१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

टापुबाट कुकुरको उद्धार

घनश्याम खड्का

म्याग्दी — रहुगंगा खोलाले बनाएको टापुमा २६ दिनदेखि फसेको कुकुरको शुक्रबार उद्धार गरिएको छ । भेलले बगाएर ल्याएको कालो–खैरो रंगको कुकुर कालीगण्डकी नदीको दोभानमा खोला दुईतिर बाँडिएर बनेको टापुमा अलपत्र थियो ।

टापुबाट कुकुरको उद्धार

‘एउटा कुकुर २६ दिनदेखि नदीको बीचमा फसेको छ भन्ने सुनेर मर्माहत भएँ,’ उद्धारको अगुवाइ गरेका बेनीका विद्यार्थी प्रकाश पौडेलले भने, ‘१०/१५ जनाले चार घण्टाको प्रयासपछि उद्धार गर्न सफल भयौं ।’

पौडेलको नेतृत्वमा युवाहरूले नदीका वारि र पारि बसेर लामो डोरीमा सुर्केनी पासो बनाएका थिए । त्यो पासो नदीको बीचमा फँसेको कुकुरको जिउमा अल्झाएपछि डोरी तान्दै अल्झाएर बिस्तारै नदीमा बगाउँदै केही तलबाट बाहिर निकालिएको हो । माथिल्लो कुनै गाउँबाट बगेर आएको कुकुरले आफैं प्रयास गरे पनि नदी पार गरेर निस्कन सकेको थिएन । पहाडी क्षेत्रमा वर्षा भइहेकाले नदीको जलस्तर घटेको छैन । युवाहरूले जोखिम मोलेर कुकुरलाई बाहिर निकालेका थिए ।

‘उद्धार गरेपछि कुकुरले थर्रर काँप्दै बरर आँसु झार्‍यो,’ पौडेलले भने, ‘उद्धारपछि होटलमा लगेर मासुभात खुवायौं । उद्धार त गर्‍यौं, अब के गर्ने कसलाई जिम्मा लगाउने भन्ने टुंगो लागेको छैन ।’ गलेश्वरका स्थानीयले निकै दिनदेखि कुकुर नदीको बीचमा फसेको देखेका थिए । तर, ‘कुकुर त हो’ भन्दै उद्धारमा चासो राखेका थिएनन् । नजिकै रहेको गायत्री मन्दिरमा बस्ने वृद्धवृद्धाले भने खानेकुरा पोको पारी कुकुरका लागि फाल्ने गरेका थिए । गत सोमबार, मंगलबार र बिहीबार रहुगंगा र कालीगण्डकी नदीमा बाढी आउँदा कुकुर आधा पानीमा डुबे पनि अलि अग्लो ढुंगामा चढेर बाँचेको थियो ।

प्रकाशित : भाद्र ३, २०७५ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?