कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

वर्षको ४ महिनामात्रै तलब !

तनहुँको भानु नगरस्थित भानु जन्मस्थल विकास समितिका चार कर्मचारीले ०६४ सालदेखि वर्षमा एउटा चौमासिकको मात्र तलब पाउँदै
प्रताप रानामगर

दमौली — तलब २/४ महिना ढिला आए कर्मचारी–कामदार विकल्पको खोजी गर्छन् । अझ वर्षमा चार महिनाको मात्रै तलब पाइने भए कसले त्यस्तो जागिर खाँदो होला ।

वर्षको ४ महिनामात्रै तलब !

तनहुँको भानु नगरमा रहेको भानु जन्मस्थल विकास समिति चार कर्मचारीले न विकल्प खोजेका छन्, न त कतै तलबका लागि धर्ना–जुलुस नै गरेका छन् ।

‘०६४ साल अगाडिसम्म त नियमित तलब पाउने गरेका थियौं,’ खरिदार शिवभक्त रानाभाटले भने, ‘अहिले वर्षमा एउटा चौमासिकको मात्र तलब पाएका छौं ।’ ११ वर्षदेखि तलब अनियमित भएपछि घरव्यवहार धान्न गाह्रो परेको उनले बताए । समितिको कार्यालयले नियुक्त गरेर नियमित तलब नपाउनेहरूमा दुई कार्यालय सहयोगी, एक/एकजना खरिदार र नायव सुब्बा छन् ।

‘वर्षेनी आठ महिनाको तलब बाँकी हुने गरेको छ,’ रानाभाटले भने, ‘घरपायकको जागरि पाइयो भनेर काम गर्न थालिहालियो । आशैआशमा बसेका छौं ।’ ०७४ असार सम्मको तलबको मात्रै आफ्नो ९ लाख रुपैयाँ बक्यौता रहेको उनले बताए । ‘तलब आएपछि दिन्छु भन्दै ऋण लिएर घरव्यवहार चलाउनु परेको छ,’ उनले भने, ‘अब त ऋण पनि पत्याउन छाडिकसके ।’ बााँकी तलव पाए जागिरबाट निस्कन परे पनि निस्कौं जस्तो भइसकेको उनले बताए ।

तलब नपाउँदा कार्यालय सहयोगी सम्शेर र शम्भुलाल घर्तीको अवस्था पनि दयनीय छ । दुवै जनाको तलबको ७ लाख ५० हजार रुपैयाँ बक्यौता छ । ‘आउला, पाइहालिएला भन्ने आशले जागिर गर्दागर्दै यतिका वर्ष तलव बिना काम गर्न बाध्य भयौं,’ घतीले भने । तलव नपाएकै कारण नायबसुब्बा रामकुमार श्रेष्ठले जागिर नै छाडे । उनले समितिबाट पाउनुपर्ने तलबको ९ लाख ५० हजार रुपैयाँ बक्यौता छ ।

विकास समितिलाई सरकारले पर्याप्त बजेट विनियोजन नगरेको उनले बताए । ‘चालु शीर्षकमा बर्सेनि ५ लाख रुपैयाँका दरले बजेट आउने गरेको थियो,’ उनले भने, ‘प्रशासनिक काम, भानु जयन्ती खर्च, कर्मचारी तलब गर्दा सरकारबाट विनियोजित त्यो रकमले केही हुँदैन ।’ सीमित बजेट पठाएर त्यसैले समितिको काम र कर्मचारीले तलव पनि खानुपर्ने भएकाले कहिल्यै पुग्ने अवस्था भएन । ‘कर्मचारीको माग सम्बोधन नभएपछि जागिर छाडें,’ उनले भने ।

पूर्वकार्यकारी निर्देशकहरूको समेत तलव बाँकी रहेको समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले बताए । ‘मेरो पनि ५ लाख ९५ हजार रुपैयाँ तलब बाँकी छ,’ उनले भने । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कर्मचारीको तलब माग गर्दा विकास समिति मातहतको कर्मचारीलाई व्यवस्था गर्न नसिकने भनेर फर्काउने गरिएको उनले बताए । कर्मचारी नियुक्त गर्दा विकास समितिले आफूसँग स्वीकृति नलिएको तर्क मन्त्रालयका कर्मचारीको हुने गरेको छ ।

कार्यकारी निर्देशक रानाभाटका अनुसार भानु जन्मस्थल विकास समितिमा कर्मचारी दरबन्दी संघीय सरकारले कायम गरेको हो । आठजना कर्मचारीको दरबन्दी कायम गरेको उनले बताए । ‘कार्यालय सहयोगी दुई, खरिदार र नायब सुब्बा गरी तत्काल चार जनालाई दरबन्दीमा पदपूर्ति गर्ने र बाँकी आवश्यकअनुसार गर्ने निर्णय गरेको हुनाले त्यहीअनुसार समिति चलेको हो,’ उनले भने ।

देवघाट पनि अन्योलमा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका गठित मुलुकभरका नौवटा विकास समितिमध्ये भानु जन्मस्थल र देवघाट क्षेत्र विकास समिति तनहुँमा पर्छ । संघीय व्यवस्थापछि सरकारले निर्णयमा ढिलाइ गर्दा समिति अन्योलमा रहेको देवघाटका अध्यक्ष टंकनाथ पौडेलले बताए । ‘कर्मचारीको तलब र व्यवस्थापन एउटा विषय हो तर अब विकास समितिलाई संघ, प्रदेश वा स्थानीय तह कसले हेर्ने भन्नेमै अन्योल छ,’ उनले भने, ‘संघीय सरकारले निर्णय गर्न ढिलाइ गरेकाले नियमित बजेटको निकासा पनि रोकिएको छ ।’

गुरुयोजना तयार पारेर बृहत्तर विकासको योजनामा काम थाल्नुपर्ने बेला सरकारले अनिर्णयको बन्दी बनाएको गुनासो उनको छ । ‘म अहिले पनि पर्यटनमन्त्री, उच्चपदस्थ नेता र जिल्लाका सांसदलाई काठमाडौं आएर हारगुहार गरिरहेको छु,’ उनले फोनमा भने, ‘गुरुयोजनाअनुसार हाम्रो समितिको क्षेत्र ३, ४ र ५ नम्बर प्रदेशमा फैलिएको छ । प्रदेश र स्थानीय तहले जिम्मेवारी लिए भने योजना अघि बढाउन सकिने अवस्था छैन । संघीय सरकार अझै के गर्ने भन्नेमा प्रष्ट भएन ।’

देवघाटमा एक दर्जन कर्मचारी छन् । कार्यालय सञ्चालन र कर्मचारीको तलबमा वार्षिक खर्च २७ लाख हाराहारी छ । गुरुयोजनाकै लागि पर्याप्त बजेट नपठाएको सरकारले नियमित कार्यालय सञ्चालनको पनि बजेट नपठाएपछि यतिबेला कर्मचारी अन्योलमा छन् ।

प्रकाशित : भाद्र ११, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?