कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रोजगारी दिँदै घरेलु उद्योग

पर्वत — दुई वर्षअघि ढिकीजाँतो हस्तकला उद्योग दर्ता गरेका जलजला ८ लस्तीका दीपेश केसीको उद्योगमा हाल ६ जनाले रोजगारी पाएका छन् । केसी र उनकी श्रीमतीसहित उद्योगमा अरू चारजना युवाले नियमित रोजगारी पाएका हुन् ।

रोजगारी दिँदै घरेलु उद्योग

घरेलु तथा साना उद्योग विकास समितिमा अघिल्लो वर्ष सिलाइकटाइ उद्योग दर्ता गरेका देवीलाल परियारले कुश्मा बजारमा तीनजनालाई रोजगारी दिएका छन् । घरेलुमै होजियारी उद्योग दर्ता गरेकी फलेवास ४ की अनुपा सापकोटाको उद्योगमा हाल दुईजना उद्यमी भएका छन् । घरेलु उद्योग दर्ता गरेका धेरैले सीप सिकेपछि आफैं व्यवसाय गर्ने तरखरमा लागेका हुन् ।

पछिल्लो समय सीप सिकेर रोजगारमूलक व्यवसायमा लाग्ने तन्नेरीको संख्या बढदो छ । अघिल्लो आर्थिक वर्षमा करिब हजार जना नयाँ व्यवसायमा लागेको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले जनाएको छ । पछिल्ला केही वर्षयता कार्यालयमा सौन्दर्य, सिलाइकटाइ, हस्तकला र कृषिजन्य प्रकृतिका उद्योग दर्ता गर्ने क्रम बढेको छ । गत वर्ष घरेलु तथा साना उद्योगमार्फत ८ सय ३२ उद्योग दर्ता भएका छन् । उद्योग, वाणिज्य, कृषि, पशुपालन, उत्पादनमूलक र पर्यटनसम्बन्धी उद्योगमध्ये ४ सय ४३ पुरुष र ३ सय ८९ उद्योग महिलाका नाममा दर्ता भएको कार्यालयले जनाएको छ ।

प्रमुख उद्योग अधिकृत विष्णुप्रसाद न्यौपानेका अनुसार कतिपय उद्यमीले वैदेशिक रोजगारीका क्रममा सिकेको सीप र आर्जन गरेको पुँजी यहाँ लगानी गरेका छन् । लस्तीमा टायरबाट सजावटका सामग्री बनाउँदै आएका युवा दीपेशले उद्यमको सीप जापानमा सिकेका हुन् । ‘जापानमा पढ्न गएका बेला पुराना टायरबाट आकर्षक घर सजावटका सामान बनाएको देखें,’ उनले भन्, ‘त्यहाँ केही समय सिक्ने अवसर पाएको थिएँ । फर्केर त्यही काम गर्ने सोचले यहाँ आएँ ।’

फलेवास ४ की मनुकुमारी दर्जीले करिब तीन वर्ष सिलाइकटाइ सिकेपछि गाउँमै आफ्नो व्यवसाय चलाएकी छन् । उनले अघिल्लो वर्ष घरेलुमा दर्ता गरेको व्यवसायमा हाल आफूसहित चार जनालाई रोजगारी मिलेको छ । ‘अहिले धेरैलाई आधुनिक डिजाइन चाहिएको छ,’ उनले भनिन्, ‘काम गर्न सके हातखाली हुँदैन । कमाइ रामै्र छ ।’

घरेलुका सूचना अधिकारी टेकनाथ पराजुलीका अनुसार गत वर्ष वाणिज्यतर्फ २ सय ४२ उद्योग दर्ता भएका छन् । घरेलुमार्फत पुराना उद्योग नवीकरण हुने संख्या ३ सय ४१ छ । उद्योगतर्फ ३ सय २० दर्ता भएका छन् । २ सय २ नवीकरण भएका छन् । कृषि र पशुपालनतर्फ १ सय ९, उत्पादनमूलक ६६, पर्यटन सम्बन्धित ७२, सेवामूलक ७२ र विज्ञान तथा सूचना प्रविधितर्फ एउटा उद्योग दर्ता भएको छ । घरेलुमा उद्योग दर्ताबाट ३२ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

जसमध्ये वाणिज्य तर्फका उद्योग दर्ता गरेवापत १९ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन भएको हो । उद्योगतर्फका उद्योग दर्ता गरेबापत १३ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । दर्ता गरेर सीपमूलक व्यावसायिक उद्योगलाई अनुदानमा सामग्रीसमेत वितरण गरिएको उद्योग अधिकृत विष्णु न्यौपानेले बताए । उनका अनुसार उद्योग दर्ता गरी व्यवसाय चलाएका ४२ जनालाई अघिल्लो वर्ष विभिन्न उपकरण सहयोग गरिएको थियो । उनले ८० प्रतिशत अनुदानमा प्रविधि वितरण गरिएको बताए ।

प्रकाशित : भाद्र ११, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?