कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुस्ताङमा बाढीले क्षति

बाढीले थापाखोला जलविद्युत्, सिँचाइ नहर, खानेपानी पाइप, सडकलगायतमा नोक्सान
कालीगण्डकी नदीमा जलस्तर बढेपछि प्रशासनले किनाराका बस्तीलाई उच्च सतर्कता अपनाउन सुझाव
कान्तिपुर संवाददाता

म्याग्दी — खहरेलगायत ठाडोखोलाहरूमा आएको बाढीले मुस्ताङका क्षति पुर्‍याएको छ । सहायक खोलाहरूमा बाढीसँगै कालीगण्डकी नदीमा जलस्तर बढेपछि जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी किनाराका बस्तीलाई उच्च सतर्कता अपनाउन सुझाएको छ ।

मुस्ताङमा बाढीले क्षति

चर्को घाम लाग्दा र भारी वर्षा हुँदा हिमालबाट झर्ने स–साना खोलाहरूले ढुंगा, गिटी र बालुवासहितको गेगर बगाएर ल्याउँदा कालीगण्डकी नदीको सतह बढेको छ । दुई पहाड बीचको समथर बगरमा बग्ने कालीगण्डकी नदीमा साना खोलाले बगाएर ल्याएको गेगर भरिएपछि कालीगण्डकी नदीले धार परिवर्तन गरि बस्ती पस्न थालेको छ ।

‘दिनमा चर्को घामले पग्लेको हिमालमा सामान्य पानी पर्दा हिउँसहित बगेर स–साना हिमाली खोलामा अकस्मात बाढी आउने गरेको छ,’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले भने, ‘मुस्ताङको प्राय: भूभाग बलौटे पहाड भएकाले सानो पानीले पनि ठूलो डेब्रिज ल्याई तराईको जस्तो मैदानी बगरमा बग्ने कालीगण्डकी नदीमा गेगर भरिएर धार परिवर्तन गरिरहन्छ । त्यसैले छेउछाउका बस्तीलाई सर्तकता अपनाउन भनेका हौं ।’

पछिल्लो एक सातामा ठाडो खोलामा आएको बाढीले धेरै भौतिक पूर्वाधारमा क्षति पुर्‍याएको छ । टुक्चेपिक र धौलागिरि हिमालबाट झर्ने थापाखोलाले डेब्रिज ल्याएर १३.६ मेगावाटको थापाखोला जलविद्युत् आयोजनाको बाँधमा क्षति पुर्‍याएको छ ।

घटनापछि सोमबारदेखि उक्त आयोजनाको उत्पादन बन्द भएको छ । नीलगिरि हिमालबाट झर्ने ढुम्बा खोलामा गत शुक्रबार आएको बाढीले सदरमुकाम जोमसोम लगिएको सिँचाइ नहर बगाउनुका साथै घरपझोङ गाउँपालिका ५ ढुम्बा बस्तीमा बाढी पसेर दर्जन बढी घरमा क्षति पुगेको छ । ढुम्बा गाउँमा लगेको खानेपानीको २ सय मिटर पाइप बाढीले बगाएको छ ।

हिमालबाट झर्ने ठाडो ढुम्बाखोलामा आएको डेब्रिजसहितको बाढीले कालीगण्डकी नदीको धार परिवर्तन गराइदिँदा मार्फाको ५० रोपनी स्याउ बगानमा क्षति पुर्‍याएको छ । बाढीले बेनी–जोमसोम सडकको मार्फा–जोमसोम खण्डको स्याङ्मा ५० मिटर सडक बगाउँदा यातायात अवरुद्ध छ ।

साउन तेस्रो साता पनि माथिल्लो मुस्ताङको चराङखोला र दामोदर हिमालबाट झर्ने धे खोलाको बाढी कालीगण्डकीमा मिसिएर आउँदा तल कागवनी–तिरीको ५० मिटर लामो काठेपुल र कागवेनीको श्राद्धस्थल बगाएको थियो । साउन दोस्रो साता जोमसोम–कोरला खण्डको एक्लेभाटी नजिक पाण्डा खोलामा बाढी आउँदा पुलमा डेब्रिजको थुप्रिएर सडक नै परिवर्तन गराएको छ ।

प्रकाशित : श्रावण ३१, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?