कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सीपले आत्मनिर्भर

कास्की — महिलाको क्षमता र सीप अभिवृद्धिका लागि तालिम थुप्रै चलाइन्छन् । तालिमको उपयोग गरेर कतिपय महिलाले जीविकोपार्जन गरिरहेका छन् । पोखराको न्युरोडमा तीन वर्षदेखि सञ्चालित सिलाइकटाइ तालिम पनि गरिखानेका लागि उपयोगी बनेको छ ।

सीपले आत्मनिर्भर

आर्थिक अवस्था कमजोर भएका दलित महिलालाई लक्ष्य गर्दै दलित जिल्ला समन्वय तालिम केन्द्र व्यवस्था समिति कास्कीले तीन वर्षदेखि सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ । यहाँ आई तालिम लिएर गएका धेरैले सीपलाई व्यवहारमा उतारेका छन् । ‘हामीसँग ६ वटा मात्रै मेसिन छन् । त्यसैले एकै लटमा धेरैलाई सिकाउन सकिँदैन,’ प्रशिक्षक रूपा नेपालीले भनिन्, ‘जतिले सिकेर गए, ती सबैजसोले गरेर खाएका छन् ।’ सिकेको सीपलाई व्यवहारमा उतारेका महिलाको आर्थिक स्थितिमा परिवर्तन आएको उनले बताइन् ।

कपडाभन्दा सिलाइको ज्याला महँगो अनुभव भएपछि तालिम लिन आइपुगेकी उषा नेपालीलाई सिलाइकटाइ व्यवसाय गर्न मन छ । ‘हातमा सीप भए आफ्नै पौरखले गरिखान सकिन्छ,’ उनले भनिन्, ‘सिकेर गएकाहरूले आफैं मेसिन राखेर काम गरेको देखेपछि मलाई पनि रहर लागेको छ ।’

घरमा त्यसै बस्नुभन्दा सीप सिकेर आम्दानी गर्नसके घरखर्चलाई सजिलो हुने बुझेर तालिम लिन आएको अर्की प्रशिक्षार्थी पस्र्याङकी देवी नेपालीले बताइन् । ‘दुई छोरा पढाउन डेरामा बसेका छौं,’ उनले भनिन्, ‘तालिम लिन थालेपछि अलि–अलि लुगा सिलाउन जान्दा पनि ज्याला जोगिएको अनुभव हुन थालेको छ ।’ सीप सिकेर महिलाले आम्दानी गर्दा घरखर्च चलाउन सजिलो हुने उनको भनाइ छ ।

आफ्नो परिवारलाई आवश्यक पर्ने कपडा मात्रै सिलाउन सके पनि धेरै पैसा बचत हुने भएकाले तालिम लिन आएको दुर्गा सुनारले बताइन् । ‘सपि सिके समय सदुपयोग र पकेट खर्च उठाउन सकिन्छ,’ उनले भनिन्, ‘धेरैजनाले सिलाइकटाइ सिकेर आफ्नै टेलरिङको काम गरेको देख्दा रहर लागेको छ ।’

‘सामान्य फाटेको कपडा रफु गरेको देखि कोट, पाइन्ट सिलाएको ज्याला २०, ५० देखि ५ हजारसम्म छ,’ प्रशिक्षक नेपालीले भनिन्, ‘त्यसैले सीप सिकेर धेरैजना आत्मनिर्भर हुनुभएको छ ।’ सामान्य लेखपढ जानेकाले पनि सिक्न सक्ने भएकाले टेलरिङको काम महिलाले रुचाएको उनले बताइन् । ‘म पनि तालिम लिएर काम गर्दै सिकाउने भएकी हुँ,’ उनले भनिन्, ‘यहाँ तालिम लिएमध्येका ९० प्रतिशत आफैं टेलरिङ खोलेर व्यवसायी हुनुभएको छ ।’ प्रशिक्षण केन्द्रमा सीमित संख्यामा मेसिन भएकाले २५ जनालाई दुई समूह बनाएर प्रशिक्षण दिने गरिएको उनले बताइन् । ‘सीप सिकेपछि आफूले लगानी गर्नसक्नेले आफैं टेलरिङ खोल्दा हुन्छ,’ उनले भनिन्, ‘लगानी गर्न नसक्नेले अरूकहाँ काम गर्दा पनि हुन्छ, हातमा सीप हुनेले खाली बस्नु पर्दैन ।’

तालिमको आयोजना र व्यवस्थापन गरिरहेको समितिका जिल्ला अध्यक्ष दुर्गाबहादुर सुनारका अनुसार टेलरिङको काम सिक्न चाहने महिलाको संख्या नघटेको बताउँछन् । ‘हालसम्म दुई सय जनाले तालिम लिनुभो, अधिकांश आत्मनिर्भर हुनुभएको पाएका छौं,’ उनले भने, ‘महानगरपालिकाले पनि सघाएपछि हामी यो तालिमलाई निरन्तरता दिइरहेका छौं ।’

प्रकाशित : भाद्र ८, २०७५ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?