कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मध्यपहाडी लोकमार्ग : घुम्तीमा सडक विस्तार

घुम्ती र साँघुरा सडकलाई फराकिलो बनाउन डिलतर्फ पर्खाल लगाउने र कुनातर्फ भत्काउने काम धमाधम
दिप्ती सिलवाल

पर्वत — मध्यपहाडी लोकमार्गको पर्वत खण्ड विस्तारको काम धमाधम अघि बढेको छ । लोकमार्गको बागलुङ र पर्वतखण्डको डबल लेन सडक तीन वर्षमा निर्माण पूरा गर्ने लक्ष्यसहित आयोजनाले काम गरिरहेको छ ।

मध्यपहाडी लोकमार्ग : घुम्तीमा सडक विस्तार

पर्वत खण्डमा पर्ने मोदी गाउँपालिकाको नयाँपुल, तिलाहार, डिमुवा, कुश्मा नगरपालिकाको दोबिल्ला, चुवा, छमर्के, अर्मादी, नयाँपुल र मालढुंगा आसपासका घुम्तीमा सडक विस्तारको काम धमाधम अघि बढेको छ । लोकमार्गको पर्वत खण्डमा भएका अधिकांश साँघुरा घुम्तीलाई फराकिलो पारेर सवारी आवागमनमा सहज बनाउन लागिएको सडक आयोजना कार्यालयले जनाएको छ ।

पर्वत खण्डमा पर्ने घुम्ती र साँघुरा सडकलाई फराकिलो बनाउन सडकको डिलतर्फ पर्खाल लगाउने र कुनातर्फ भत्काउन आवश्यक मेसिन र जनशक्ति परिचालन गरिएको छ । चीन सरकारको सहयोगमा ०४७ सालमा पोखरा–बागलुङ राजमार्गको ट्रयाक खुलेको थियो । यो सडक उतिबेलै डबल लेनको बनाउने स्टिमेट थियो तर ठेकेदारले धेरैजसो स्थानमा सिंगल लेनको मात्रै बनाएका थिए ।

आयोजना कार्यालयले सडक चौडा पार्ने क्षेत्रमा आवश्यकताअनुसार आवागमन रोकेरै कामलाई तीव्रता दिएको छ । सडकको चुवा, दोबिल्ला, डिमुवा, नयाँपुल र गिरिचोकलगायत साँघुरो क्षेत्रमा डबल लेनको बनाउन साइड कटिङ गर्नुपरेकाले दैनिक ६ घण्टासम्म अवरुद्ध भएको एपेक्स कन्स्ट्रक्सनका प्रतिनिधि काँशीराज बोहोराले बताए । उनका अनुसार बिहान ७ देखि साँझ ५ बजेसम्म आवश्यकताअनुसार सडक अवरुद्ध हुँदैआएको छ ।

लोकमार्गको १ हजार ७ सय ७६ किलोमिटर लम्बाइमध्ये पश्चिमक्षेत्रमा पर्ने १ हजार ९५ किमिलाई पछिल्लो तीन वर्ष प्राथमिकतामा राखिएको आयोजनाको दाङस्थित पश्चिम क्षेत्रका प्रमुख सूर्य भाटले बताए । ‘पछिल्लो समय पश्चिम क्षेत्र हाम्रो प्राथमिकतामा छ,’ उनले भने, ‘त्यसमा पनि पोखरा–बागलुङ धार्मिक पर्यटक आउजाउ गर्ने व्यस्त सडक हो । यसलाई अरूभन्दा बढी चासो दिएर काम विस्तार गरेका छौं ।’ धार्मिक पर्यटकका कारण बढेको सवारीचापलाई मध्यनजर गर्दै यहाँको ६१ किमिमा बढी चासो दिइएको उनले बताए । मनसुनअघि नै साँघुरा मोडलाई फराकिलो पार्ने लक्ष्यअनुरूप काम अघि बढाइएको ठेकेदार कम्पनीले जनाएको छ ।

सडकको दुवैतर्फ नाली, ग्याभिन जाली, ‘रिटेनिङ वाल’ सहित कालोपत्रे पनि सँगसँगै हुने निर्माण कम्पनीले जनाएको छ । नयाँपुलदेखि पर्वतको मालढुंगासम्म पर्ने साँघुरो क्षेत्र प्राथमिकतामा राखिएको हो । ‘यो क्षेत्र तीन वर्षको लक्ष्य हो,’ आयोजना प्रमुख भाटले भने, ‘यही गतिमा काम भए दुई वर्षमै कम्प्लिट हुने अनुमान छ ।’ यसअघि सडक विभागको क्षेत्रीय र अञ्चल कार्यालयले मर्मतसम्हारको काम गर्दै आएकोमा गत वैशाखदेखि लोकमार्ग आयोजना कार्यालयले विस्तारसहित सडकका सबै जिम्मेवारी लिएको थियो ।

सडक फराकिलो पार्ने क्रममा घना बस्ती र सवारी चाप बढी हुँदा दैनिकजसो यात्री र सर्वसाधारणले समस्या भोग्दैआएका छन् । कुश्मा, चुवा र तिलाहार लगायतमा सडकमा जमेको हिलोले यात्रु र सर्वसाधारणलाई सास्ती भएको छ । घाम लाग्दा धूलो र पानी पर्दा हिलोले सास्ती भएको चुवाका विष्णु सुवेदीले बताए ।

प्रकाशित : भाद्र १, २०७५ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?