२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

सम्बन्धविच्छेदका मुद्दा बढे

नयाँ मुलुकी संहिता लागू भएपछि पुरुषहरुद्धारा सम्बन्धविच्छेदको माग गर्दै मुद्दा दर्ता

पर्वत — नयाँ मुलुकी संहिता लागू भएपछि पर्वत जिल्ला अदालतमा दैनिकजसो सम्बन्धविच्छेदका मुद्दा दर्ता हुने क्रम बढेको छ ।

सम्बन्धविच्छेदका मुद्दा बढे

देवानी ऐनको परिच्छेद ३ मा रहेको सम्बन्धविच्छेदसम्बन्धी व्यवस्थाको दफा ९४ ले दिएको अधिकार प्रयोग गर्दै पर्वतमा गत शुक्रबारदेखि बुधबारसम्म ५ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका हुन् । सबै मुद्दा पुरुषले श्रीमतीसँग सम्बन्धविच्छेद गरिपाऊँ भनी दर्ता गराएका हुन् ।

पर्वत जिल्ला अदालतले बुधबार पत्रकार सम्मेलन गर्दै नयाँ ऐन कार्यान्वयनमा आएको दिनदेखि दैनिकजसो एउटा मुद्दा दर्ता भएको जनाएको छ । न्यायाधीश सूर्यबहादुर थापाले नयाँ ऐनमा पुरुषले पनि मुद्दा दर्ता गर्न पाउने व्यवस्था भएपछि उनीहरू सम्बन्धविच्छेद गराउन आएको बताए । दफा ९४ को खण्ड ‘क’ को अधिकार प्रयोग गर्दै पुरुषहरू श्रीमतीसँग सम्बन्धविच्छेद गर्न माग गर्दै मुद्दा दर्ता गरेका हुन् ।

भदौ १ को पहिलो दिनमै श्रीमतीसँग सम्बन्धविच्छेदका लागि लालबहादुर पुनले मुद्दा दर्ता गराएका थिए भने त्यसको भोलिपल्ट समिप सुवेदीले त्यस्तै मुद्दा दिए । स्रेस्तेदार दयाराम पोखरेलका अनुसार शनिबार र आइतबार मुद्दा दर्ता भएका थिएनन् । पुन र सुवेदीसहित छविलाल नेपाली, गणेश अर्याल र मेखबहादुर कुँवरले सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेका छन् ।

अदालतले मुद्दा दर्ता गरे पनि छिनोफानो गर्न भने समय लाग्ने जनाइएको छ । मुलुकी देवानी (संहिता) ऐन आउनुभन्दा अगाडि महिलाले चाहे मात्रै सम्बन्धविच्छेद हुनसक्ने प्रावधान थियो । नयाँ संहिताअनुसार पुरुषले समेत श्रीमतीको सल्लाहबिना नै सम्बन्धविच्छेदको उजुरी दिनसक्ने व्यवस्था भएपछि अदालतमा यस्ता प्रकृतिका मुद्दा बढेको न्यायाधीश थापाले बताए । गत वर्ष सम्बन्धविच्छेदका मात्रै ८० मुद्दा दर्ता भएका थिए ।

सम्बन्धविच्छेद हुनेमा अधिकांश वैदेशिक रोजगारी, सामाजिक सञ्जाल र सूचनाको पहुँच र पारिवारिक बेमेललगायतका कारण छन् । घरेलु हिंसा पनि त्यसको कारण रहेको पाइएको अदालतले जनाएको छ । महिलाले मात्रै पुरुषको मञ्जुरीबिना सम्बन्धविच्छेद गर्नसक्ने व्यवस्थामा परिवर्तन भएपछि श्रीमान्–श्रीमतीबीचको मनमुटाव सम्बन्धविच्छेदको अवस्थामा पुग्न थालेको दर्ता भएका मुद्दाले पुष्टी गरेका छन् । हालसम्म दर्ता भएका मुद्दाको पेसी भने चढ्न बाँकी रहेको न्यायधीश थापाले जानकारी दिए ।

अदालतमा गत वर्ष देवानी र फौजदारी प्रकृतिका ३ सय ४० मुद्दा दर्ता भएकोमा २ सय ५८ फछ्र्याेट भएका छन् ।

प्रकाशित : भाद्र ७, २०७५ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?