कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पढ्ने धोकोले बनायो शिक्षक

पढाउन सक्षम र विपन्न परिवारको भएकाले शिक्षक नियुक्तिमा पहल

बागलुङ — अल्पसंख्यक कुमाल परिवारमा जन्म । घरको आर्थिक अवस्था कमजोर थियो । बाबुआमाले खर्च गरेर पढाउन सक्ने स्थिति थिएन । त्यसैले बाबु कृष्णबहादुर राना र आमा रेवतीले छोरी धनमायालाई पढाउन सकेका थिएनन् ।

पढ्ने धोकोले बनायो शिक्षक

बडिगाढ २ खरबाङका रानाका ६ वटी छोरी थिए । ठूलो परिवार भएकाले ज्याला मजदुरी गरेको कमाइ दुई छाक खानमै ठिक्क हुन्थ्यो । ठूली कान्छी छोरी धनमाया रानालाई भने पढ्ने चाहना थियो । उनले पढ्ने निधो गरेपछि बाबुआमाले हटियास्थित आफन्तको घरमा पठाएर पढ्ने वातावरण मिलाइदिन आग्रह गरे ।

धनमायाले आफन्तको घरमा काम सघाउँदै पढाइलाई निरन्तरता दिइन् । उनले पढदै मजदुरी पनि गर्न भ्याइन् । पिता कृष्णबहादुरको पक्षाघातले निधन भयो । अपांगता भएकी आमाले धान्नुपर्दा घरको अवस्था झनै नाजुक भएको थियो । उनले पढाइलाई भने निरन्तरता दिइन् । हटियास्थित गलकोट माविबाट एसएलसी दिएपछि घरै फर्केर उनले आमालाई सघाइन् । घरमै बसेर खरबाङस्थित त्रिभुवन माविबाट कक्षा १२ पास भइन् । पढाइमा राम्रो भएको देखेका शिक्षकले विद्यालयमा आवश्यक पर्ने निजी स्रोतको अतिरिक्त शिक्षकमा उनैलाई चुनेका छन् । विद्यालयले अंग्रेजी माध्यम तथा कम्प्युटर शिक्षाको थालनी गरेको छ ।

अंग्रेजी विषय राम्रो अध्यापन गराउन सक्ने भएकाले उनलाई नियुक्त गरिएको प्रधानाध्यापक ढालमणि भण्डारीले बताए । ‘पढाउन सक्षम र विपन्न परिवारको भएकाले शिक्षक नियुक्तिमा पहल भयो,’ उनले भने, ‘उनले बालबालिकालाई राम्रो सिकाएर माया पाएकी छन् ।’ यहाँ पढाइमा गुणस्तर बढाएकाले निजी विद्यालय छाडेर आउने विद्यार्थीसमेत बढेका छन् । चालु शैक्षिक सत्रमा ६० बालबालिका निजी विद्यालय छाडेर आएको उनले बताए ।

विद्यालयमा राम्रो अध्यापन गराउँदै रानालाई उच्चशिक्षा पढ्ने धोको छ । घर उनको कमाइबाट चलेको छ । ‘१२ कक्षा सम्मको पढाइ राम्रो भयो, अझै पढ्ने चाहना छ,’ धनमायाले भनिन््, ‘शारीरिक अपांगता भएकी आमालाई छाड्न नसक्दा पढ्न सकेकी छैन ।’ उच्चशिक्षा उत्तीर्ण गरेर स्थायी रूपमा शिक्षक नै बन्ने उनले चाहना राखेकी छन् । ‘घरपरिवारले नसक्ने अवस्थामा पढ्न सहयोग गर्ने र हाल जागिर दिने शिक्षक हुनुहुन्छ,’ उनले भनिन्, ‘भविष्यमा पनि शिक्षक बनेर मजस्तै समस्यामा परेका बालबालिका पढाउने चाहना छ ।’ अंग्रेजी विषय पढेर सेवा गर्ने चाहना रहेको उनले बताइन् ।

कुमाल गाउँमा विद्यालय तहको पढाइ पूरा गर्ने युवा भेट्नै मुस्किल छ । तर, उनले भने दु:ख गरेर पढेकी थिइन् । अभिभावक र बालबालिका समेत मजदुरीमा जाने भएकाले विद्यालय तहको पढाइ पूरा गर्न नसकेर उनीहरू पछाडि परेको वडा सदस्य हिमा खरेलले बताइन् । ‘अब गाउँपालिका तहबाट उनीहरूलाई रोजगारमूलक सीप दिएर पैसा कमाउने बनाउनुपर्छ,’ उनले भनिन्, ‘आफ्नै गतिलो छाप्रोसमेत नभएकाले उनीहरूको जीवन कष्टकर छ ।’ जनता आवास कार्यक्रममार्फत कुमालका घर बनाउने योजनामा काम सुरु भएको छ । हाल यहाँका १७ घर बनिरहेका छन् । केहीका बनिसकेर जस्ताको छानामा सरेका छन् । राम्रो बास पाएपछि रोजगारीको अवसर दिएमा कुमालको जीवनस्तर सुध्रनेमा धनमाया विश्वस्त छिन् ।

प्रकाशित : भाद्र २, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?