पढाइ छाड्दै किशोरी

विद्यालयमा विद्यार्थी संख्या घट्नुमा बालविवाह र सानैदेखि मजदुरी गर्न थाल्ने चलन
खाने, बस्ने ठेगान नभएका बालबालिका विद्यालयमा नियमित भएनन्
प्रकाश बराल

बागलुङ — घरमा आमा एक्लै । उनले मेलापात र पशु चरनको काम भ्याउन गाह्रो परेपछि सघाउनका लागि रचना घर्तीले गत जेठबाट पढ्न जान छाडिन् । ढोरपाटन ७ बोबाङस्थित ज्ञानोदय माविमा उनी ७ कक्षामा पढथिन् ।

बागलुङको ढोरपाटन ७ बोबाङका बालबालिका मेलापातमा जाँदै । तस्बिर : प्रकाश बराल

ढोरपाटन आरक्षको क्षेत्रतर्फ लेकमा चराउन पशु लिएर गएपछि महिनौं उतै बस्ने र जाडो मौसम लागेपछि गाउँ झर्ने धेरै परिवारको दैनिकी छ । यस्तै परिवार रचनाको पनि हो । चरनका लागि पशु लिएर उक्लनेहरू लेकमा आलु खेती गर्छन् । गाउँ झर्दा तल्लो भेगमा गहुँ लगाउँछन् । वर्षभरि खाने प्राय: त्यही हो । भात खानुपर्दा बुर्तिबाङबाट चामल किनेर लैजानुपर्छ ।

खाने–बस्ने ठेगान पनि नभएपछि घर्तीजस्ता थुप्रै बालबालिका विद्यालयमा नियमित छैनन् । गाउँलेको लेक–बेंसीको दैनिकी बुझेको भएर उनीहरू कता गए, किन आएनन् भन्ने खोजी विद्यालयले पनि गर्दैन । ६/७ कक्षा पढदा पढदै छाड्ने छात्रामध्ये धेरैलाई पछि भेटदा विवाह गरेको पाइने शिक्षकहरू बताउँछन् ।

Yamaha

‘१३ दखि १४ वर्षको उमेर पुगेपछि काम गर्न सक्ने भए । अब स्कुल आउनेहरू घटिरहन्छन्,’ शिक्षक होममाया अदैले भनिन्, ‘कतिपयले विवाह गरेर पढाइ छाडेका छन्, कतिपयले घरधन्दा सघाउन छाड्छन् ।’ जेहेन्दार केही विद्यार्थी आउन छाडदा शिक्षकलाई पनि नरमाइलो लाग्छ । त्यस्ता कतिपयको सोधीखोजी गर्दा बिहे गरेर गएको खबर पाइने गरेको उनले बताइन । ‘४/५ वर्ष अघिको तुलनामा विद्यालय उमेरमा विवाह गर्ने दर अहिले अलि घटेको छ तर, पढदा पढदै छाड्ने दर उस्तै छ,’ उनले भनिन्, ‘बस्ने खाने टुंगो नहुँदा बालबालिकाले विद्यालयस्तरकै शिक्षा पुरा गर्न पाएका छैनन् ।’

विद्यालयमा बिद्यार्थी संख्या घट्नुमा बालविवाह र सानैदेखि मजदुरी गर्न थाल्ने चलन कारण रहेकोमा प्रधानाध्यापक यामबहादुर कायत पनि सहमत छन् । ‘पहिला जस्तो विकराल समस्या त छैन तर, हामीले रोकेर रोकिदैंन,’ उनले भने, ‘अझै चेतना स्तर बढ्न नसक्दा बीचमै कक्षा छाड्ने दर घट्न सकेन ।’ यसपटक पनि गत बैशाखयता मजदुरी, घरधन्दाका लागि र विवाह गरेर कक्षा छाड्नेको संख्या उल्लेख्य भइसकेको उनले बताए ।

कक्षा २ मा पढ्ने हितन बिक र बिसाल बिकले अभिभावकसँगै बसाइँ सर्दा पढ्न आउन छाडेका छन् । ‘पहिला पहिला बच्चा च्यापेरै पनि स्कुल आउनेहरू हुन्थे । अहिले विवाह गरेर पढाई छाड्छन्,’ शिक्षक अदैले भनिन्, ‘अझै हामीले सानो उमेरको विवाह रोक्न सकेनौं ।’ नयाँ मुलुकी संहिताले २० बर्षको उमेरमा मात्र बिवाह गर्ने कानूनी व्यवस्था गरेको छ । यहाँ कानुनी र व्यावहारिक चेतनाका समेत अभाव भएको उनले बताइन् । अभिभावक मेलापात गएपछि पढ्न कर लगाउने कोही नहुनुले बालबालिकाको कक्षामा जाने बानी छुट्छ ।

केही बालबालिकाले अभिभावकसँगै खेतीपातीमा जानुपरेकाले पढाइ छुटेको गुनासो पनि गर्छन् । पढ्ने चाहना भएर पनि नियमित बन्न नसकेको दु:खेसो गर्ने पनि छन् । ‘ढोरपाटन जाने आउने गर्दा धेरै दिन पढाइ छुटेको छ,’ कक्षा ९ की छात्रा भगीमला विकले भनिन्, ‘काम नगरे खान पुग्दैन । त्यसैले स्कुलमा रेगुलर हुन सकेका छैनौं ।’ सँगैका केही साथीले विवाह गरेर पढाइ छाडेको उनले बताइन् । केहीले भने मजदुरी र मेलापात गर्नुपर्दा छाडेको बताएका छन् । बिककी साथी समीक्षाले कक्षा ८ पढ्दापढ्दै विवाह गरेर पढाइ छाडेको बताइन् । समुना घर्तीले छोरा जन्माएकाले कक्षा ७ मै पढाइ छाडेकी थिइन् ।

बालविवाह रोक्न चेतना फैलाउने यहाँ कुनै कार्यक्रम नभएको शिक्षकहरू बताउँछन् । ‘हामीले भनेको भन्दा अधिकारको क्षेत्रमा काम गर्नेहरूले आएर साक्षरता अभियान सञ्चालन गरिदिए बालविवाह रोकिन्थ्यो,’ शिक्षक अदैले भनिन्, ‘अभिभावकमा शिक्षाको कमी भएपछि परिवारमा त्यसको प्रभाव पर्ने रहेछ ।’ बाल्यावस्थामै हुने विवाहले पर्ने शारीरिक, मानसिक र समाजिक असर बारे बृहत चेतनामूलक कार्यक्रम आवश्यक रहेको उनले बताइन् ।

विपन्न र दलितको घना बस्ती भएकाले ती क्षेत्रमा साक्षरतासहित आर्थिक समृद्धिको कार्यक्रम सँगै लगेर मात्र समस्या निराकरण हुने ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेल बताउँछन् । ‘यो सामाजिक मात्र नभई आर्थिक कारणले पनि रहेको समस्या हो,’ उनले भने, ‘अभिभावकले पढाउने लेखाउने भन्दा बच्चा हुर्केपछि विवाह गरेर जाउन भन्ने चाहना राखेपछि यस्तो समस्या भएको हो ।’

शिक्षा विकास तथा समन्वय इकाइको तथ्यांकमा चालु शैक्षिक सत्रमा जिल्लाका २ सय ५० बालबालिकाले बीचैमा पढाइ छाडेका छन् । यसरी छाड्नेमा ढोरपाटन क्षेत्रका बिद्यार्थीको संख्या अधिक छ । केही बजार क्षेत्रका मजदुर परिवारका बालबालिका छन् । चाहेर पनि त्यतिनै संख्यामा बालबालिका विद्यालय भर्ना समेत गराउन नसकिएको इकाइ प्रमुख कुश्मराज उपाध्यायले बताए ।

प्रकाशित : भाद्र ११, २०७५ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

उपभोक्ताको घरदैलोमै किसान

प्रकाश बराल

बागलुङ — सदरमुकाम नजिकैको पावरहाउसका देवीप्रसाद जैसी दैनिक तरकारी बोकेर बजार पुग्छन् । दुई घण्टामा डोकोभरिको तरकारी बेचेर घरको काम भ्याउन फर्कन्छन् । जैसीकै जस्तो दैनिकी नारायणप्रसाद शर्मा र नरबहादुर थापाको पनि छ ।

शर्माले दैनिक१२ लिटर दूध र माछा बिक्री गर्छन् भने थापाले ताजा तरकारी फलाउँछन् ।

यसरी दैनिक डोकोमा बोकेर सीधै उपभोक्ताको दैलोमा पुर्‍याउँदा उनले बिचौलियाको समस्या भोग्नुपरेको छैन । बजारमा ९० रुपैयाँ लिटर पर्ने दूध शर्माले ७० रुपैयाँमा घरमै पुर्‍याएपछि नगद हात पार्न सफल छन् । किसानले दैनिक आफैंले बजारमा कृषि फसल पठाउँदा उपभोक्ताले तुलनात्मक कम मूल्यमा तरकारी खान पाएका छन् । यहाँका सबै किसान स्थानीय भने होइनन् । कृषि पेसाकै लागि बागलुङ नगरपालिका ३ को गौंडाकोट, पावरहाउस र मूलपानीमा आएर बसेका हुन् । उनीहरूले जग्गा भाडामा लिएर वार्षिक ४ लाखदेखि १० लाख रुपैयाँ कमाउन सफल भएको बताए ।

पैयुँथन्थापदेखि झरेका गंगाबहादुर थापाले १५ वर्षअघिदेखि थालेको कृषि पेसालाई पछयाएर यहाँका यतिधेरै किसानहरू संगठित भएका हुन् । उनीहरूमध्ये धेरैले ताजा तरकारी लगाएका छन् । ३० जनाले व्यावसायिक दूध उत्पादन गर्छन् । ४ जना किसानले बंगुर पालेका छन् । १० जनाले कुखुरा पालेका छन् । ५ जनाले कन्ये च्याउ उत्पादन गर्छन् । केहीले केरा खेती गरेका छन् भने अधिकांश किसानले रायो साग, मुला, घिरौंला, करेला र वर्षे तरकारी गरेर कमाइ गरिरहेको थापाले बताए ।

हरेक दिन यहाँका ८० देखि १ सयजना किसानले डोकोमै बोकेर फसल बजार पुर्‍याउँछन् । नगरभित्रकै कुँडुले, तित्याङ, भकुन्डे र रायडाँडाका किसानले फलाएको उत्पादनले दैनिक कुल मागको ८० प्रतिशत माग धानेका छन् । बाँकी २० प्रतिशत तरकारी तराईबाट आउने गरेको वरिष्ठ कृषि विकास अधिकृत दिनेश आचार्यले बताए ।

सुक्खा मौसममा भने बागलुङ बजारको मागको झन्डै ४० प्रतिशतभन्दा बढी तरकारी बाहिरबाटै भित्रिन्छ । दूध, कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनाउन पशु सेवा कार्यालयले केही वर्षदेखि प्रयास गरिरहेको छ । सुक्खा मौसममा दूध पनि १० देखि १५ प्रतिशत पुग्दैन । अण्डा र कुखुराको मासु छिटफुटबाहेक बाहिरबाट नआउने गरी किसानले उत्पादन थालेका छन् ।

उत्पादनलाई सहजै बजार पठाउन सकिने यातायातको व्यवस्थापन भएमा किसानले मागलाई धान्न सक्ने थापा दाबी गर्छन् । ‘हामीले अहिले सम्म बिचौलियाको सास्ती खेपेका छैनौं,’ थापाले भने ।

नगरपालिकाले बिक्री केन्द्र बनाएर न्यूनतम भाडामा सटर राख्ने व्यवस्था गरिदिएमा तरकारी र दूधमा सिन्डिकेट अन्त्य गर्ने उनले दाबी पनि गरे । अहिले बागलुङ बजारमा बिहुँ, भीमापोखरा, पाला, मूलपानी, मालिका र बलेवा क्षेत्रबाट आएको दूधले बजारको माग धानेको छ । चाडपर्व र सुक्खा मौसममा छिटफुट रूपमा पोखरादेखि दूध आउने गरेको छ । दशकअघिदेखि किसानले कृषि उपज संकलन केन्द्रको माग गरेपनि बन्न सकेको छैन ।

प्रकाशित : भाद्र १०, २०७५ ०८:४४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT