भूबनोट बुझ्न परीक्षण

आश गुरुङ

लमजुङ — भासिएको जमिन र गएको पहिरोबारे बुझ्न दोर्दी गाउँपालिका–८ जल्गेनीपाखामा भूगर्भविद्को टोलीले स्थलगत अनुसन्धान थालेका छन् ।

भूबनोट बुझ्न परीक्षण

खानी तथा भू–गर्भ विभागबाट खटिएको टोलीले जमिनमा ‘ड्रिल’ मेसिन गाडेर ५ मिटर तलसम्मको माटो निकालेका छन् । जमिन बाहिर र भित्रको अवस्थाबारे जानकारी लिएको टोलीले परीक्षणको लागि माटो लिएर गएको छ । माटोको नमुनालाई भू–प्रविधि प्रयोगशालामा लगेर परीक्षण गरिने खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् मोनिका झाले बताइन् । उनका अनुसार जल्गेनीपाखाको भूबनोट कमजोर र खुकुलो छ ।

यसकारण यहाँ ठूलो पानी पर्नासाथ भासिने र पहिरो चल्ने गरेको उनले बताइन् । उनका अनुसार बिहीबार स्थलगत अध्ययन गरिएको हो । माटोको अवस्थाबारे प्राविधिक अध्ययनबिनै मोटरबाटो निर्माणले यहाँ समस्या आइपरेको उनले बताइन् । झासहित भूगर्भविद् सुनीता भट्टराई, ल्याब टेक्निसियन अमर थापा साथै केही प्रशिक्षार्थीले जल्गेनीपाखा र वरपरको भूक्षय तथा बनोटबारे अध्ययन गरेका हुन् । अध्ययनपछि प्रतिवेदन तयार पारेर विभागलगायत सम्बन्धित निकायमा बुझाइने उनले बताइन् ।

जल्गेनीपाखामा जमिन भासिँदै गएको, पहिरो चलेको र नजिकै बेलौती खोलाबाट खसेको ढुंगामाटोले खिन्चोकबेंसी जोखिममा पारेपछि भूगर्भविद्को टोलीले अध्ययन गरेको हो । जल्गेनीपाखाको भूक्षय र पहिरोले तत्कालीन रूपमा मानिसलाई असर नगर्ने भए पनि दीर्घकालीन रूपमा असर पार्ने र बेलौती खोलाको पानी थुनिने खतरा बढेको वरिष्ठ भूगर्भविद् झाले बताइन् ।

‘खोलामै स–साना पहिरो बनेर बस्ती वरपर ढुंगा खसिरहेको छ । यसले करिब डेढ–दुईसय मिटर आसपासका बस्तीलाई समस्या पार्न सक्छ,’ उनले भनिन् । उनका अनुसार विपद्अघि नै यसबारे चनाखो भएर काम गरिए राम्रो हुन्छ । ‘१० वर्षअगाडि खेतमा धाँजा फाटेर मूल पलाएका रहेछन् । जमिन भासिने र पहिरो चल्ने गरेको रहेछ । हामीले स्थानीयबाट थाह पायौं,’ उनले भनिन्, ‘अहिले पनि त्यो स्थितिबाट कम छैन ।’ २०७२ वैशाखको भूकम्पले भित्री जमिन हल्लिएर पनि यसमा केही समस्या ल्याएको हुनसक्ने उनले बताइन् ।

जमिन भासिनु र पहिरो चल्नुको कारण गाउँ जाने सडक निर्माण गरिनु मुख्य कारण रहेको निष्कर्ष उनीहरूको छ । भूगर्भविद् भट्टराईले प्राविधिक अध्ययन अनुसन्धानबिना जमिनमा डोजर चलाइएकाले समस्या आएको बताइन् । ‘माटो कुखुलो र कमलो छ । भित्रभित्रै मूल पनि फुटेको छ । पानी पर्दा झन् जोखिम बढ्छ,’ उनले भनिन् । एकसाता लगातार पानी परेमा झन् जोखिम बढ्ने उनले बताइन् ।

बेंसीबाट खिन्चोक गाउँ जोड्ने सडकमा पहिरो खस्न थालेपछि स्थानीयले पहिरो रोकथामका लागि हलो गाढेका थिए । साउन १ गते परेको भीषण वर्षापछि गाउँ बारेर पूजापाठ गरी हलो गाढेको स्थानीय उत्तमबहादुर घलेले बताए । गाउँ वरपर पहिरो जानुका साथै जमिन भासिने समस्या आएपछि करिब ३२ घर जोखिममा परेको स्थानीयले बताएका छन् । ‘बेलौती खोला बढेर थुनिएमा सबै बाढीपहिरो गाउँतिर आउँछ,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुुसार जिल्ला विपद् व्यवस्थापन समितिले खिन्चोकबेंसी गाउँका ३२ घर जोखिममा रहेको निष्कर्ष निकाली यसको अध्ययनको लागि खानी तथा भूगर्भ विभागमा अनुरोध गरिएको थियो । ‘अहिले अध्ययन भएको छ । अध्ययन अनुसन्धानपछि के गर्ने भन्ने निष्कर्षमा पुग्न सकिन्छ,’ उनले भने । खिन्चोकबेंसीको माथिल्लो पाखाबाट पहिरो झरेमा वा भासिएको जमीन बगेमा धनजनको क्षति हुनसक्ने विपद् व्यवस्थापन समितिले खटाएका प्राविधिक टोलीको निष्कर्ष थियो ।

प्रजिअ ढकालका अनुसार पानी परिरहे उक्त गाउँ तत्काल अस्थायी रूपमा स्थानान्तरण गरी समस्याको दीर्घकालीन समाधान निकाल्नुपर्ने हुन्छ । खिन्चोकबेंसीलाई जोगाउन तत्काल बेलौती खोलामा तटबन्ध गराउनुपर्ने भूगर्भविद्हरूले बताएका छन् । ग्याबिनजाली व्यवस्थापनका लागि जलउत्पन्न प्रकोप कार्यालयलाई भनेको प्रजिअ ढकालले बताए । उनका अनुसार यसमा आवश्यक सहयोग समन्वयका लागि दोर्दी गाउँपालिकालाई भनिएको छ ।

प्रकाशित : भाद्र ३, २०७५ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?