२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

सिस्टम ह्याकको हैरानी

घटनाको छानबिन गर्न एकजना कर्मचारी पक्राउ परेका छन् भने शंकास्पद २ जना फरार छन्
भीम घिमिरे

पोखरा — अनधिकृत व्यक्ति पसेर परीक्षा शाखामा इन्जियिरिङतर्फको सफ्टवेयर सिस्टम ह्याक गरेपछि पोखरा विश्वविद्यालयलाई स्नातक तहको परीक्षा सञ्चालनमा चुनौती भएको छ ।

सिस्टम ह्याकको हैरानी

विश्वविद्यालयको पोखराको ढुंगेपाटनस्थित केन्द्रीय कार्यालय परिसरमा रहेको परीक्षा नियन्त्रण कार्यालयको गोप्य कक्षमा गत मंगलबार साँझ साढे ७ बजे पसेका दुईजनाले आन्तरिक सफ्टवेयर सिस्टम ह्याक गरेका हुन् । घटना छाबिनका लागि विश्वविद्यालयले प्रहरीलाई उजुरी गरेपछि बिहीबार एकजना कर्मचारी पक्राउ परेका छन् भने शंकास्पद दुईजना फरार छन् ।

‘बुधबार बिहान नियमित काममा कर्मचारी आउँदा शाखाको दुईवटा कम्प्युटर पासवर्डबिनै खुलेपछि शंका भयो,’ परीक्षा नियन्त्रक डा. भरतराम ढुंगानाले भने, ‘त्यसपछि हामीले सिस्टम चेक गर्‍यौं, चलेन । अनि कसैले ह्याक गरेको थाहा भयो ।’ त्यसपछि सीसीटीभी फुटेज चेक गर्दा अनधिकृत व्यक्तिले बेलुकी १ घण्टा १५ मिनेट भित्र बसेर सिस्टममा छेडखानी गरेको देखिएपछि आकस्मिक बैठक बसेर प्रहरीलाई छानबिनका लागि अनुरोध गरेको उनले बताए । ‘इन्टर्नल सिस्टमको पासवर्ड चेन्ज गरेको पाइयो,’ उनले भने, ‘उनीहरूले के–के बिगारे भन्ने अझै सबै थाहा भइसकेको छैन ।’

सीसीटीभी फुटेजमा विश्वविद्यालयकै अन्य शाखाका दुई कर्मचारी परीक्षाको गोप्य कक्षमा पसेको देखिएको छ । शाखाका गार्डले फिता लिएर आएका कर्मचारीले ‘भित्र पार्टेसन गर्नका लागि नाप्नु छ, खोल्नुस्’ भनेपछि खोलिदिएको बताएका छन् ।

गोप्य कक्षको चारवटा कम्प्युटरमा छेडखानी गरिएको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी) ले हार्डडिस्कहरू शुक्रबार अनुसन्धानका लागि लगेको छ । सिस्टम ह्याक गरिएको भनिएका हार्डडिस्कमा आगामी साता परीक्षामा सामेल हुने १० हजार परीक्षार्थी र हालसम्म विश्वविद्यालयका इन्जिनियरिङतर्फका करिब ३० हजार विद्यार्थीको मार्कसिट र प्रश्नपत्र लगायत अभिलेख छन् ।

सबैको डिजिटल ब्याकअप र प्रिन्ट कपी भने सुरक्षित रहेको दाबी आईसीटी शाखा प्रमुख उदयराज ढुंगानाले गरे । ‘विद्यार्थी र अभिभावकले आत्तिनु पर्दैन, हामी अभिलेख सुरक्षित राख्छौं,’ उनले भने, ‘घटना गम्भीर भएकाले यसको छानबिनमा हामी सबैले प्रहरीलाई सघाएका छौं ।’

घटनाको विषयमा शुक्रबार विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले गोप्य अभिलेखमाथि अनधिकृत व्यक्ति पसेर छेडखानी गरेको भए पनि ‘ब्याक–अप’ सुरक्षित रहेको दाबी गरेको छ । विश्वविद्यालयका विद्यार्थी संगठनहरूले गम्भीर घटना भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । इन्जिनियरिङका कम नम्बर ल्याएकाहरूको अंक बढाउन डिजिटल सिस्टममाथि छेडखानी गरेको हुनसक्ने विद्यार्थी संगठनहरूको शंका छ । घटनापछि परीक्षाको तयारीमा रहेका विद्यार्थीहरू पनि तनावमा छन् ।

विद्यार्थीका अगुवाहरूसँग शुक्रबार चरण– चरणमा बैठक गरेको, परीक्षा नियन्त्रण कार्यालयले दोषीलाई नछाडिने र अभिलेख सुरक्षित रहने प्रतिबद्धता जनाएको छ । आगामी सातादेखि हुने परीक्षाको प्रश्नपत्रसमेत ह्याक भएपछि परीक्षा शाखाले नयाँ प्रश्नपत्र बनाउने तयारी सुरु भएको जनाएको छ ।

प्रकाशित : भाद्र ११, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?