कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कुकुर गणना गर्दै गाउँपालिका

दीपक परियार

लेखनाथ — देशभरि कति कुकुर होलान् ? यसको कुनै लेखाजोखा छैन । कास्कीको अन्नपूर्ण गाउँपालिकाले भने कुकुरको तथ्यांक राख्न सुरु गरेको छ । गाउँपालिकाले मंगलबारदेखि सुरु गरेको पशु गणनामा कुकुर पनि समावेश गरेको हो ।

कुकुर गणना गर्दै गाउँपालिका

पशु बिमा गर्ने उद्देश्यले गणना सुरु गरेको भए पनि कुकुरको भने बिमा हुने छैन । गाईं, भैंसी, राँगा, खसी, बोका, बाख्रा, कुखुरा र हाँसलगायत घरपालुवा पशुपन्छीको बिमा हुन्छ । गाउँपालिकाले ११ वडामा एक/एक जनाका दरले गणक खटाएको छ । भदौ २१ सम्म गणना गरिसक्ने लक्ष्य छ ।

गाउँपालिका अध्यक्ष युवराज कुँवर घरपालुवा जनावर कति छन् भन्ने तथ्यांक पत्ता लगाउन कुकुरको गणना गरिरहेको बताउँछन् । ‘कति कुकुरलाई रेबिजविरुद्धको खोप लगाउनुपर्ने छ भन्ने पनि पत्ता लाग्छ,’ उनले भने, ‘खोप नलगाएकालाई लगाउँछौं ।’ लेकका भेंडीगोठमा राखिने कुकुरलाई खोप लगाउने चलन निकै कम भएकाले तिनलाई विशेष प्राथमिकतामा राखिने उनले बताए । ‘विशेषगरी गाउँमा अन्नबालीलाई बाँदरबाट बचाउन कुकुर पाल्ने चलन छ,’ उनले भने, ‘पर्यटकीय क्षेत्र र पदमार्गमा पनि खोप नलगाई कुकुर पाल्न निरुत्साहित गर्छौं ।’ कुकुरको टोकाइबाट हुने रेबिज रोगको जोखिम कम गर्न यसले मद्धत पुग्ने उनको विश्वास छ ।

गाउँपालिकाले पशुसँगै कृषि गणना पनि सुरु गरेको छ । धान, मकै, कोदो, गहुँ, जौ, फापर, भट्मासलगायत अन्नबालीको वार्षिक उत्पादन कति हुन्छ भन्ने रेकर्ड गाउँपालिकाले राख्नेछ । ती बालीको पनि बिमा गर्ने गाउँपालिका अध्यक्ष कुँवरले बताए । तरकारीबाली, फलफूल खेतीको पनि बिमा गर्ने उद्देश्यले गणना भइरहेको छ । ‘कसको घरमा कति फलफूलका बोट छन् भन्ने पनि अब हामीले तथ्यांक राख्न सुरु गरेका छौं,’ उनले भने । कृषकलाई हौसला प्रदान गरी उत्पादकत्व वृद्धि गर्नु बिमाको उद्देश्य भएको उनले सुनाए । ‘अहिले कृषि बिमा के हो भन्ने धरैलाई थाहा छैन,’ उनले भने, ‘बिमाबारे जानकारी गराएर जोखिम न्यूनीकरण गराउन सके उत्पादन स्वत: बढ्छ ।’

पशु र कृषि बिमा गर्न गाउँपालिकाले आइतबार राष्ट्रिय बिमा कम्पनी लिमिटेडसँग सम्झौता गरिसकेको छ । सरकारले पाँच वर्षअघि कृषि बिमा कार्यक्रम ल्याए पनि कमै किसान जानकार छन् । सरकारले सुरुमा बिमाको प्रिमियमको ५० प्रतिशत सरकारले तिरे पनि पछिल्लो समय यसलाई बढाएर ७५ प्रतिशत पुर्‍याएको छ ।

प्रकाशित : भाद्र ९, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?