२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

सुधारिँदै दृष्टीविहीन कक्षा

छात्रावास सुविधा, शैक्षिक सामग्रीको सहजै उपलब्धता र अनुदान रकममा वृद्धि हुनुपर्नेमा जोड

पर्वत — कुश्माको शिवालय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहीन स्रोत कक्षाको गुणस्तर र सेवा सुधार गर्न आवश्यक रहेको सरोकारवालाले औंल्याएका छन् । विद्यालयमा आयोजित स्रोतकक्षा सुधारसम्बन्धी छलफलमा यस विषयमा बहस भएको हो ।

सुधारिँदै दृष्टीविहीन कक्षा

छलफलमा प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समिति र सरोकारवालाले स्रोतकक्षा, शैक्षिक सामाग्री र दृष्टिविहीन बस्ने आवासको गुणस्तर सुधार गर्न आवश्यक रहेको बताए । उचित बसोबास र शिक्षाको अभावमा नौ वर्षको अवधिमा तीनवटा विद्यालय बदल्दै आएका २१ विद्यार्थी हाल सदरमुकामको शिवालय माविमा आवासीय सुविधासहित अध्ययन गरिरहेका छन् ।


पर्वतसहित गुल्मी, बागलुङ र तनहुँलगायतका बालबालिका अध्ययन गर्छन् । विगतमा दुर्गमका कारण सदरमुकाममा झारिएको स्रोतकक्षामा बस्दैआएका बालबालिका भाडाको घरमा बस्नुपर्दा समस्या भोग्दैआएका थिए । अघिल्लो वर्ष प्लान नेपालको सहयोगमा निर्मित भवनमा सरेका उनीहरूलाई थप व्यवस्थापन र शैक्षिक सामाग्रीमा समस्या भएको हो । स्रोत शिक्षक पूर्णहरि सुवेदीले छात्रावासको क्षमता वृद्धि गर्नुपर्ने, शैक्षिक सामग्री महँगो पर्ने, समाहित शिक्षामा पठनपाठनमा कठिन भएको लगायतका समस्या राखे ।


‘एउटै कक्षाका पुस्तक किन्दा बीसौं हजार पर्छ,’ उनले भने, ‘त्यही पनि बजारमा सहजै पाइन्न । काठमाडौं पुग्नुपर्छ ।’ समाहित शिक्षामा अध्यापन गर्दा उनीहरूलाई बुझाउन समस्या भएको उनले बताए ।


विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चापागार्इंले स्रोतकक्षाको व्यवस्थापनमा भइरहे पनि सबै आवश्यकता पूरा गर्न नसकिएको बताए । उनले स्रोतकक्षामा अध्ययनको माग गर्ने विद्यार्थीको संख्या बढ्दै गए पनि छात्रावासको क्षमता कम भएकाले थप्न नसकिएको जनाए । ‘अहिले पाल्पा र काठमाडौंबाट विद्यार्थी आउन खोजेका छन्,’ उनले भने, ‘क्षमता अभावले बोलाउन सकिएको छैन ।’


दृष्टिविहीनलाई आवासीय सुविधाका लागि सरकारबाट प्रतिविद्यार्थी मासिक चार हजार रुपैयाँ अनुदान प्राप्त हुन्छ । त्यसमध्ये पाँच सय रुपैयाँ विद्यार्थीलाई नगद दिनुपर्छ । बाँकी ३५ सय रुपैयाँले विद्यार्थीलाई खानपान र बसोबासको व्यवस्थापन गर्न समस्या भएको व्यवस्थापन समिति अध्यक्ष ईश्वर गिरीले बताए ।


विद्यार्थीलाई शैक्षिक सामग्री, स्लेट, खाद्यान्नलगायतमा सहयोग पुर्‍याउन गैरआवासीय नेपालीहरूले १० लाखको अक्षयकोष स्थापना गरेका थिए । गत कात्तिकमा स्थापना भएको कोषको ब्याजबाट स्रोतकक्षामा अध्ययनरत बालबालिकाको शैक्षिक तथा बास व्यवस्थापनमा लगानी गर्ने उद्देश्य छ । नयाँ भवन बनेपछि आफ्ना धेरै समस्या समाधान हुने विद्यार्थीले बताए । कक्षा १० का इन्द्र न्यौपानेले भने, ‘भाडाको एउटै कोठामा धेरैजना कोचिएर बस्दा पढ्न, नुहाउन, शौचालय जान बढी समस्या थियो ।’ कक्षा ७ की कुसुम गौतमलाई महिनावारी हुँदा सरसफाइ र शौचालयमा पालो कुर्नुपर्दा धेरै दु:ख पाएको बताइन् । ‘आज बिहानदेखि छुट्टै संसारमा पुगेजस्तो भएको छ,’ उनले भनिन् ।


‘छोटो समयको परियोजना थियो,’ प्रधानाध्यापक भूपेन्द्र चापागाईंले भने, ‘सबैको सक्रियताले छिटै निर्माण सकियो ।’ गत साउनमा सुरु भएको भवनको काम अघिल्लो साता सकिएको हो । निर्माण थाल्दा ११ विद्यार्थी भए पनि हाल २१ जना पुगेका छन् । ‘भवन त बन्यो । नबन्दै अपूरो भयो,’ स्रोत शिक्षक पूर्णहरिी रेग्मीले भने, ‘यसको क्षमता १४ जनाको छ । बाँकी ७ जना बस्ने ठाउँ पुगेन ।’


शालिजा माविमा सञ्चालित स्रोत कक्षामा बसोबास र अध्ययनमा समस्या भएपछि गत साउनमा स्रोत कक्षासहित विद्यार्थी यहाँ सारिएको थियो । स्रोत कक्षा सालिजा भए पनि अध्ययनरत बालबालिका धेरै टाढाका थिए । शालिजाबाट सदरमुकाम आउन एकतर्फी भाडा ५ सय रुपैयाँ लाग्थ्यो । यहाँ आएपछि विद्यार्थीको चाप दिनानुदिन बढ्दा व्यवस्थापनमा समस्या हुन थालेको विद्यालयले जनाएको छ । यहाँ पर्वतका अलावा बाग्लुङ, गुल्मी र तनहुँका बालबालिका अध्ययनरत छन् । यो जिल्लाकै एक मात्र दृष्टिविहीन स्रोत कक्षा हो ।

प्रकाशित : भाद्र ६, २०७५ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?