२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

विदेशमा सिकेर स्वदेशमै खेती

इटली र सर्भियाबाट स्याउ खेतीको विधि सिकेर स्वदेश फिरेका समराज गुरुङले मनाङमा स्याउ फलाएका छन्
आश गुरुङ

मनाङ — विदेशी माटोमा पसिना बगाउन चाहेनन् उनले । बरु विदेशमा गएर स्याउ खेती गर्ने तरिकाबारे सिके । इटली र सर्भियाबाट स्याउ खेती गर्ने विधि सिकेर स्वदेश फिरेका उनले मनाङको भिरालोमा स्याउ फलाएका छन् ।

विदेशमा सिकेर स्वदेशमै खेती

मनाङको माथिल्लो क्षेत्र मनाङ ङिस्याङ गाउँपालिका १ भ्राताङका ३७ वर्षीय समराज गुरुङ ४ सय ५० रोपनीमा फल्दै गरेका ६७ हजार स्याउका बिरुवा स्याहार्दैछन् । उनको फार्ममा ५० जना कामदार छन् । थप २ सय ८५ रोपनीमा स्याउ फलाउने तयारी छ । यो वर्ष ५ सय टन स्याउ फल्ने अनुमान छ । औषतमा १ सय ५० रुपैयाँका दरले बिक्री गर्ने लक्ष्य लिइएको छ । यसबाट ७ करोड ५० लाख रुपैयाँ आम्दानी हुने उनको अनुमान छ । समुद्री सतहदेखि २ हजार ८ सय ५० मिटर उचाइको भ्राताङमा मलिलो माटो छैन ।

‘हाम्रो बगानमा चट्टानै चट्टान छ । माथिल्लो भाग केही माटो छ । नत्र ढुंगामाटोको समिश्रण हो । दायाँ–बायाँ पूरै चट्टान,’ उनले भने, ‘चट्टान खसेर बनेको ठाउँमा स्याउ फलाउने बुबा (संघीय सांसद पोल्देन छोपाङ गुरुङ) को सपना हो । बुबाको सपना पूरा गर्न स्याउ फार्मिङ गरेका छौं ।’


नेपालमै पहिलोपटक चार वर्षअघि मनाङको भ्राताङमा इटली र सर्भियाबाट स्याउका बिरुवा ल्याएर रोपिएको थियो । उच्च हिमाली क्षेत्रको ‘हाइडेन्सिटी’ प्राविधियुक्त एग्रो मनाङ प्रालिद्वारा सञ्चालित स्याउ फार्म दक्षिण एसियाकै ठूलो र नमुना स्याउ बगैंचाको रूपमा लिइन्छ ।

गाला, गोल्डेन र फुजी गरी तीन जातका स्याउ वर्णशंकर (हाइब्रिड) हुन् । रैथानेजस्ता यसका बोट अग्ला र मोटा छैनन् । लहरामा फलेजस्तै गरी फल्ने एउटा बोटले एक सिजनमा ३५ किलोसम्म उत्पादन दिन्छ । हाल स्याउको थिनिङ (छाँट्ने) काम भइरहेको छ । रोपेको ३० देखि ३२ वर्षसम्म आयु भएको उक्त बोटले २५ वर्ष राम्रो फल दिने समराज बताउँछन् ।

सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा उक्त स्याउ बजारमा जान योग्य हुन्छ । पहिलो वर्ष २०१४ मा आलु लगाएको र ६० लाख रुपैयाँ आम्दानी भएको थियो । २०१५ मा २० हजार किलो स्याउ फलेको थियो । १६ मा १ लाख ४८ हजार ७ सय ४२ किलो फल्यो । गत वर्ष २ लाख १५ हजार किलो स्याउ फलाएका थिए । सांसद पोल्देन छोपाङ गुरुङका अनुसार गत वर्ष चुनावले गर्दा स्याउमा स्यहार पुगेन । ‘२ लाख ५० हजार किलो फलाउने लक्ष्य थियो । लक्ष्य अलि भेटेन,’ उनले भने, ‘यो सिजनमा ५ हजार क्विन्टल स्याउ फलाउने उद्देश्य हो ।’ सन् २०२१ सम्ममा वार्षिक २१ लाख किलो स्याउ उत्पादन गर्ने लक्ष्य लिइएको छ ।


स्याउ बगैंचामा समराज छन् । भाइ युवराज स्याउको स्वदेश तथा विदेशको मार्केटिङमा छन् । उनीहरू तेस्रो मुलुकमा स्याउ निर्यात गर्ने योजना बुनिरहेका छन् । कमर्स र होटल व्यवस्थापन पढेका समराज र युवराज नयाँ प्रविधिको कृषि फार्म बनाउन अघि बढेका हुन् । ‘हाम्रा बाजेबराजुले गरेको खेतीको तरिका पुरानो थियो । हामी आधुनिक तवरले संसारकै नमुना ‘फार्मिङ’ गरिरहेका छौं’ उनले भने, ‘हाम्रो प्लानिङअनुसार काम हुँदै गएमा यस्तै हावापानी भएका देशका अन्य ठाउँमा पनि स्याउ फलाउन सकिन्छ ।’ हाल यस्तै प्रकारको स्याउ जुम्ला र सोलुमा पनि उत्पादन हुन थालेको छ ।


सिंगो परिवार स्वदेशी उत्पादनको स्याउ बजारमा आपूर्ति गराउन व्यावसायिक रूपमा लागेका छन् । ‘हामी वार्षिक १५ अर्ब रुपैयाँको स्याउ भारत र चीनबाट ल्याएर खान्छौं’ समराजका बुबा सांसद गुरुङले भने, ‘हामीले गर्ने हो भने स्वदेशमा मात्रै नभएर विदेशमा पनि निर्यात गर्न सक्छौं ।’ अढाई दशकदेखि काठमाडौंको ठमेलमा चलेको होटल बेचेर स्याउका लागि चट्टान र माटोमा लगानी गर्न उनी गाउँ फर्किए । उराठ लाग्दो ठाउँमा लगानी गरेको देख्दा उनलाई धेरैले पागल भएछ भन्नेसम्मका सबाल गरे । ‘होटल बेच्दा मलाई पागल भएछ भन्नेहरू थुप्रै थिए । आज चट्टान थुप्रिएर बनेको ठाउँमा स्याउ फलाएर बजारमा पठाएको देख्दा सबैले योजनाको प्रशंसा गर्छन्,’ उनले भने ।


स्याउलाई बजारसम्म पुर्‍याउन भ्राताङ, लमजुङको बेंसीसहर र काठमाडौंमा कोल्डस्टोर स्थापना गरिसकिएको छ । स्याउको दाना ग्रेडिङ र प्याकिङ गर्ने कारखाना सञ्चालनमा छ । एग्रो मनाङका अध्यक्षसमेत रहेका समराजका अनुसार पर्या–पर्यटनका लागि चारतारे होटल फार्महाउस सञ्चालन गरिएको छ । ‘एकैदिन यहाँ सिजनमा ३ सयभन्दा बढी पर्यटक ओहोरदोहोर हुन्छन् । अन्नपूर्ण पदमार्गको यो ठाउँमा स्याउको बगैंचामार्फत हामी पर्यटन प्रवद्र्धन गर्न चाहान्छौं,’ उनले भने । उनका अनुसार पर्यटकलक्षित स्याउको जुस र चिप्सको उद्योग खोलिसकिएको छ । अब स्याउबाट बन्ने अन्य पेय तथा खाद्यपदार्थको उद्योग खोल्ने तयारीमा रहेको उनले सुनाए ।


एग्रो मनाङले माथिल्लो मनाङको तत्कालीन ७ गाविस (हाल मनाङ ङिस्याङ गाउँपालिका) को सगोलमा रहेको जग्गा भाडामा लिएर स्याउ खेती गरेको हो । गाविसले मनाङ मस्र्याङदी क्लबको आयस्रोत बढाउन उक्त जग्गा उपलब्ध गराएको थियो । एग्रो मनाङले टेन्डर प्रक्रियाबाट २७ वर्षका लागि १२ करोड ९१ लाख ११ हजार भाडा तिर्ने गरी लिजमा लिएको छ । स्याउ खेतीका लागि सुरुका वर्ष एसियाली विकास बैंकमार्फत हिमाली आयोजनाले २ करोड २४ लाख ९९ हजार रुपैयाँ अनुदान सहयोग गरेको थियो ।

प्रकाशित : भाद्र ६, २०७५ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?