मुद्दा दर्तामा फूल अबिर

पुरुषले अदालतमा आएर सम्बन्धविच्छेदको मुद्दा दिएको पहिलो उदाहरण

बागलुङ — अदालतमा झगडियाहरू जाने गर्छन् । उनीहरूको मुद्दा फैसला हुँदा हार–जित हुन्छ । तर, पहिलोपटक मुद्दा लिएर गएका पक्षलाई अदालतले फूल, अबिरले स्वागत गरेको छ ।

मुद्दा दर्तामा फूल अबिर

मुलुकी देवानी संहिता र फौजदारी संहिता लागू भएपछिको पहिलो मुद्दा परेकाले मंगलबार जिल्ला अदालतमा सार्वजनिक कार्यक्रम गरेर जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डित र स्रेस्तेदार रामबहादुर थापा क्षत्रीलगायतले मुद्दाका पक्षलाई स्वागत गरेका हुन् ।


नयाँ संहिताबारे केही अन्योल रहेकाले कानुनव्यवसायी अलमलमा परेका छन् । साउन मसान्तमा धेरै मुद्दा दर्ता भएर पुराना कानुनअनुसार चलेका केही मुद्दाबाहेक ४ दिनसम्म मुद्दा परेका थिएनन् ।


बागलुङ नगरपालिका ८ सिगानाका ३८ वर्षीय जितबहादुर थापाले श्रीमती यमुनाविरुद्ध सम्बन्धविच्छेदको मुद्दा दिएका हुन् । नयाँ मुलुकी देवानी संहिताको दफा ११९ अनुसार यो मुद्दा दर्ता भएको अधिवक्ता राम शर्माले बताए । वैदेशिक रोजगारीबाट फर्केर मनमुटाव भएपछि थापाले श्रीमतीविरुद्ध सम्बन्धविच्छेदको मुद्दा दिएका हुन् ।


पुरुषले अदालतमा आएर सम्बन्धविच्छेदको मुद्दा दिएको अहिलेसम्मकै पहिलो उदाहरण भएको स्रेस्तेदार रामबहादुर थापाक्षत्रीले बताए । ‘यस्ता मुद्दा आएका थिएनन्,’ उनले भने, ‘अहिलेको नयाँ संहितामा पनि यो पहिलो मुद्दा भएको छ ।’ यसअघि मुद्दा लिएर आएपछि तत्काल सम्बन्धविच्छेद गराउन सक्ने प्रावधान थियो ।


संहिताले एक वर्षसम्म अदालतमा रहेपछि मात्र विच्छेद हुने प्रावधान राखिएकाले मुद्दाको किनारा लाग्न भने समय लाग्नेछ ।


जिल्ला अदालतमा मंगलबारै चेक अनादर मुद्दा पनि दर्ता भएको छ । बागलुङ नगरपालिका २ का व्यवसायी उमेश केसीले अनादर मुद्दा दायर गरेका हुन् । ५ लाख रुपैयाँको कारोबार गरेका पोखराका सरोज गौतमले भुक्तानीका लागि दिएको चेक पैसा नभएको खाताको थियो । बैंकिङ कसुरका रूपमा मनिने यो मुद्दा तत्कालीन प्रधान न्यायाधीश कल्याण श्रेष्ठ रहँदा सर्वोच्च अदालतले चेक अनादर मुद्दामा फौजदारी कसुर सरह कारबाही गर्ने नजिर बसालेको छ । यो मुद्दालाई अधिवक्ता भूमिश्वर गौतमले लेखेका थिए ।

प्रकाशित : भाद्र ६, २०७५ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?