कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केबुलकारले पैदलमार्ग सुनसान

हरिराम उप्रेती

गोरखा — मनकामना मन्दिर पुग्नेहरूका लागि सजिलो र छोटो पदमार्गका रूपमा परिचित तनहुँको आँबुखैरेनी–मनकामना मार्ग सुनसान भएको दुई दशक भएको छ । पुरानो बाटोमा बटुवा हिँड्दैनन् । झारजंगल बढेका छन् ।

केबुलकारले पैदलमार्ग सुनसान

मनकामना क्षेत्रका पुराना बजारहरूलाई पनि केबुलकार र नयाँ सडक सञ्जालले प्रत्यक्ष असर पारेको छ । २०५५ सालबाट सुरु भएको मनकामना केबुलकार नेपालकै पहिलो केबुलकार सेवा हो । छिनमै पुगेर छिटै फिर्न मिल्ने सुविधाले मनकामनाका दर्शनार्थीमात्रै होइन गाउँलेलाई पनि सजिलो छ ।

यो सुविधाको उपभोग सुरु भएयता पुरानो पराम्परागत पदमार्गको भने बिजोग भएको छ । उक्त मार्गमा व्यापार गर्नेहरू विस्थापित भए । आबुँखैरेनी–वनौती–डाँडागाउँ–ढाँडबारी हँुदै मन्दिर पुग्ने पुरानो पैदलमार्गमा अहिले फाट्टफुट्ट मात्र श्रद्धालु आउजाउ गर्छन् । केबुलकारबाट दैनिक सरदर दुई हजारदेखि पाँच हजार जनासम्म तीर्थालु मनकामना मन्दिर आउजाउ गर्छन् । पृथ्वीराजमार्ग सञ्चालन आएयता आँबुखैरेनीसम्म गाडीमा आएका भक्तजन त्यहाँबाट तीन घण्टा पैदल उक्लेर मन्दिर पुग्थे । केबुलकारले सजिलो पारेपछि टिकट काट्न लाम लाग्न रमाउनेहरू पैदल यात्राको रहर गर्दैनन् ।

मनकामना हटियाका नीलप्रसाद श्रेष्ठ भन्छन्, ‘हुनेखाने केबुलकार नै चढ्ने भए, केही मान्छे मोटर चढेर आउँछन् । कसैले ज्यानलाई परिश्रम गराउँदैनन्, सबै सुविधा खोज्ने भए ।’ डाँडामा केबुलकार स्टेशनबाट मन्दिरसम्मको मार्गमा व्यापार फस्टाएको छ तर, पुराना बजार ठप्प छन् । केबुलकारको सेवा सुरु हुनुअघिसम्म ९० हाराहारी घरधुरी भएको हटिया पुरानो बजार थियो । ‘केबुलकार चल्नुभन्दा पहिले यहाँ मान्छेको भीड थेगिनसक्नु हुन्थ्यो,’ श्रेष्ठले भने, ‘अहिले सुनसान बन्यो । मान्छे नहिँड्दा रोजीरोटी नै खोसिएको छ ।’ हटियामा व्यापार एकाध घरमा सीमित भएको छ । व्यापारिक प्रयोजनका लागि बनाइएका घरहरू खाली छन् । ‘१५ वर्ष होटल चलाएँ । केबुलकार चलेपछि यताबाट मान्छे आउन छाडे अनि बन्द गरेको छु,’ श्रेष्ठले भने, ‘पुराना मान्छे कोही कोही खोज्दै आउँछन् नत्र व्यापार हुने भनेको यस्तै भयो ।’

पैदल मार्गको किनाराका पूजा सामग्री, ध्वजापताका व्यापार पनि हुन छाडेका हटियाकै काजी श्रेष्ठ बताउँछन् । ‘यसलाई वैकल्पिक बजारीकरण गर्नुपथ्र्यो । यहाँका मान्छे अहिले सबैजसो बेरोजगारी भएका छन्,’ उनले भने, ‘पहिले कुखुरा परेवा बेच्थे, भुल्ने बाटो भएको थियो । अब त घर कुर्ने बाहेक कामै छैन ।’ शैक्षिक भ्रमणको सिजनमा भने दैनिक सय/दुई सयजना पैदल मार्गको बाटो भएर आउने गरेको उनले बताए । केबुलकार बनेपछि आँबुखैरेनी र चितवनको मुग्लिनसम्मको बजारलाई प्रभावित पारेको उनले बताए । ‘सबैभन्दा बढी असर यही बाटोको बजारमा पर्‍यो,’ उनले भने । केबुलकारको सुविधा सुरु भएपछि बनौती ढाडबारी र डाँडागाउँका पसल उठेको उनले बताए ।

पदमार्गको प्रचारमा जोड
मनकामना मन्दिर जाने भक्तजनलाई सजिलोका लागि तीन दशकअघि सिक्किमको सोनखरी क्लबले आबुखैरेनी–मनकामना पैदलमार्गको स्तरोन्नति गरेको स्थानीय बताउँछन् । उक्त पदमार्गको प्रचार हुनसके यस क्षेत्रका व्यवसाय गरिखानेको दिन फिर्ने गाउँलेको भनाइ छ ।

‘२०४८/४९ सालतिर डेढ वर्ष समय लगाएर सिक्किमको क्लबका मान्छे आएर अप्ठ्यारो ठाउँमा सिढी हालेका थिए,’ काजीले भने । तत्कालीन समयमा मस्र्याङ्दी किनारबाटै स्तरोन्नति गरिएका केही सिढीहरू अहिले सडकले बिगारेको उनले बताए । ‘यो सिढी सबै ढलान छ, यतिका वर्ष भयो, कतै बिग्रिएको भत्किएको पनि छैन,’ उनले भने, ‘ढल खोल्दा र सडक बनाउँदा केही ठाउँमा नास गरे ।’ स्थानीय सक्रिय भएर पैदलमार्गको प्रचार गर्दै चहलपहल बढाउनुपर्नेमा यहाँ भेटिएकाहरूले जोड दिए । ‘एक ठाउँ विस्थापित नभई अर्को ठाउँ स्थापित पनि हुँदैन,’ स्थानीय पूर्णलाल श्रेष्ठले भने, ‘केबुलकारले प्रभाव पारेको हो । गाडीले त्यति असर गरेको छैन, पैदल हिँड्ने मान्छे पनि हुन्छन्, यो बाटो नराम्रो पनि छैन ।’


नेभारे–ग्याजा–दार्सिङ र कोरथोक हुँदै मनकमना पुग्ने क्षेत्रका गाउँलेका व्यापार पनि पैदलमार्ग चल्दा जस्तो अहिले छैन । सिलिङटार–केयरपानी हुँदै मनकामना पुग्ने अर्को खण्डबाट पनि मनकामना पुग्ने पैदलयात्रीहरू आउजाउ गर्थे । ‘अहिले त सडक पनि खुलेका छन्,’ मनकामनाका नरेन्द्र श्रेष्ठले भने ‘हिँड्न चाहने मान्छे कम भएर पनि यी ठाउँमा चहलपहल घट्यो ।’ सिलिङटारमा झोलुंगे पुल निर्माण भएपछि उक्त मार्गबाट शैक्षिक भ्रमणको सिजनमा केही पैदलयात्री आउजाउ गर्ने सिलिङटारका कुलबहादुर श्रेष्ठले बताए । ‘अरू बेला त गाउँको मान्छे मात्र हिँड्ने हुन्,’ उनले भने । उक्त मार्ग भएर हिँड्न जोखिम नरहेको उनले बताए । ‘पहिले सिलिङटारमा तुइन थियो, अहिले झोलुंगे पुल छ । पहिले भन्दा हिँड्न त अहिले सजिलो छ,’ उनले भने ।

केबुलकार स्टेसनबाट मनकामना क्षेत्रको व्यापार भने फस्टाएको छ । पुराना बजारका केही व्यापारी पनि उक्त ठाउँमा सरेर व्यवसायलाई निरन्तरता दिइरहेका छन् । वार्षिक पाँच लाखसम्म भाडा तिरेर पनि उक्त क्षेत्रमा व्यापार गर्नेहरू छन् । ‘२०६३ सालमा ८५ हजार भाडा तिरेर होटल खोलेको हुँ । अहिले पाँच लाख भाडा तिर्छु,’ फूलवारी टोलमा होटल–व्यवसाय गर्दै आएको तेजराज लामिछानेले भने ।

प्रकाशित : भाद्र ३, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?