कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

जंघार तर्दै स्कुल

प्रकाश बराल

बागलुङ — पुलले बाटो मात्र होइन जीवन पनि जोड्छ । पुल नहुँदा हुने सास्ती भोग्नेलाई मात्र बढी थाहा छ । त्यस्तै समस्या ढोरपाटन उत्तरगंगा विद्यालयका विद्यार्थीले भोग्दै आएका छन् ।

जंघार तर्दै स्कुल

वर्षायाम लागेदेखि कक्षा ७ मा पढ्ने मधु विश्वकर्मा जंघार नतरी स्कुल पुग्न सक्दिनन् । जंघार तर्नु आफैंमा जोखिम हुँदै हो, त्यसले विद्यालय पुग्नसमेत ढिला गराइदिएको छ । उनले जंघार तर्नुपर्ने भएपछि समयमा विद्यालय पुग्न नसक्ने, भिजेर जानुपर्ने सास्ती छ । ढोरपाटनको उत्तरगंगामा विद्यालय नजिक पुल नभएपछि उनीजस्तै धेरै विद्यार्थीले जंघार तर्दा सास्ती खेपेका हुन् ।

यहाँको ढोरपाटन जनवादी आधारभूत र ज्योति विकास आधारभूत विद्यालय नजिक पुल नभएपछि बालबालिकाले खोला तर्न बाध्य भएका हुन् । नबी भन्ने स्थानमा रहेका ढोरपाटन जनवादीमा अध्ययन गर्ने झन्डै दुई सयजना बालबालिका खोला तरेर आउने गर्छन् ।

झोलुंगेपुलको बाटो घुमेर आउँदा एक घण्टा लाग्ने भएपछि धेरैले जोखिम मोलेर तरेको बताए । ‘धेरै तल पुगेर पुल तर्नुपर्ने भएकाले स्कुल पुग्न ढिला हुन्छ,’ विश्वकर्माले भनिन्, ‘कहिले बुबाआमाले सहयोग गर्नुहुन्छ, नभ्याएको बेला साथी मिलेर तर्छौ. ।’ अभिभावक नभएपछि एक्लै आउने विद्यार्थीलाई ढिला भए पनि पुलकै बाटो आउन लगाएको शिक्षक घमबहादुर विकले बताए । विकले भने, ‘अधिकांश दलित परिवारका बालबालिका छन्, उनीहरूलाई अनिवार्य विद्यालय ल्याउनसमेत सकिएको छैन ।’ विद्यालयमा फर्निचरसमेत अभाव भएकाले ठूलो पानी पर्दा नआए पनि मौन बस्ने गरेको बताए । यो विद्यालयमा कक्षा कोठाको अभावले खुला आकाशमा पनि पढाइन्छ । पानी पर्दा दुई तीनवटा कक्षालाई एउटै कोठामा राख्नुपरेको उनले बताए ।

यो समस्या ज्योति विकासमा बढी छ । धेरै पटक बालबालिकालाई खोलाले बगाएर छोप्न जानुपरेको प्रधानाध्यपक चकबहादुर अदैले गुनासो गरे । ‘पुल छैन, हिउँदमा काठको अस्थायी पुल बनाएका थियौं, वर्षातमा बगाइसक्यो’ अदैले भने, ‘दैनिक साढे ९ बजेदेखि साँढे १० बजेसम्म खोलामा बसेर विद्यार्थी तार्नुपर्छ ।’ यो समस्याको बारेमा धेरै पटक सदरमुकाम धाएको उनले गुनासो गरे ।

स्यालपाखे र छेन्टुङतर्फका बालबालिका आउँदा दुई ठाउँमा खोला तर्नुपर्छ । जिल्ला तहबाट सुनुवाइ नभएपछि शिक्षकले यो वर्ष ढोरपाटन नगरपालिकालाई आग्रह गरेका छन् । नगरपालिकाले आवश्यक पूर्वाधारमा सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताए ।

प्रकाशित : भाद्र १, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?