बल्ल पाइन् शान्ताले नागरिकता

जन्मदर्ता नहुँदा कान्छी छोरीको कक्षा ११ मा भर्ना रोकियो, अपांगता भएकी जेठी छोरीको परिचयपत्र बनेन

लमजुङ — बुढेसकालमा नागरिकताको प्रमाणपत्र हात पर्दा आत्मबल बढिरहेको ५७ वर्षीया शान्ता परियार बताउँछिन् । नागरिकता नभएकै कारण उनले धेरै समस्या खेप्नुपर्‍यो ।

बल्ल पाइन् शान्ताले नागरिकता

एक वर्ष छँदा आमाको मृत्यु भएको थियो । लगत्तै बाबुले कान्छीआमा लिएर हिँडेपछि अभिभावकविहीन उनलाई सानिमाले मामागाउँ मस्र्याङदी गाउँपालिका ९, सिम्पानी पामचोकमा लगेर सहारा दिएकी थिइन् । त्यहाँ हेला हुन थालेपछि १२ वर्षमै उनी काम खोज्दै बेंसीसहर र त्यहाँबाट पोखरा पुगेकी थिइन् ।

लेकसाइडमा भाँडा माझ्ने काम पाएकी उनलाई बढदो उमेरसँगै घरजमको रहर भयो । होटलमा प्राय: आउजाउ गरिरहने एक अपरिचितले बिहे गर्छु भने । उनैसँग जीवन बिताउन सुरु भएको मेलामा त्यसबेला गाह्रो भयो, जब कृष्ण श्रेष्ठ नामका ती पुरुषले चौथो सन्तान गर्भमा रहँदा उनले नागरिकता बनाइदिन आग्रह गरिन् । श्रेष्ठले छाडेर मात्रै हिँडेनन्, सम्पर्कविहीनै भए । ‘कान्छो भर्खर पेटमा आएको थियो । उहाँ फर्केर आउनुभएन । म दुई जिउकी, कहाँ खोज्ने, कसलाई भन्ने ?,’ उनी भन्छिन्, ‘अब त १० वर्ष भयो । मलाई नागरिकता कसले बनाइदिन्थ्यो ?’

नागरिकता नहुँदा धेरैले हेपे । बेवारिसे भनेर हेला गरे । जन्मदर्ता नहुँदा कान्छी छोरीको कक्षा ११ को विद्यालय भर्ना रोकियो । २३ वर्षीया जेठी अपांगता भएकी छोरी पिंकीको परिचयपत्रका लागि सिफारिस बनाउन पाइएन । ‘मलाई जसरी पनि नागरिकता चाहिने भयो । गाविस सचिवलाई भनें, भएभरका आफन्तलाई भनें । मलाई चिन्दा पनि चिनेनन्,’ उनी भन्छिन्, ‘जिल्ला प्रशासनमा गएँ, बूढा खोजेर ल्याउ भनियो । भागेर गइसकेको बूढा कहाँबाट खोजेर ल्याउने भनेर रोएर फर्किएँ ।’ तर, उनले हिम्मत हारिनन् ।

बारम्बार गुहार लगाउँदा यसपटक प्रशासनले उनको कुरा सुन्यो । शान्तालाई कान्छीआमापट्टिका साइँला भाइ सोमराजले सनाखत गरे । लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी मनोहर थापाको हस्ताक्षरमा प्रशासनले उनलाई २०१८ असार १० गते जन्ममिति कायम गरी नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ ।

‘सन्तानले नागरिकता पाउने बेला मैले नागरिकता पाएकी छु । खुसी छु,’ बेंसीसहरमा आइतबार प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका हातबाट नागरिकता पाएपछि उनले भनिन्, ‘मैले भगवान् भेट्टाएँ । भगवान्ले मलाई नागरिकता दिनुभयो जस्तो भएको छ ।’ अब सन्तानको नागरिकता बनाउन पाए अझ संसारको खुसी मिल्ने उनले बताइन् ।

प्रजिअ ढकालले नागरिकतासम्बन्धी संशोधित ऐनअनुसार र नभएको खण्डमा पनि उनको माग र सनाखत साथै प्रक्रिया पुर्‍याए उमेर पुगेका सन्तानलाई नागरिकता दिन सकिने बताए । ‘नेपाली नागरिकले नागरिकता पाउनुपर्छ । म पहल गर्छु,’ उनले आश्वासन दिए । शान्तालाई नागरिकता दिलाउन बेंसीसहर नगर कार्यपालिका सदस्य तथा छिमेकी मन्दिरा दनाईं, अधिकारकर्मी दलबहादुर मजाकोटी र समग्र विकास सेवा केन्द्रकी संयोजक मीरा भण्डारीले पहल गरेका थिए ।

आइतबार नागरिकता हातमा लिएर खुसी देखिए पनि शान्ताको जीवन सहज छैन । अपांगता भएकी जेठी छोरीलाई पोखराको बजार डुलाएर सहयोगीले दिने पैसाले दैनिकी चलेको छ । छोरी पिंकी बोल्न र चल्न सक्दिनन् । २० वर्ष पुगेकी कान्छी छोरीको पढाइ रोकिएको छ । छोराहरू १७ वर्षका ९ र ९ वर्षका २ कक्षामा पढ्छन् । ‘परिवार चलाउँछु भन्ने मान्छे बेपत्ता हुनुभो । अभागी कर्म छोरीलाई देखाउँदै खानुपरेको छ । म भोकै भएर पनि सन्तान पालेकी छु,’ शान्ता भन्छिन्, ‘मेरो कमाइ केही छैन । ४ सन्तान एक्लै कसरी पालें होला ।’

प्रकाशित : भाद्र ५, २०७५ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?