मध्यपहाडी लोकमार्ग : घुम्तीमा सडक विस्तार

घुम्ती र साँघुरा सडकलाई फराकिलो बनाउन डिलतर्फ पर्खाल लगाउने र कुनातर्फ भत्काउने काम धमाधम
अगन्धर तिवारी

पर्वत — मध्यपहाडी लोकमार्गको पर्वत खण्ड विस्तारको काम धमाधम अघि बढेको छ । लोकमार्गको बागलुङ र पर्वतखण्डको डबल लेन सडक तीन वर्षमा निर्माण पूरा गर्ने लक्ष्यसहित आयोजनाले काम गरिरहेको छ ।

मध्यपहाडी लोकमार्गको कुश्मा–बागलुङ खण्डअन्तर्गत कुश्माको छमर्केनजिक सडक फराकिलो पार्न पुराना ग्याबिन निकाल्दै कामदार । तस्बिर : अगन्धर । कान्तिपुर

पर्वत खण्डमा पर्ने मोदी गाउँपालिकाको नयाँपुल, तिलाहार, डिमुवा, कुश्मा नगरपालिकाको दोबिल्ला, चुवा, छमर्के, अर्मादी, नयाँपुल र मालढुंगा आसपासका घुम्तीमा सडक विस्तारको काम धमाधम अघि बढेको छ । लोकमार्गको पर्वत खण्डमा भएका अधिकांश साँघुरा घुम्तीलाई फराकिलो पारेर सवारी आवागमनमा सहज बनाउन लागिएको सडक आयोजना कार्यालयले जनाएको छ ।

पर्वत खण्डमा पर्ने घुम्ती र साँघुरा सडकलाई फराकिलो बनाउन सडकको डिलतर्फ पर्खाल लगाउने र कुनातर्फ भत्काउन आवश्यक मेसिन र जनशक्ति परिचालन गरिएको छ । चीन सरकारको सहयोगमा ०४७ सालमा पोखरा–बागलुङ राजमार्गको ट्रयाक खुलेको थियो । यो सडक उतिबेलै डबल लेनको बनाउने स्टिमेट थियो तर ठेकेदारले धेरैजसो स्थानमा सिंगल लेनको मात्रै बनाएका थिए ।

Yamaha

आयोजना कार्यालयले सडक चौडा पार्ने क्षेत्रमा आवश्यकताअनुसार आवागमन रोकेरै कामलाई तीव्रता दिएको छ । सडकको चुवा, दोबिल्ला, डिमुवा, नयाँपुल र गिरिचोकलगायत साँघुरो क्षेत्रमा डबल लेनको बनाउन साइड कटिङ गर्नुपरेकाले दैनिक ६ घण्टासम्म अवरुद्ध भएको एपेक्स कन्स्ट्रक्सनका प्रतिनिधि काँशीराज बोहोराले बताए । उनका अनुसार बिहान ७ देखि साँझ ५ बजेसम्म आवश्यकताअनुसार सडक अवरुद्ध हुँदैआएको छ ।

लोकमार्गको १ हजार ७ सय ७६ किलोमिटर लम्बाइमध्ये पश्चिमक्षेत्रमा पर्ने १ हजार ९५ किमिलाई पछिल्लो तीन वर्ष प्राथमिकतामा राखिएको आयोजनाको दाङस्थित पश्चिम क्षेत्रका प्रमुख सूर्य भाटले बताए । ‘पछिल्लो समय पश्चिम क्षेत्र हाम्रो प्राथमिकतामा छ,’ उनले भने, ‘त्यसमा पनि पोखरा–बागलुङ धार्मिक पर्यटक आउजाउ गर्ने व्यस्त सडक हो । यसलाई अरूभन्दा बढी चासो दिएर काम विस्तार गरेका छौं ।’ धार्मिक पर्यटकका कारण बढेको सवारीचापलाई मध्यनजर गर्दै यहाँको ६१ किमिमा बढी चासो दिइएको उनले बताए । मनसुनअघि नै साँघुरा मोडलाई फराकिलो पार्ने लक्ष्यअनुरूप काम अघि बढाइएको ठेकेदार कम्पनीले जनाएको छ ।

सडकको दुवैतर्फ नाली, ग्याभिन जाली, ‘रिटेनिङ वाल’ सहित कालोपत्रे पनि सँगसँगै हुने निर्माण कम्पनीले जनाएको छ । नयाँपुलदेखि पर्वतको मालढुंगासम्म पर्ने साँघुरो क्षेत्र प्राथमिकतामा राखिएको हो । ‘यो क्षेत्र तीन वर्षको लक्ष्य हो,’ आयोजना प्रमुख भाटले भने, ‘यही गतिमा काम भए दुई वर्षमै कम्प्लिट हुने अनुमान छ ।’ यसअघि सडक विभागको क्षेत्रीय र अञ्चल कार्यालयले मर्मतसम्हारको काम गर्दै आएकोमा गत वैशाखदेखि लोकमार्ग आयोजना कार्यालयले विस्तारसहित सडकका सबै जिम्मेवारी लिएको थियो ।

सडक फराकिलो पार्ने क्रममा घना बस्ती र सवारी चाप बढी हुँदा दैनिकजसो यात्री र सर्वसाधारणले समस्या भोग्दैआएका छन् । कुश्मा, चुवा र तिलाहार लगायतमा सडकमा जमेको हिलोले यात्रु र सर्वसाधारणलाई सास्ती भएको छ । घाम लाग्दा धूलो र पानी पर्दा हिलोले सास्ती भएको चुवाका विष्णु सुवेदीले बताए ।

प्रकाशित : भाद्र १, २०७५ ०९:१०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गाँउकाे ‘सिंहदरबार’ पुग्न बास

नारपाभूमिबाट चामे पुग्न दुई दिन लाग्ने
गाउँपालिकामा अझै बैंक पुगेको छैन
आश गुरुङ

चामे (मनाङ) — जनतालाई घरआँगनमा सेवा दिन स्थानीय सरकार गठन भए । स्थानीय तहलाई नागरिकले सिंहदरबारजस्तै ठाने । तर, तिनै स्थानीय तहको कार्यालय पुग्न बाटैमा बास बस्नुपर्छ । मनाङको नारपाभूमि गाउँपालिकावासीले यो नियति भोगिरहेका छन् ।

मनाङको चामेमा सञ्चालन गरिएको नारपाभूमि गाउँपालिकाको कार्यालय रहेको घर ।

स्थानीय सरकारको कार्य सञ्चालन आधा बाटोमा पर्ने यसअघिको सदरमुकाम चामेबाट भइरहेको छ । केन्द्रबाट अधिकारसहित गाउँ पठाएको स्थानीय सरकार गाउँमा नपुगी बाटोमै अडिएर बसेको छ । गाउँबाटै सञ्चालन गर्नुपर्ने नारपाभूमि गाउँपालिकाको काम कारबाही छिमेकी गाउँपालिका चामेबाट सञ्चालन भइरहेको छ ।

चामेमा एउटा घरका तीनवटा कोठा भाडामा लिएर प्रशासनिक कार्य सञ्चालन गरिएको छ । यसलाई सम्पर्क कार्यालय भनिएको छ । मुख्यत: दुई गाउँ नार र फू रहेको नारपाभूमि पुग्न चामेबाट दुई दिन लाग्छ । गाउँका अधिकांश बासिन्दा काठमाडौं बस्छन् र आउजाउ गर्छन् । स्थानीयका अनुसार काठमाडौंबाट सबेरै हिँडे साँझ चामे आइपुगिन्छ । तर, नारफूबाट जति सबेरै हिँडे पनि एक दिनमा चामे पुग्न सकिँदैन ।

मुख्य कार्यालय साबिक नार गाविसको कार्यालयमा छ । उक्त कार्यालय रित्तो छ । कार्यालय सहयोगी छ्योर्तेन छोबाङ लामाले रुँगेका छन् । सिंगो गाउँपालिकामा १७ जनाको दरबन्दी रहे पनि प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद बाँस्तोला र नासु सुदीपप्रसाद अधिकारीलगायत दुईजना मात्रै कर्मचारी छन् । यी ठाउँका लागि कर्मचारी पनि नयाँ हुन् ।

पाँचवटा वडा कार्यालयमा, पाँच वडासचिव र पाँचजना प्राविधिक हुनुपर्नेमा प्रशासनतर्फका नारायण पन्थी वडा नम्बर ३ र ४ (साबिक फू गाविस) को वडा सचिवमा छन् । अरू सबै वडा कर्मचारीविहीन छन् । च्याँखुमा गाउँपालिकाको नयाँ भवन निर्माण गरिएको छ । चालु आर्थिक वर्षको बजेटबाट अपुग कोठा निर्माण थालिएको छ । प्रमुख प्रशासकीय अधिकृत बास्तोलाले चामे बसेर काम गर्नु बाध्यता भएको बताए ।

कार्यालयमा काम गर्दै कर्मचारी ।

सरकारले हरेक स्थानीय तहमा बैंकको शाखा खोल्ने भनिए पनि नारपाभूमिमा बैंक पुगेको छैन। फोन, मोबाइल, इमेल, इन्टरनेटको सुविधा छैन । गाउँपालिकाका कुनै पनि बस्तीमा मोटरबाटो पुगेको छैन । गोरेटो बाटोसमेत सहज नभएकाले यसअघिको स्थानीय निकाय पनि चामेबाटै सञ्चालन हुने गरेको थियो ।

हाल पनि स्थानीय निकायभन्दा फरक तवरबाट कार्यालय सञ्चालन भएको छैन । चालु आर्थिक वर्षको योजना तर्जुमा, नीति तथा कार्यक्रम र बजेट विनियोजनका लागि असारमा एक साता मात्रै गाउँ पुगेका कर्मचारी पुन: फर्केर चामेमै आए । नारपाभूमि गाउँपालिका अध्यक्ष मिङमा छिरिङ लामा यसलाई बाध्यता ठान्छन् । ‘कर्मचारी पनि नयाँ । हामी पनि नयाँ,’ उनले भने, ‘नागरिकलाई कसरी सुविधा दिन सकिन्छ भन्नेमा हाम्रो ध्यान छ ।’

नारपाभूमि गाउँपालिकाको कार्यालय चामेमै रहँदा गाउँका नागरिकले सेवासुविधा र अधिकारप्राप्त गर्न चार दिन धाउनुपर्छ । गाउँका सेवाग्राही गाउँमै कार्यालय भइदिए हुने पहलमा छन्। तर, नारपाभूमि गाउँपालिकाको कार्यसम्पादन चामेबाट चलेको १५ महिना भइसक्यो । बास्तोलाका अनुसार गाउँमा मान्छे जुटाउनै गाह्रो छ । गाउँमा गएर बस्नलाई ठाउँ छैन । निर्माणाधीन कार्यालय भवन पूरा बनिसकेको छैन । ‘हामी कार्यालय भवन निर्माण कार्य सकिएपछि गाउँ जान्छौं,’ उनले भने ।

अध्यक्ष लामाले गाउँपालिकाको भवन निर्माण कार्य सकिएपछि कार्यालय गाउँमै जाने बताए । हाल गाउँपालिकाको कार्यालयको नयाँ केन्द्र तोकिएको च्याँखुमा विस्तारै बस्ती बढदैछ । नार र फू गाउँ जाने बाटैमा पर्ने र अन्य गाउँ मेता, क्याङ गाउँ बीचमा पर्ने भएकाले यसअघि नार केन्द्र रहेको गाउँपालिका केन्द्रलाई च्याँखुमा सारिएको छ ।

नारपाभूमि गाउँपालिकाले चालु आर्थिक वर्षमा १४ करोड ७२ लाख ७६ हजार रुपैयाँ बजेट छुट्याएको छ । साबिकका नार र फू गाविस हुँदा १ करोड रुपैयाँको बजेट हुन्थ्यो। हाल नारपाभूमि गाउँपालिकामा ६ सय १५ जनसंख्या रहेको छ ।

प्रकाशित : भाद्र १, २०७५ ०९:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT