१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

देउराली–पोल्याङटार ६४ वर्षपछि पिच

दीपक परियार

लेखनाथ — रूपा गाउँपालिकाको देउराली फेदीबाट पोल्याङटार जोड्ने मोटरबाटोको पिच हुने भएको छ । २०११ मा ट्रयाक खुलेको मोटरबाटोको पिच गर्ने सम्झौता गरिएको हो ।

देउराली–पोल्याङटार ६४ वर्षपछि पिच

बाटो पिच भएपछि कास्कीको रूपा गाउँपालिका, तनहुँ र लमजुङका बासिन्दा लाभान्वित हुनेछन् । तनहुँको सिसाघाट, लमजुङका सोतीपसल, कुन्छा, दुई पीप्लेका स्थानीय पोखरा आउजाउ गर्न यही बाटो प्रयोग गर्छन् । हालसम्म कच्ची बाटोमा जोखिम मोलेर यात्रा गर्न उनीहरू बाध्य छन् । देउराली फेदीबाट पोल्याङटार जोड्ने पिच मोटरबाटोको आइतबार संघीय सांसद खगराज अधिकारीले शिलान्यास गरेका छन् । १६.२ किलोमिटर बाटोको चौडाइ नालीसहित ६.२५ मिटर हुनेछ । केन्द्रदेखि १०/१० मिटर मापदण्ड लागू भएको छ । पिच ०७६ माघसम्ममा पूरा हुने गरी सम्झौता भएको हो ।


स्थानीय समाजसेवी हस्तकुमार श्रेष्ठ हालको पृथ्वी राजमार्ग बन्नु पहिले पोखराबाट काठमाडौं जोड्न यही बाटोको अध्ययन भएको बताउँछन् । ‘काठमाडौं जाने सबैभन्दा छोटो बाटो नै यही हो,’ उनी भन्छन्, ‘पहल गर्ने मान्छे नहुँदा तनहुँतिरबाट गयो ।’ पश्चिमदेखिबाट आएका पैदलयात्री यही बाटो काठमाडौं जाने गरेको उनले सुनाए । तत्कालीन मन्त्री भेषबहादुर थापा, श्रीभद्र खनाललगायत नेता तनहुँकै भएकाले पृथ्वी राजमार्ग त्यताबाट लगिएको उनको दाबी छ । उनका अनुसार पोखराबाट देउराली, लमजुङका भूभाग हुँदै तनहुँको विमलनगर निस्कदाँ ४० किमि बाटो छोट्टिन्छ । उनी ०३८ देखि यही बाटोको उपभोक्ता समितिमा रहेर काम गर्दै आएका छन् । कहिले समितिको अध्यक्ष, कहिले सचिव सम्हाल्दै आएका उनी हाल अध्यक्ष भएका छन् ।


२०११ मा तत्कालीन महिन्द्र दल बटालियनले पोखरादेखि देउरालीको ढुंगागाडेसम्म मोटरबाटोको ट्रयाक खोल्यो । त्यही बाटो पिच गर्न बल्ल शिलान्यास भएको हो । ०११ मा ट्रयाक खुले पनि सवारीसाधन थिएन । पैदल हिंड्न भने सजिलो भयो । बाटो बिग्रँदै गयो । ०५४ मा पुन: बाटोको मर्मत भयो । त्यसपछि मात्रै सवारी चल्न थालेको हो । राजा महेन्द्रले थकाइ मारेको चौतारो भएको ठाउँ राजाको चौताराका रूपमा परिचित भएको थियो । गणतन्त्र आएपछि उक्त नाम फेरेर जनताको चौतारा राखिएको छ । रूपा गाउँपालिका अध्यक्ष नवराज ओझा पृथ्वी राजमार्गको विकल्पको रूपमा यो बाटोलाई हेरिनुपर्ने बताउँछन् । पोखराबाट लमजुङ, गोरखा, धादिङ हुँदै काठमाडौं जोड्ने हुलाकी राजमार्गको रूपमा विकास गर्न सके दूरी छोट्टिने उनको धारणा छ । उनले गाउँपालिकाका सबै बाटा बाह्रैमास मोटर गुड्न मिल्ने बनाउने दाबी गरे ।


गाउँपालिकाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुदानमा बाटो पिच गर्न लागेको हो । त्यसका लागि ३४ करोड रुपैयाँ निकासी भएकोमा गाउँपालिकाले २९ करोड ९२ लाख रुपैयाँमा टेन्डर आहान गरेको थियो । आशिष एन्ड फेवा जेभीले २१ करोड ३२ लाख २९ हजार रुपैयाँमा निर्माणको जिम्मा पाएको छ । सम्झौता बमोजिम ०७६ माघभित्र कम्पनीले बाटो निर्माण गरिसक्नुपर्छ । सांसद खगराज अधिकारीले तोकिएको समयभित्रै गुणस्तरीय काम गर्न निर्माण कम्पनीलाई आग्रह गरे । उनले समयभित्र काम सक्न स्थानीयले पनि सहयोगी भूमिका खेल्नुपर्ने बताए ।

प्रकाशित : श्रावण ३०, २०७५ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?