२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भैरवस्थानमा पर्यटक बढ्दै

धार्मिक दृष्टिले मन्दिर क्षेत्र चिनिनुको साथै दर्जन हिमश्रृंखला देखिने भएकाले पुग्नेलाई मनमोहक लाग्छ

बागलुङ — प्रसिद्ध कोटको रूपमा पूजा गरिने भैरवस्थान मन्दिर धार्मिक पर्यटक गन्तव्यको रूपमा विकास भएको छ । बागलुङ नगरपालिकाका १० देखि १४ नम्बरसम्मका पाँचवटा वडा र जैमिनी नगरक्षेत्रको संयुक्त कोटको रूपमा पुजिने यहाँ छिमेकी जिल्लाबाट पनि श्रद्धालु पुग्ने गर्छन् ।

भैरवस्थानमा पर्यटक बढ्दै

पैयुँपाटा, अमलाचौर, नारायणस्थान, भकुन्डे, रायडाँडा, कुश्मीसेरा र दमेकलगायतका गाविसको कोटको रूपमा भैरवस्थान चिनिएको छ । प्रत्येक साताको मंगलबार र शनिबार पुग्नेको घुइँचो हुन्छ । धार्मिक दृष्टिले मन्दिर क्षेत्र चिनिएको त छँदैछ, यहाँबाट दर्जन हिमश्रृंखला देखिने भएकाले घुम्न पुग्नेलाई मनमोहक रहेको भैरवस्थान व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्रबहादुर थापाले बताए ।

‘पूजा गर्न मात्रै होइन घुमघामका लागि पनि आउने थुप्रै हुन्छन्,’ उनले भने, ‘गुरुयोजना बनाएर निर्माणको कामसमेत थालिएकाले अब यहाँ आइपुग्नेहरू पहिलेभन्दा बढेका छन् ।’ भैरवको पूजा गर्दा आँटेताकेको पुग्छ भन्ने जनविश्वास छ । भैरवको भाकल गरेर पूजा गर्न जाने चलन पनि छ ।

बागलुङ, पर्वत र म्याग्दीका अधिकांश बासिन्दा भैरवस्थानबारे परिचित छन् भने स्याङ्जा र कास्कीबाट पनि श्रद्धालु पुग्न थालेका छन् । विशेष पर्व र तिथिमा मन्दिरमा पूजा गर्न लामो लाइनमा बस्नुपर्छ । अन्य दिनमा पनि झन्डै सयजनाका दरले पूजा गर्न पुग्ने गरेको वडाध्यक्ष गुरुदत्त पाठकले बताए ।

बडादसैं, चैतेदसैंलगायतका समयमा दैनिक भक्तजनको भीड लाग्छ । यो मन्दिरको मूर्ति छोपिएको र गडेको अवस्थामा रहेको छ भने तामाको छाना छाइएकाले यो मन्दिरको ऐतिहासिक महत्त्व रहेको पाइन्छ । विसं १७८९ मा चौबीसे राज्यअन्तर्गत पर्वते राजाको नियन्त्रणमा यो स्थान रहेको किंवदन्ती पाइन्छ । मन्दिरमा तत्कालीन राजाहरूको भनिने खड्ग र त्रिशूल छ ।

भैरवस्थानबाट होमस्टे सञ्चालनमा आएको भकुन्डेगाउँ नजिकै भएकाले घुमेर बास बस्न जानेहरू पनि छन् । व्यवस्थापन समितिले पनि पुनर्निर्माण गरेर मन्दिर क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा चिनाउन १५ करोड ३१ लाख ५० हजार रुपैयाँ लागतको गुरुयोजनासहितको काम थालेको छ । मन्दिर डाँडामा भएकाले खानेपानी व्यवस्थापन, बलि दिने स्थान र फोहोर व्यवस्थापनको भने चुनौती छ ।

गुरुयोजनामा पानीको स्रोतसमेत खोजेर सरसफाइ र आकर्षक पार्क बनाउने उल्लेख छ । खेलमैदान, पोखरी र फूलबारीलगायतको निर्माण गरिने डिजाइन गुरुयोजनामा छ ।

‘आन्तरिक र बाहिरी पर्यटक भित्र्याउन यो गुरुयोजना सहयोगी बन्नेछ,’ अध्यक्ष थापाले भने, ‘धमाधम काम भएकाले केही समयमै यसको महत्त्व अझै बढेर जानेछ ।’ छिमेकी पर्वतको कुश्माबजारदेखि केबुलकार बनाएर भैरवस्थान जाने बनाउनसमेत व्यवसायीले छलफल थालेका छन् ।

पछिल्ला केही वर्षदेखि बागलुङ र पर्वतका उद्योग वाणिज्य संघले पनि भैरवस्थानलाई केन्द्र मानेर विकास निर्माण र पर्यटकीय क्रियाकलापका काम थालेका छन् । कुश्मा बलेवा यन्त्रिक पुलले पनि यो मन्दिर जानेलाई सहज बनाएको छ । गुरुयोजना पूरा गर्न भने समितिले पुरातत्त्व विभाग र पर्यटन बोर्डमा पनि सहयोग माग गरेको छ ।

प्रकाशित : भाद्र ७, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?