कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

फरारका सूची लम्बेतान

स्याङ्जा — बर्सेनि फैसला कार्यान्वयनका लागि अदालतबाट प्रहरीलाई फरारको सूची जान्छ । प्रहरीले विभिन्न समयमा फरार भनिएकालाई पक्राउ गरी अदालतमा उभ्याएर सजाय भुक्तानका लागि कारागार चलान पनि गर्छ ।

फरारका सूची लम्बेतान

तर, अझै पनि स्याङ्जा जिल्ला अदालतले फैसला गरेका विभिन्न मुद्दामा फरारको सूची लामो छ ।

९ सय ८७ जना फरारको सूचीमा छन् । आव ०७४/७५ मा मात्रै फछ्र्योट भएका मुद्दाका फरारी ५१ जना छन् । धेरै वर्ष पहिले भएका फैसला र जिल्लामा चर्चित भनिएका ठूला मुद्दाका आरोपी अझै पक्राउ परेका छैनन् । नागरिकताको प्रमाणपत्र दुई/तीनवटा बनाउने, हुलिया र ठेगाना फेरिरहने भएकालाई पक्राउ गर्न गाह्रो भएको प्रहरीले जनाएको छ ।

जबर्जस्ती करणीका फरक–फरक मुद्दाका चिन्नेवासका २३ वर्षीय मिलन थापा, तनहुँको राइपुरका ३६ वर्षीय जीवन भुजेल र दहथुमका २१ वर्षीय विवेक अधिकारी फरारको सूचीमा छन् । अदालतले उनीहरूविरुद्ध सजाय फैसला गरिसके पनि प्रहरीले अझै भेटेको छैन । ज्यान मार्ने उद्योगमा सजाय फैसला भएका बाहाकोटका २२ वर्षीय अनिल शाही र २५ वर्षीय कुशल हमालबारे पनि प्रहरी बेखबर छ ।

किर्ते ठगीको आरोपमा मुद्दाका अभियुक्त चिन्नेबासका ४० वर्षीय राजेन्द्र लम्साल, खैरो हेरोइनका साथ पक्राउ परेका गुल्मी अर्वेनी घर भई स्याङ्जाको फेदीखोला बस्ने २८ वर्षीय रेशम थापामगरलाई पनि अदालतले कैद सजाय फैसला गरिसकेको छ । तर, दुवै फरारका सूचीमा छन् ।

जबर्जस्ती करणी मुद्दामा जेल सजाय फैसला भएका पुतलीबजारका तुलबहादुर भनिने तेजबहादुर थापा फरारको सूचीमा छन् । गाउँलेले उनी वैदेशिक रोजगारीमा रहको बताए पनि प्रहरीले पक्राउ गरी ल्याउने प्रक्रिया अघि बढाएको छैन । कर्तव्य ज्यान मुद्दामा कैद सजाय तोकिएका ओरष्टेका मनोज विक, दीपक गुरुङ, बांगेफडेका विशाल क्षत्री, मिलन गुरुङ, विकास क्षत्री, रोशन क्षत्री, दीनेश क्षत्री, मीठे भनिने धनबहादुर क्षत्री, टेकबहादुर क्षत्री, प्रकाश क्षत्री र गोपालबहादुर क्षत्री पनि फरारको सूचीमा छन् ।

अदालतको अभिलेखअनुसार गत आवमा १२ मुद्दाका ५१ अभियुक्त फरार छन् । अदालतको फैसला अनुसार सजाय भोग्नुपर्ने अभियुक्तको खोजी कार्य भइरहेको जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीले बताए । अदालतको फैसला कार्यान्वयन गराउने निकाय प्रहरी नै भएकाले ढिलो–छिटो अभियुक्त पक्राउ पर्ने उनले बताए ।

अदालतले उपलब्ध गराउने सूचीका आधारमा फरारको खोजी गर्ने काम सधैं भइरहने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ‘सुराकी खटाउने, सादा पोसाकमा ड्युटी गर्ने गरेर पनि कतिपयलाई प्रहरीले पक्राउ गरेर ल्याएकै छ,’ प्रहरी नावय उपरीक्षक प्रकाश विष्टले भने ।

प्रकाशित : भाद्र २, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?