कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

१ विद्यार्थी, ४ शिक्षक

आश गुरुङ

नासों (मनाङ) — मनाङको एउटा स्कुलमा एक जना मात्रै विद्यार्थी छन् । कक्षा ५ सम्म रहेको उक्त स्कुलमा ४ शिक्षक छन् । तल्लो मनाङस्थित नासों गाउँपालिका ९ दानाक्युमा रहेको ज्ञानोदय आधारभूत विद्यालयमा स्थानीयका कुनै पनि बालबालिका पढ्दैनन् ।

१ विद्यार्थी, ४ शिक्षक

विद्यालयका प्रधानाध्यापक विष्णु घलेले वडा नं ८ को ताचैबाट आफ्ना भाइकी छोरी कञ्चन घलेलाई ल्याएर स्कुलमा पढाएका हुन् । १३ वर्षकी उनी कक्षा ४ मा पढ्छिन् । सिंगो दानाक्यु गाउँमा २०/२५ घर छन् । तर, स्थानीय विद्यार्थी भने नरहेको घलेले बताए । उनका अनुसार कक्षा १, २, ३ र ५ खाली छ ।

विद्यालयमा एक मात्रै विद्यार्थीेलाई पढाउँदै शिक्षक । तस्बिर: आश

एकजना विद्यार्थीलाई पढाउन खटिने ४ शिक्षक सरकारी दरबन्दीका हुन् । एकजना बराबर मासिक २२ हजार रुपैयाँ र दुर्गमभत्ता कम्तीमा ५ हजार गरी एकजना शिक्षकले मासिक २७ हजार रुपैयाँ लिन्छन् । उक्त विद्यालयको हकमा एकजना विद्यार्थी पढाउन सरकारले मासिक १ लाख ८ हजारभन्दा बढी र वार्षिक करिब १३ लाख रुपैयाँ लगानी गरेको छ ।

घलेका अनुसार गत वर्ष ४ जना विद्यार्थी थिए । १ मा थिएन । अरूमा १/१ जना थिए । कक्षा २ मा पढ्ने विद्यार्थी अभिभावकसँगै चामे गए । कक्षा ४ का विद्यार्थीले छाडे । कक्षा ५ का विद्यार्थी पास भएर अन्यत्रै गए । कक्षा ३ का विद्यार्थी पास भएर ४ मा गएका हुन् । तिनै विद्यार्थी हुन् कञ्चन । जो ताचै घर भएर पनि घलेले आफैंसँग राखेर पढाएका छन् । ‘भाइकी छोरी पनि नभए त स्कुल शून्य नै हुन्थ्यो । स्कुलमा एकजना विद्यार्थी त हुनै पर्‍यो । अनि यहीं पढाएको हुँ,’ उनले भने ।

बालशिक्षामा ४ बालबालिका छन् । उनीहरूलाई मीनकाशी गुरुङले पढाउँछन् । कार्यालय सहयोगी ङैटु कर्म लामा छन् । घले, शिक्षक पूर्णजंग गुरुङ, डिलकाशी गुरुङ र तेजकुमारी गुरुङ कञ्चनलाई पढाउँछन् । ०४६ सालमा विद्यालय स्थापना हुँदा २५ विद्यार्थी थिए ।

०५० बाट उक्त स्कुलमै स्थायी भएका घलेका अनुसार ०६० सालतिर १५ विद्यार्थी थिए । ‘आफ्ना बच्चा काठमाडौं पठाउँछन्, सहर पढाउँछन् । कता–कता बोर्डिङमा राख्छन् । यहाँ ल्याउनु भन्दा मान्दैनन् । हामीले केही गर्न सकेनौं,’ उनले दु:खेसो पोखे ।

प्रकाशित : भाद्र ९, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?