कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठेकेदारको धरौटी जफत गरिँदै

सम्झौताको १८ महिनामा पनि जिल्ला अस्पतालको जग नवनाएपछि ठेकेदारको जमानत बसेको बैंकलाई पत्राचार
घनश्याम खडका

म्याग्दी — सम्झौताको १८ महिनामा पनि जिल्ला अस्पताल भवनको जग नबनाएपछि सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले ठेकेदारको धरौटी जफत गर्ने प्रक्रिया सुरु गरेको छ ।

ठेकेदारको धरौटी जफत गरिँदै

ठेकेदार काठमाडौंको महादेव खिम्ती गल्बा रफिना जेभीले सम्झौताअनुसारको काम नगरेको भन्दै डिभिजनले पेस्की बापत लगेको ६६ लाख रुपैयाँ असुलउपर गर्न जमानत बसेको बैंकलाई पत्राचार गरेको हो । ५० शैय्याको अस्पताल २०७६ असोजभित्र बनाइसकेर हस्तान्तरण गर्न डिभिजन कार्यालय बागलुङ र उक्त जेभीबीच ०७३ पुस २१ मा १८ करोड ९० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ‘भवन निर्माण ठेक्का लिएर लापरबाही गरेकाले ठेकेदारको जमानत बसेको बैंकलाई पेस्की रकम फिर्ता ल्याउन पत्राचार गरेका छौं,’ डिभिजन प्रमुख प्रकाश अर्यालले भने, ‘ठेकेदार कम्पनीले अघिल्ला ठेक्कामा पनि समयमा काम पूरा गर्न नसक्दा पेनाल्टी तिरेको थियो ।’

५ हजार ३ सय वर्गमिटर क्षेत्रफलमा एक तला अन्डरग्राउन्डसहित तीनतले अस्पताल भवन निर्माण गर्न ठेक्का लगाइएको थियो । भवनको पहिलो तलामा ओपीडी, दोस्रोमा इनडोर र तेस्रो तल्ला प्रशासनिक कार्यालय रहने डिजाइनमा छ । भवनसँगै ठेकेदारले बगैंचा र प्यासेजलगायत थप काम पनि गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ । नयाँ निर्माणको ठेक्का लागेपछि प्रयोगमा रहेका भवन ठेकेदारले भत्काएपछि यतिबेला जिल्ला अस्पताल अस्तव्यस्त भएको छ । पुरानो भत्केको र नयाँ भवन निर्माण पनि अघि नबढ्दा अस्पतालको सेवा प्रभावित भएको छ ।

पुरानो भवन भत्काइएपछि अस्पतालको दाँत–मुख, माइक्रोबायोलोजी, शल्यक्रिया, भिडियो तथा डिजिटल एक्स–रे विभाग, प्रसूति, स्पेसल तथा जनरल बिरामी भर्ना वार्ड, बिरामी भान्सा, लेखा र प्रशासन कक्ष अस्तव्यस्त भएका छन् । शल्यक्रिया गरेका बिरामी र सुत्केरीलाई अस्थायी टहरोमा सेवा दिइएको छ । नजिकैको सडकमा गाडीले उडाउने धूलोले उनीहरूलाई सास्ती हुने गरेको छ ।

माइक्रोबायोलोजीसमेत सबै ल्याब र दाँत–मुख विभागलाई पुरानो बहिरंग विभागमा सारिएको छ । बालरोग तथा सबै प्रकारका बिरामी जाँच्ने काम तालिम हलबाट गर्ने गरिएको छ । गर्भवती जाँच र खोपलगायतका सेवा स्वास्थ्य कार्यालयमा सारिएका छन् । ‘विभाग र फाँटमा गाभिएर काम गर्दा असहज भए पनि सहज सेवा दिने प्रयासमा छौं,’ अस्पतालका डा. विराज शर्माले भने, ‘अपरेसन, डेलिभरी र बिरामी भर्नालाई सकेसम्म राम्रो कक्षमा राखेका छौं । पहिला बिरामी जाँच्ने कोठा छुट्टाछुट्टै हुन्थे । अहिले टेबुल मात्रै फरक–फरक छन् ।’

ठेकदार कम्पनीले अस्पताल भवनको जग हाल्ने काम गर्दागर्दै छाडेपछि डन्डीहरूमा खिया लागेका छन् । बनाइएको जग वरपरबाट भत्केर पुरिन थालेको छ । एकपटक आफैंले कारबाही गरेको ठेकदारलाई डिभिजन कार्यालयले यो अर्को ठेक्का दिएको थियो । महादेव खिम्ती गल्बा रिफिना जेभी वानेश्वरमध्येको रिफिना कन्स्ट्रक्सनले यसअघि पनि जनस्वास्थ्य कार्यालयको अर्को भवन ठेक्का लिएर समयमा काम नगरेपछि कारबाहीमा परेको थियो ।

‘भवन डिभिजन कार्यालयले गलत ठेकदार छनोट गर्दा अस्पतालजस्तो संवेदनशील क्षेत्रमा पनि लापरबाही भएको छ,’ अस्पताल विकास समितिका अध्यक्ष माधव रेग्मीले भने, ‘उपलब्ध भवनलाई व्यवस्थापन गरी सकेसम्म राम्रो उपचार सेवा दिने प्रयास गरिरहेका छौं ।’

अभावकै बीच स्तरीय सेवा
जिल्ला अस्पतालमा भवन मात्र अलपत्र छैन, दरबन्दी अनुसारका विशषज्ञ डाक्टर जिल्लामा नआउँदा उपचारमा समस्या छ । बेनी जिल्ला अस्पतालमा बालरोग, स्त्रीरोग, हाडजोर्नी, मानसिक रोग, जनरल फिजिसियन, रेडियोलोजिस्ट र मेडिकल सुपरिन्टेन्डेन्टसहित १० जनाको दरबन्दी छ । तर, हाडजोर्नीका एकजना बाहेक अन्य विशेषज्ञ चिकित्सक छैनन् । दरबन्दीमा आउने भनिएका चिकित्सक पोखरा र काठमाडौंमा बसिदिँदा नियमित सेवा चुनौतिपूर्ण रहेको अध्यक्ष रेग्मीले बताए ।

अर्थोपेडिकका कन्सल्टेन्ट डा. रोशन न्यौपानेले सुपरिन्टेन्डेन्टदेखि सबै विशेषज्ञ चिकित्सकको काम गरिरहेका छन् । यहाँ प्रमुख सुपरिन्टेन्डेन्ट तरुण पौडेल हुन् । उनी जिल्लामा काज राखेर एड्स तथा यौन रोग केन्द्रमा छन् । त्यसैगरी फिजियोथेरापिस्ट पनि जिल्लामा आएका छैनन् । ‘अस्पतालमा आवश्यक ल्याब र उपकरणको उपलब्धता राम्रो छ । समस्या एउटै छ, दरबन्दीका आठजना डाक्टर छैनन्,’ अस्पताल प्रमुख डा. न्यौपानेले भने, ‘अर्थोपेडिकमा म र फिजिसिएनमा एनजीओका एक डाक्टरको भरमा अस्पताल चलेको छ ।’

बेनी जिल्ला अस्पतालमा दुई मेडिकल सुपरिन्टेन्डेन्ट, आठ विशेषज्ञ डाक्टरबाहेक पनि अरू चार मेडिकल अफिसरको दरबन्दी छ । तीनै मेडिकल अफिसरमध्ये पनि दुईजना अध्ययन बिदामा छन् । अहिले छात्रवृत्तिमा आएका सात मेडिकल अफिसर र निक साइमन संस्थाबाट एक एमडीजीपीसमेत दुई डाक्टरको भरमा चलेको छ ।

भौतिक पूर्वाधार अभावका बीच अस्पतालले भिडियो, डिजिटल एक्स–रे, कल्चर ल्याबसहित एपेन्डिक्स, ट्युमर, पत्थरी, हर्निया, हाइड्रोसिल, हाडजोर्नी र जटिल प्रकारका गर्भवतीको शल्यक्रिया सेवा उपलब्ध गराएको छ । प्रमुख डा. न्यौपानेले भने, ‘भवनसमेतको भौतिक पूर्वाधार र दरबन्दी अनुसारका सबै विशेषज्ञ डाक्टर जिल्लामा रहने हो भने गण्डकी प्रदेशकै नमुना अस्पताल बनाउन सकिन्छ ।’

अस्पतालको आफ्नै फार्मेसी छ भने छुट्टै सस्तो साझा औषधिको पसल पनि उपलब्ध छ । दाँत तथा मुखको छुट्टै विभाग राखिएको छ । अस्थायी टिनका छाप्रामा भए पनि स्पेसल केयर युनिट र इलेक्ट्रिक एयर म्याट्रिक्स राखिएका छन् । ‘सरकारी अस्पतालमा बिरामीको विश्वास बढेको छ ।

नि:शुल्क भनिए जति सबै औषधि उपलब्ध नभए पनि अस्पतालभित्रै फार्मेसी भएकाले अभाव हुन पाएको छैन,’ अस्पतालका एमडीजीपी डा. नवराज बस्ताकोटीले भने, ‘यतिको दुर्गम र क्षमताको अस्पतालले दिने आधुनिक प्रविधिसहितका उपचार सेवा हत्तपत्त सबै जिल्ला अस्पतालमा पाइँदैन ।’

प्रकाशित : भाद्र २, २०७५ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?