३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

भीरमा भेटिए बालक

गोरखा — आँगनमा खेल्दै गरेका दुई वर्षे छोरा हराएको तीन दिनपछि फेला पर्दा सिरानचोक गाउँपालिका २ थालाजुङ ज्यामिरेकी अनिता बरामको परिवारमा सोमबार खुसीको सीमा छैन । पिरले ब्याकुल परिवारका सदस्य यतिबेला कुरा गर्दागर्दै खुसीको आँसु खसाल्छन् ।

भीरमा भेटिए बालक

टुकुटुकु हिँड्न थालेका सन्देश बराम गत शनिबार बिहान करिब ८ बजेदेखि बेपत्ता थिए । आँगनमा खेल्दै गरेको दूधे बालक अचानक हराएपछि गाउँमा हल्लाखल्ला मच्चिएको थियो । घरपरिवार र गाउँले मिलेर नजिकका सम्भावित सबै ठाउँमा खोजी गरेका थिए ।


‘कतै फेला नपरेपछि प्रहरीलाई खबर गर्‍यौं,’ छिमेकी सन्तबहादुर बरामले भने, ‘तीन दिनपछि घरभन्दा ३ किलोमिटर पूर्वपट्टिको खारपाखा भन्ने जंगलको भीरमा बच्चा भेट्यौं ।’ सोमबार दिउँसो करिब १ बजेतिर जंगलमा गोठालो गएका प्रेम ढकालले बच्चा भीरको रूखमा समाएर बसिरहेको अवस्थामा देखेपछि गाउँलेलेलाई खबर गरेका थिए । बालक देखेपछि गाउँलेहरू भेला भएर भीरबाट उद्घार गरेको सन्तबहादुरले बताए ।


‘घिस्रिएर हिँडेर होला काँडाले जीउभरि कोतरेको चोट लागेको रहेछ,’ उनले भने, ‘बच्चा भेटेपछि तीन दिनदेखि होसहवास उडेको आमाले रुँदै दूध खुवाइन् । परिवार खुसी छन्, हामी गाउँलेलाई पनि खुसी लागेको छ ।’


बालक बाहिर आफ्नै सुरमा खेलिरहँदा उनका परिवारजनले हराएको पत्तो पाएका थिएनन् । खेल्दै हिँड्दा बाटो भुलेर बालक जंगल पुगेको हुनसक्ने स्थानीयको अनुमान छ । ‘भीर मुन्तिर रहेछ, त्यतातिर ध्यानै गएन,’ उनले भने, ‘बच्चा फेला पर्दा गाउँलेहरू सबैले हर्षका आँसु खसाले ।’


बच्चा बस्ती नजिकै रहेको शंकामा गाउँले खोजी गर्दागर्दै पनि नभेट्दा निराश भएका थिए । ‘फेसबुकबाट पनि बच्चा हरायो भनेर प्रचार गर्‍यौं,’ सन्तबहादुरले भने, ‘एफएमबाट पनि सूचना बजायौं । गाउँतिर जताततै खोज्यौं ।’ बालक हराएको जानकारी पाएपछि प्रहरीले पनि खोजी गरिरहेको थियो । प्रहरी नायब उपरीक्षक महेन्द्र नेपाल बालक सकुशल फेला परेपछि परिवारको जिम्मा लगाइएको बताए ।

प्रकाशित : भाद्र ६, २०७५ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?