१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

जथाभावी करले असन्तुष्टि

चालु आर्थिक वर्ष नगरपालिकाले १५ प्रकारका शीर्षकमा कर बढायो
जन्म प्रमाणित, नाता प्रमाणित, मृत्यु सिफारिस, नागरिकताको सिफारिसजस्ता शीर्षकमा २ सयदेखि ४ सयसम्म कर

बागलुङ — बागलुङ नगरपालिकाले गत आर्थिक वर्षको पुसमा व्यवसाय कर बढाएको थियो । व्यवसायीको विरोधपछि केही प्रतिशत घटायो ।

जथाभावी करले असन्तुष्टि

समायोजन गर्दा पनि शतप्रतिशतदेखि ४ सय प्रतिशतभन्दा बढी कर तिर्नुपरेको गुनासो व्यवसायीले गर्दै आएका थिए । चालु आर्थिक वर्षको साउन १ मा राजपत्र प्रकाशित गरिएको छ । राजपत्रमा प्रकाशित मूल्यलाई भदौ ७ मा सूचना जारी गरेर घटाएको दाबी गरेको छ ।

अघिल्लो वर्षको प्रस्तावित दरमा घटाएको भनेर प्रचार गरेपछि व्यवसायी आक्रोशित भएका छन् । ‘पटकपटक कर घटाउन आग्रह गरेका थियौं । भ्रम पर्नेगरी तिरिरहेको करलाई घटाएको प्रचार गरियो,’ बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले भने, ‘व्यवसायीको ढाड सेकेर कर घटाएको भन्दै गलत प्रचार भएको छ ।’ अघिल्लो वर्ष बढाएको दरलाई घटेको भन्ने प्रचारले व्यवसायी थप आक्रोशित भएका हुन् ।

व्यवसायीले तिरिरहेको करलाई लोकप्रियताका लागि घटाएको प्रचार भएको उनीहरूको आरोप छ । ‘हामीले कर तिरिरहेका छौं, नगरपालिकाले घटाएको भन्छ,’ स्थानीय टीकाराम खड्काले भने, ‘व्यवसायीको ढाड सेकेर गलत प्रचारबाजी भएको छ ।’ राजपत्रमा दैनिक उपभोग्य सामग्रीको थोक पसल भएमा ५ हजार ५ सय रुपैयाँ कर लगाउने उल्लेख छ । यो रकम अघिल्लो वर्ष पनि व्यवसायीले तिरिसकेका थिए । त्यस्तै मासुपसलमा २ हजार रुपैयाँ कर लगाइएको थियो । नगरपालिकाले ३ हजारबाट घटाएर २ हजार बनाएको विज्ञप्ति प्रकाशित गरेको समेत उनले बताए ।

नगर प्रमुख जनकराज पौडेलले भने अघिल्लो वर्षको तुलतामा कर घटाएको दाबी गरेका छन् । ‘घरबहाल करलगायतमा सस्तो बनाएका छौं,’ उनले भने, ‘व्यवसायीलाई सहज हुने गरी काम गरेकोमा कर बढाएको हल्ला फैलाइयो ।’ १२ प्रतिशतको घर बहाल करलाई ६ प्रतिशत झारेको दाबी उनले गरे । व्यवसायीले भने राजस्व परामर्श समितिको बैठकको म्यान्डेटविपरीत कर बढाएको आरोप लगाएका हुन् ।

‘समितिको बैठकमा कुनै एजेन्डामा सहमति भइसकेपछि कागज टाँसेर निर्णय लेखियो,’ भारीले भने, ‘प्रगतिशील कर संकलन गर्ने काममा सहमति दिएका छौं, छलकपटबाट लिन खोजेकाले विरोध गर्नु परेको हो ।’ वस्तुगत संघहरू करबाट बढी पीडित भएको समेत उनले बताए । व्यवसायीले एकीकृत सम्पत्ति कर, घरबहाल कर, व्यावसायिक कर फरक शीर्षकमा नगरपालिकालाई तिर्नुपरेको गुनासो गरे ।

चालु आर्थिक वर्ष नगरपालिकाले १५ प्रकारका शीर्षकमा भने कर बढाएको बताएको छ । थोक बिक्रेता, कृषि फलफूल सप्लायर्स, किराना, कलरल्याब, मदिरा बिक्री, ग्रिल उद्योग, फेन्सीलगायतमा कर बढाएको हो । ती व्यवसायमा गत पुसको तुलनामा ५० प्रतिशतसम्म कर बढाइएको हो । कृषितर्फ फलफूल तथा सप्लायर्सका लागि भने यसअघि २ हजार ५ सय कर लाग्ने गरेकोमा यो वर्ष १० हजार पुर्‍याइएको हो ।

बिहीबार विज्ञप्ति प्रकाशित गरेर नगपालिकाले पञ्जीकरणलगायतका केही शीर्षकमा भने कर हटाएको जनाएको छ । जन्म, मृत्यु, विवाह, बसाइँसराइलगायतका व्यक्तिगत घटना दर्ता नि:शुल्क रहेको विज्ञप्तिमा उल्लेख छ । जन्म प्रमाणित, नाता प्रमाणित, मृत्यु सिफारिस, नागरिकताको सिफारिस जस्ता शीर्षकमा भने २ सयदेखि ४ सय रुपैयाँसम्म कर तोकिएको छ ।

प्रकाशित : भाद्र ९, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?