएकाले पनि भालुपहाडले यात्रुको ध्यान खिचेको छ ।’ भालुपहाडलाई जोडेर पर्यटन प्रबद्र्धनका योजना अघि बढाउन सकिने उनले बताए । ‘गर्मीमा शीतल र जाडोमा पाहार ताप्नका लागि प्रकृतिले समेत स्थान मिलाइदिएको छ,’ उनले भने ।


फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी पर्यटकीय गन्तव्य बनाउनका लागि गुरुयोजना तयार पारिएको बताउँछन् । ‘स्थानीयवासी पनि उत्तिकै जागरुक हुन जरुरी देखिन्छ,’ उनले भने, ‘यसका लागि बनाएको योजना अघि बढाउन सकियो भने पर्यटनबाट स्थानीयवासीको आयस्तर वृद्धि हुनसक्छ ।’

प्रकाशित : श्रावण ३०, २०७५ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?