शिक्षक लगतको खोजी

शिक्षक सरुवा र नियुक्तिको लगत पठाउन सबै स्थानीय तहलाई शिक्षा विकास तथा समन्वय इकाइद्वारा पत्राचार
प्रकाश बराल

बागलुङ — शैक्षिक सत्र सुरुसँगै स्थानीय तहले धमाधम शिक्षक नियुक्ति र बढुवा गरेका छन् । शिक्षकको लगत शिक्षा विकास तथा समन्वय इकाइमा नआउँदा सेवा प्रमाणित हुन सकेको छैन ।

गत वैशाखमा इकाइ प्रमुख कुश्मराज उपाध्यायले केही विद्यालयमा प्रक्रिया नपुर्‍याई शिक्षक नियुक्ति गरिएकोमा रोकेका थिए । नियुक्ति र बढुवा भएकोमा लगत नआउँदा सेवा प्रमाणित नभएको प्रमुख उपाध्यायले बताए । ‘पेन्सनका लागि पठाउने रेकर्ड फरक पर्‍यो भने शिक्षकले पछि दु:ख पाउनेछन्,’ उनले भने, ‘कानुन नबन्दै अधिकारको लडाइँले यो समस्या आयो ।’

यस्तो समस्या आएपछि गत साता जिल्ला शिक्षा समितिको बैठक बसेर सबै तहमा केन्द्रीय सर्कुलरसहितको पत्राचार गरिएको छ । बैठकले शिक्षक पदपूर्तिको विज्ञापन खोल्ने निर्णय पनि गरेको जिल्ला शिक्षा समितिका अध्यक्ष राजेन्द्र ढुंगानाले बताए । यसअघि शिक्षक सरुवा र नियुक्ति गरेको भए लगत पठाउन सबै स्थानीय तहलाई पत्राचार गरिएको हो ।

Yamaha

वैशाखदेखि स्थानीय तहले शिक्षक सरुवा, नियुक्ति र बढुवासमेत गरेको सूचना आएपछि समितिले तत्काल लगत पेस गर्न भनेको हो । साथै नियुक्ति र बढुवाको अधिकार शिक्षा विकास तथा समन्वय इकाइमै रहेको छ ।

शिक्षा मन्त्रालय र विभाग स्तरीय शिक्षा तथा मानव स्रोत विकास केन्द्रले परिपत्र गरेर शिक्षक नियुक्ति र सरुवा इकाइबाटै गर्ने भनेपछि समितिले पत्राचार गरेको ढुंगानाले बताए । ‘रेकर्ड राख्ने, सेवा प्रमाणित गर्ने र बढुवासमेतको काम जिल्लाबाटै हुने नियम छ,’ उनले भने, ‘अधिकार नपाउँदै स्थानीय तहले धमाधम काम गरेकाले पछि अप्ठ्यारो नपरोस् भनेर पत्राचार गरेका छौं ।’ रेकर्ड नभेटिएमा नियुक्ति, सरुवा र बढुवा भएका शिक्षकले पेन्सन नपाउन सक्ने उनले बताए ।

संघीयता कार्यान्वयनसँगै शिक्षाको जिम्मेवारी पनि स्थानीय तहमा दिइएको छ । तर, यसका लागि संघीय र प्रदेश कानुन बन्नै बाँकी छन् । यसले विद्यालय तहको शिक्षक नियुक्ति बढी पेचिलो बनेको छ । ‘हालसम्म कानुन नबनेकाले साबिककै कानुनले काम गर्ने हो,’ इकाइ प्रमुख उपाध्यायले भने, ‘धेरै शिक्षकको लगत अलपत्र बन्ने अवस्था सुरु भइकेको छ ।’ ऐननियम खारेज नभएकाले स्थानीय तहले मनोमानी गर्दा अप्ठ्यारो पर्ने उनले दाबी गरे । केही समयअघि स्थानीय तहले शिक्षा नियमावली बनाएका छन् । उक्त नियमावलीअनुसार शिक्षक सरुवाको कामसमेत थालेका हुन् । तर, उनीहरूले त्यससम्बन्धी लगत हालसम्म इकाइमा पठाएका छैनन् ।

स्थानीय तहले बनाएका नियमावली प्रदेश कानुन आइसकेपछि मात्र लागू हुने जिशिस अध्यक्ष ढुंगाना बताउँछन् । ‘संविधानमै संघीय र प्रदेश कानुनसँग बाझिएमा स्वत: खारेज हुने भनिएको छ,’ उनले भने, ‘साबिककै शिक्षा ऐन हुँदाहुँदै स्थानीय नियमावली लागू हुँदैन ।’ पटकपटक आएका केन्द्रीय सर्कुलर र स्थानीयको बल मिच्याइँले शिक्षकको लगतमा समस्या पर्ने उनले बताए । ‘स्पष्ट रूपमा समन्वय इकाइले गर्ने भनेको कामलाई सुरुवात गर्ने निर्णय गरेका हौं,’ उनले भने ।

इकाइ र स्थानीय तहको अधिकार लडाइँले केही विद्यालयलाई भने मर्का परेको छ । लामो समयदेखि गणित र विज्ञान शिक्षक खाली भएकाले समितिले शिक्षक पदपूर्तिको विज्ञापन गर्ने निर्णय गरेको ढुंगानाले बताए । अधिकारको लडाइँले विद्यार्थीले भने शिक्षक पाउन सकेका छैनन् ।

यसअघि सरुवा हुन चाहेका शिक्षकलाई नगरले अनुमति नदिएपछि रोकिएको थियो । नगर प्रमुख जनकराज पौडेलले भने नगरपालिकाको सहमति चाहिने भए पनि इकाइले बेवास्ता गरेको आरोप लगाएका छन् ।

अन्य जिल्लामा पनि इकाइबाटै सरुवा गर्ने र लगत राख्ने काम भएको इकाइ प्रमुख उपाध्यायको दाबी छ । नगरपालिकामा हालसम्म रेकर्ड राख्ने प्रावधान नभएको र मन्त्रालयले इकाइमै रेकर्ड राख्न निर्देशन दिएकाले बुझाइमा एकरूपता ल्याउन नसकिएको उनले टिप्पणी गरे ।

Esewa Pasal

प्रकाशित : भाद्र ८, २०७५ ०८:५७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सीपले आत्मनिर्भर

कान्तिपुर संवाददाता

कास्की — महिलाको क्षमता र सीप अभिवृद्धिका लागि तालिम थुप्रै चलाइन्छन् । तालिमको उपयोग गरेर कतिपय महिलाले जीविकोपार्जन गरिरहेका छन् । पोखराको न्युरोडमा तीन वर्षदेखि सञ्चालित सिलाइकटाइ तालिम पनि गरिखानेका लागि उपयोगी बनेको छ ।

पोखराको न्यूरोडमा सिलाइकटाइको तालिम लिँदै महिला । तस्बिर : बिना थापा

आर्थिक अवस्था कमजोर भएका दलित महिलालाई लक्ष्य गर्दै दलित जिल्ला समन्वय तालिम केन्द्र व्यवस्था समिति कास्कीले तीन वर्षदेखि सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ । यहाँ आई तालिम लिएर गएका धेरैले सीपलाई व्यवहारमा उतारेका छन् । ‘हामीसँग ६ वटा मात्रै मेसिन छन् । त्यसैले एकै लटमा धेरैलाई सिकाउन सकिँदैन,’ प्रशिक्षक रूपा नेपालीले भनिन्, ‘जतिले सिकेर गए, ती सबैजसोले गरेर खाएका छन् ।’ सिकेको सीपलाई व्यवहारमा उतारेका महिलाको आर्थिक स्थितिमा परिवर्तन आएको उनले बताइन् ।

कपडाभन्दा सिलाइको ज्याला महँगो अनुभव भएपछि तालिम लिन आइपुगेकी उषा नेपालीलाई सिलाइकटाइ व्यवसाय गर्न मन छ । ‘हातमा सीप भए आफ्नै पौरखले गरिखान सकिन्छ,’ उनले भनिन्, ‘सिकेर गएकाहरूले आफैं मेसिन राखेर काम गरेको देखेपछि मलाई पनि रहर लागेको छ ।’

घरमा त्यसै बस्नुभन्दा सीप सिकेर आम्दानी गर्नसके घरखर्चलाई सजिलो हुने बुझेर तालिम लिन आएको अर्की प्रशिक्षार्थी पस्र्याङकी देवी नेपालीले बताइन् । ‘दुई छोरा पढाउन डेरामा बसेका छौं,’ उनले भनिन्, ‘तालिम लिन थालेपछि अलि–अलि लुगा सिलाउन जान्दा पनि ज्याला जोगिएको अनुभव हुन थालेको छ ।’ सीप सिकेर महिलाले आम्दानी गर्दा घरखर्च चलाउन सजिलो हुने उनको भनाइ छ ।

आफ्नो परिवारलाई आवश्यक पर्ने कपडा मात्रै सिलाउन सके पनि धेरै पैसा बचत हुने भएकाले तालिम लिन आएको दुर्गा सुनारले बताइन् । ‘सपि सिके समय सदुपयोग र पकेट खर्च उठाउन सकिन्छ,’ उनले भनिन्, ‘धेरैजनाले सिलाइकटाइ सिकेर आफ्नै टेलरिङको काम गरेको देख्दा रहर लागेको छ ।’

‘सामान्य फाटेको कपडा रफु गरेको देखि कोट, पाइन्ट सिलाएको ज्याला २०, ५० देखि ५ हजारसम्म छ,’ प्रशिक्षक नेपालीले भनिन्, ‘त्यसैले सीप सिकेर धेरैजना आत्मनिर्भर हुनुभएको छ ।’ सामान्य लेखपढ जानेकाले पनि सिक्न सक्ने भएकाले टेलरिङको काम महिलाले रुचाएको उनले बताइन् । ‘म पनि तालिम लिएर काम गर्दै सिकाउने भएकी हुँ,’ उनले भनिन्, ‘यहाँ तालिम लिएमध्येका ९० प्रतिशत आफैं टेलरिङ खोलेर व्यवसायी हुनुभएको छ ।’ प्रशिक्षण केन्द्रमा सीमित संख्यामा मेसिन भएकाले २५ जनालाई दुई समूह बनाएर प्रशिक्षण दिने गरिएको उनले बताइन् । ‘सीप सिकेपछि आफूले लगानी गर्नसक्नेले आफैं टेलरिङ खोल्दा हुन्छ,’ उनले भनिन्, ‘लगानी गर्न नसक्नेले अरूकहाँ काम गर्दा पनि हुन्छ, हातमा सीप हुनेले खाली बस्नु पर्दैन ।’

तालिमको आयोजना र व्यवस्थापन गरिरहेको समितिका जिल्ला अध्यक्ष दुर्गाबहादुर सुनारका अनुसार टेलरिङको काम सिक्न चाहने महिलाको संख्या नघटेको बताउँछन् । ‘हालसम्म दुई सय जनाले तालिम लिनुभो, अधिकांश आत्मनिर्भर हुनुभएको पाएका छौं,’ उनले भने, ‘महानगरपालिकाले पनि सघाएपछि हामी यो तालिमलाई निरन्तरता दिइरहेका छौं ।’

प्रकाशित : भाद्र ८, २०७५ ०८:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT