१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

गाईखुरेमा क्यानोनिङको मज्जा

क्यानोनिङलाई व्यावसायिक रूपले अघि बढाउँदा पर्यटनको प्रवद्र्धन
झरनासँगै डोरीको सहायताबाट सुरक्षित तवरले झर्ने खेल नै क्यानोनिङ

लमजुङ — दुई वर्ष लगातार क्यानोनिङको मजा लिएका बेंसीसहरका व्यवसायी राजु अर्याल यसपटक पनि गाईखुरे झरनामा गए र रमाए । खेलमा विशेष रुची राख्ने उनी क्यानोनिङका शौखिन हुन् ।

गाईखुरेमा क्यानोनिङको मज्जा

‘मलाई क्यानोनिङ मन पर्छ । त्यसैले तेस्रो वर्ष पनि क्यानोनिङ गरें,’ उनले भने ।
त्यसैगरी बेंसीसहरकी रश्मी घिमिरेले पनि क्यानोनिङको मज्जा लिइन् । ‘मलाई साहसिक खेल तथा काममा सहभागी हुन मन लाग्छ,’ बेंसीसहर बजारमा मोटरसाइकल चलाएर हिँड्ने उनले भनिन्, ‘केही गर्न सकिन्छ भन्ने आँटले नै क्यानोनिङ गरेकी हुँ ।’


राजु र रश्मीलगायत १७ जनाले शुक्रबार र शनिबार डुम्रे–बेंसीसहर सडक खण्डमा पर्ने उदिपुरको आकाशे नजिकै गाईखुरे छहरामा क्यानोनिङको मज्जा लिए । भोटेओडारका प्रेम गुरुङले क्यानोनिङको मज्जा लिन पाउँदा छुट्टै आनन्दको अनुभूति गरेको बताए । उनीहरूलाई ६ दक्ष प्राविधिक (गाइड) टोलीले सुरक्षित तवरबाट क्यानोनिङ गराएका थिए । उनीहरूले क्यानोनिङ गरिरहँदा नजिकै रहेका दर्शकको भीडले पनि मज्जा लिइरहेको थियो ।


क्यानोनिङ प्राविधिक (गाइड) राजेश तामाङका अनुसार क्यानोनिङलाई व्यावसायिक ढंगले अघि बढाउँदा पर्यटन प्रवद्र्धन हुन्छ । १३ वर्ष क्यानोनिङका क्षेत्रमा लागेका उनले पर्यटन प्रवद्र्धनका लागि क्यानोनिङजस्ता साहसिक खेलको आवश्यकता रहेको बताए । उनका अनुसार क्यानोनिङ साहसिक खेलमध्येको एक हो ।


‘झर्दै गरेको झरनामा डोरीको सहायताबाट सुरक्षित तवरले झर्ने एक प्रकारको खेल नै क्यानोनिङ हो । जो कसैले पनि यस खेलमा सहभागिता जनाउन सक्दैन,’ उनले भने, ‘आँट र साहस भएकाले मात्रै सहभागिता जनाउन सक्छन् र खेलको मज्जा लिन्छन् ।’ उनका अनुसार लमजुङमा गाईखुरेजस्ता झरना धेरै छन् । तर, सडक नजिकै परेकाले यसको महत्त्व बढी छ ।


यसको प्रचारप्रसारका लागि बेंसीसहर नगरपालिकाको सहयोगमा लमजुङ टेलिभिजनले क्यानोनिङ खेलको व्यवस्थापन गरेको हो । टेलिभिजनकी कार्यक्रम संयोजक सुशीला पौडेलले गाईखुरे झरनाको प्रवद्र्धनका लागि क्यानोनिङ खेलको आयोजना गरेको बताइन् । यसका लागि सहभागिबाट जनही ३ हजार २ सय रुपैयाँ रकम लिइएको थियो ।


बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले साहसिक खेलको माध्ययमबाट पर्यटन प्रवद्र्धन गर्न सकिने बताए । उनका अनुसार कार्यपालिकाको निर्णयबाट गाईखुरे झरनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार पारेर यसको प्रवद्र्धनका लागि कार्यक्रम अघि बढाइने निर्णय भएको छ । गाईखुरेलाई व्यवस्थित गर्न सकिए यसबाट पर्यटन प्रवद्र्धन हुने र देशी–विदेशी पर्यटक आउने उनले बताए ।


प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार पर्यटन प्रवद्र्धनका लागि क्यानोनिङ साहसिक खेल हो । साहसिक खेल सुरक्षाका दृष्टिकोणले ज्यादै संवेदनशील हुन्छ । ‘आगामी दिनमा सहभागीको स्वास्थ्य, उनीहरूको सुरक्षा, बिमादेखि लिएर अन्य प्रक्रिया पूरा गरेर क्यानोनिङ गराउँदा राम्रो हुन्छ,’ उनले सुझाए ।

प्रकाशित : भाद्र ६, २०७५ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?