१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

श्रम उस्तै, ज्याला फरक

थुन्से बुन्ने काममा महिलाको दैनिक ज्याला ६ सय पुरुषको ८ सय
‘समान कामको समान ज्याला’ नारा मात्रै

कास्की — समान कामको समान ज्याला । नारामा सुन्दर सुनिने यो वाक्य व्यवहारमा कहिले लागू होला भन्ने कान्छीमाया तामाङलाई लाग्छ ।

श्रम उस्तै, ज्याला फरक

पोखराको सिम्पानीमा महिलाहरू भेला भएर थुन्से बुन्छन् । दिनको चारवटा तयार हुन्छ । एकजनाको हातमा ६ सय रुपैयाँ पर्छ । ‘उही हामीजस्तै पुरुषले पनि बुन्छन्, उनीहरूले ८ सय पाउँछन्,’ उनले भनिन््, ‘थोरै भयो, काम गर्दिनँ भनाैं रोजगारी गुम्ने । चित्त बुझाउन पनि मन मान्दैन ।’ परम्परागत डोकोको तुलनामा प्वाल नहुने थुन्से निगालोबाट बनाइन्छ । मल बोक्दा नखस्ने भएकाले किसानले बढी उपयोग गर्छन् । गाउँबाट बिक्रीका लागि ल्याउनेहरू घटेपछि बजारका बिक्रेताले आफैं बुन्न बोलाएर काममा लगाउँछन् ।

‘थुन्से बुन्दा मात्रै होइन जे काम गरे पनि महिलाले पाउने ज्याला थोरै हुन्छ,’ तामाङले भनिन्, ‘गिटी, बालुवा बोक्नेदेखि घर ढलानको काम, बल पर्ने जे गरे पनि त्यस्तै हो ।’ ज्याला समान नभए पनि मजदुरी गर्न जानेहरूले भन्न जाने ठाउँ नभएको गुनासो उनको छ ।

मेघमाया तामाङलाई भने ज्याला कम भए पनि केही बोल्न मन छैन । ‘गिटी, बालुवा बोक्ने बलको काम गर्न सक्ने ज्यान छैन,’ उनले भनिन््, ‘थोरै आए पनि घर बनाउने काममा दिनको हजार पाइन्थ्यो । बल नभएपछि सीपको काममा दिनको ६ सयमा झुन्डिनुपरेको छ ।’ समान कामको समान ज्यालाको नारा आफूले सुन्दै आए पनि मजदुरहरूमा साहूलाई किन कम दिन्छौ, कम दिए काम गर्दिनँ भन्ने अवस्था नहुने उनले बताइन् ।

मेघमाया र कान्छीमाया जसरी नै थुन्से बुन्ने चिजबहादुर तामाङ श्रमको मूल्य कसले तोक्छ भन्नेमा आफू अनभिज्ञ रहेको बताउँछन् । ‘कसले धेरै पायो, थोरै पायोको कुरा बेग्लै हो,’ उनले भने, ‘मलाई त ८ सय पाउँदा पनि श्रम अनुसारको ज्याला निकै थोरै भयो भन्ने लागिरहन्छ ।’ एउटाको तीनदेखि चार सयमा बिक्री हुने थुन्से बनाउन राम्रै मेहनत पर्ने उनले बताए ।

प्रकाशित : भाद्र ४, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?