२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

गाँउकाे ‘सिंहदरबार’ पुग्न बास

नारपाभूमिबाट चामे पुग्न दुई दिन लाग्ने
गाउँपालिकामा अझै बैंक पुगेको छैन
आश गुरुङ

चामे (मनाङ) — जनतालाई घरआँगनमा सेवा दिन स्थानीय सरकार गठन भए । स्थानीय तहलाई नागरिकले सिंहदरबारजस्तै ठाने । तर, तिनै स्थानीय तहको कार्यालय पुग्न बाटैमा बास बस्नुपर्छ । मनाङको नारपाभूमि गाउँपालिकावासीले यो नियति भोगिरहेका छन् ।

गाँउकाे ‘सिंहदरबार’ पुग्न बास

स्थानीय सरकारको कार्य सञ्चालन आधा बाटोमा पर्ने यसअघिको सदरमुकाम चामेबाट भइरहेको छ । केन्द्रबाट अधिकारसहित गाउँ पठाएको स्थानीय सरकार गाउँमा नपुगी बाटोमै अडिएर बसेको छ । गाउँबाटै सञ्चालन गर्नुपर्ने नारपाभूमि गाउँपालिकाको काम कारबाही छिमेकी गाउँपालिका चामेबाट सञ्चालन भइरहेको छ ।

चामेमा एउटा घरका तीनवटा कोठा भाडामा लिएर प्रशासनिक कार्य सञ्चालन गरिएको छ । यसलाई सम्पर्क कार्यालय भनिएको छ । मुख्यत: दुई गाउँ नार र फू रहेको नारपाभूमि पुग्न चामेबाट दुई दिन लाग्छ । गाउँका अधिकांश बासिन्दा काठमाडौं बस्छन् र आउजाउ गर्छन् । स्थानीयका अनुसार काठमाडौंबाट सबेरै हिँडे साँझ चामे आइपुगिन्छ । तर, नारफूबाट जति सबेरै हिँडे पनि एक दिनमा चामे पुग्न सकिँदैन ।

मुख्य कार्यालय साबिक नार गाविसको कार्यालयमा छ । उक्त कार्यालय रित्तो छ । कार्यालय सहयोगी छ्योर्तेन छोबाङ लामाले रुँगेका छन् । सिंगो गाउँपालिकामा १७ जनाको दरबन्दी रहे पनि प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद बाँस्तोला र नासु सुदीपप्रसाद अधिकारीलगायत दुईजना मात्रै कर्मचारी छन् । यी ठाउँका लागि कर्मचारी पनि नयाँ हुन् ।

पाँचवटा वडा कार्यालयमा, पाँच वडासचिव र पाँचजना प्राविधिक हुनुपर्नेमा प्रशासनतर्फका नारायण पन्थी वडा नम्बर ३ र ४ (साबिक फू गाविस) को वडा सचिवमा छन् । अरू सबै वडा कर्मचारीविहीन छन् । च्याँखुमा गाउँपालिकाको नयाँ भवन निर्माण गरिएको छ । चालु आर्थिक वर्षको बजेटबाट अपुग कोठा निर्माण थालिएको छ । प्रमुख प्रशासकीय अधिकृत बास्तोलाले चामे बसेर काम गर्नु बाध्यता भएको बताए ।

कार्यालयमा काम गर्दै कर्मचारी ।

सरकारले हरेक स्थानीय तहमा बैंकको शाखा खोल्ने भनिए पनि नारपाभूमिमा बैंक पुगेको छैन । फोन, मोबाइल, इमेल, इन्टरनेटको सुविधा छैन । गाउँपालिकाका कुनै पनि बस्तीमा मोटरबाटो पुगेको छैन । गोरेटो बाटोसमेत सहज नभएकाले यसअघिको स्थानीय निकाय पनि चामेबाटै सञ्चालन हुने गरेको थियो ।

हाल पनि स्थानीय निकायभन्दा फरक तवरबाट कार्यालय सञ्चालन भएको छैन । चालु आर्थिक वर्षको योजना तर्जुमा, नीति तथा कार्यक्रम र बजेट विनियोजनका लागि असारमा एक साता मात्रै गाउँ पुगेका कर्मचारी पुन: फर्केर चामेमै आए । नारपाभूमि गाउँपालिका अध्यक्ष मिङमा छिरिङ लामा यसलाई बाध्यता ठान्छन् । ‘कर्मचारी पनि नयाँ । हामी पनि नयाँ,’ उनले भने, ‘नागरिकलाई कसरी सुविधा दिन सकिन्छ भन्नेमा हाम्रो ध्यान छ ।’

नारपाभूमि गाउँपालिकाको कार्यालय चामेमै रहँदा गाउँका नागरिकले सेवासुविधा र अधिकारप्राप्त गर्न चार दिन धाउनुपर्छ । गाउँका सेवाग्राही गाउँमै कार्यालय भइदिए हुने पहलमा छन् । तर, नारपाभूमि गाउँपालिकाको कार्यसम्पादन चामेबाट चलेको १५ महिना भइसक्यो । बास्तोलाका अनुसार गाउँमा मान्छे जुटाउनै गाह्रो छ । गाउँमा गएर बस्नलाई ठाउँ छैन । निर्माणाधीन कार्यालय भवन पूरा बनिसकेको छैन । ‘हामी कार्यालय भवन निर्माण कार्य सकिएपछि गाउँ जान्छौं,’ उनले भने ।

अध्यक्ष लामाले गाउँपालिकाको भवन निर्माण कार्य सकिएपछि कार्यालय गाउँमै जाने बताए । हाल गाउँपालिकाको कार्यालयको नयाँ केन्द्र तोकिएको च्याँखुमा विस्तारै बस्ती बढदैछ । नार र फू गाउँ जाने बाटैमा पर्ने र अन्य गाउँ मेता, क्याङ गाउँ बीचमा पर्ने भएकाले यसअघि नार केन्द्र रहेको गाउँपालिका केन्द्रलाई च्याँखुमा सारिएको छ ।

नारपाभूमि गाउँपालिकाले चालु आर्थिक वर्षमा १४ करोड ७२ लाख ७६ हजार रुपैयाँ बजेट छुट्याएको छ । साबिकका नार र फू गाविस हुँदा १ करोड रुपैयाँको बजेट हुन्थ्यो । हाल नारपाभूमि गाउँपालिकामा ६ सय १५ जनसंख्या रहेको छ ।

प्रकाशित : भाद्र १, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?