‘धार्मिक पर्यटनबाट समृद्धि’

कान्तिपुर संवाददाता

लमजुङ — गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धार्मिक क्षेत्रको विकास भएमा पर्यटन प्रवद्र्धन हुने बताएका छन् । उनले गण्डकी प्रदेशका ११ वटै जिल्लाका धार्मिकस्थलमा पर्यटन भित्र्याउने योजना रहेको बताए ।

‘धार्मिक पर्यटनबाट समृद्धि’

‘यहाँका धार्मिक, ऐतिहासिकस्थलमा पर्यटकीय गन्तव्य बनाइनेछ,’ लमजुङको मध्यनेपाल नगरपालिकास्थित इशानेश्वर महादेवको मन्दिर आएका सोमबार उनले भने, ‘हरेक जिल्ला बढी मात्रामा मन्दिरका साथै मुस्ताङ र मनाङ गुम्बाले भरिएको छ । यसको संरक्षण गरी पर्यटन प्रवर्द्धन गरिनुपर्छ ।’ साउन अन्तिम सोमबारको विशेष पूजामा सहभागी उनले भौतिक विकासले मात्र समाज समृद्ध नहुने सुनाए । ‘मानिसमा आध्यात्मिक भावनाको विकास आवश्यक छ ।

यसले मानिसमा एकताको भावना पैदा गराउँछ,’ उनले भने, ‘सरकारले अघि सारेको सामाजिक विकासमा आध्यात्मिक विकासले पनि सहयोग पुर्‍याउनेछ ।’ प्रदेशमा रहेका धार्मिक क्षेत्रको विकास गरी पर्यटन प्रवर्द्धन गर्ने प्रदेश सरकारको नीति रहेको उनले स्पष्ट पारे । ‘ईशानेश्वर क्षेत्रको विकास र प्रवर्द्धनमा प्रदेश सरकारले सहयोग गर्छ । यसको योजनाको खाका आवश्यक छ,’ उनले भने । सन्तानेश्वर महादेवको मन्दिरका रूपमा चिनिने ईशानेश्वर महादेवको मन्दिरमा शिविरात्रिमा विषेश मेला लाग्ने गर्छ । रातभरि ठाडाबत्ती बालेमा सन्तान सुख प्राप्त हुने जनविश्वास छ । धार्मिक पर्यटनका माध्ययमबाट स्थानीयले आयआर्जन गर्नुपर्ने उनले बताए । ‘अब हरेक कुरालाई आम्दानीसँग जोड्नुपर्छ । आत्मनिर्भरसँग जोड्नुपर्छ । यसले व्यावसायिक बन्न सिकाउँछ,’ उनले भने, ‘व्यावसायिकताबाटै प्रदेशको समृद्धि गर्न सकिन्छ ।’ मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भनेको समृद्धि सबै प्रदेशवासीले चाहेको बताए । ‘अब समृद्ध नगरपालिका र प्रदेश बनाउन सबै एकजुट हुनुपर्छ,’ उनले भने ।


ईशानेश्वर क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र घिमिरे शास्त्रीले ईशानेश्वर महादेव मन्दिरको महिमा दर्शाउँदै यसको संरक्षण र सम्बद्र्धनको खाँचो रहेको बताए । ‘हरेक वर्षको महाशिवरात्रिमा यहाँ स्वस्फूर्त मेला लाग्छ । भक्तजनको घुइँचोले अस्तव्यस्त हुन्छ । मन्दिरको जग्गा कम भएकाले व्यवस्थापमा हम्मे परेको छ,’ उनले भने । मन्दिरसँगै १ सय ८ धारा निर्माण थालिए पनि बजेट अभावले यसलाई पूर्णता दिन नसकेको उनले बताए ।

प्रकाशित : श्रावण ३०, २०७५ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?