सरसफाइमा जनप्रतिनिधि

बेसींसहरको नगर सफाइमा महिनाको पहिलो र दोस्रो शुक्रबार जनप्रतिनिधि र कर्मचारी सँगसँगै लाग्दै

लमजुङ — बेंसीसहरको नगर सरसफाइमा हिजोआज जनप्रतिनिधि र कर्मचारी मिलेका छन् । समूहमा आबद्ध महिला उपस्थित भए पनि पुरुष भने न्यून संख्याम मात्रै सडकमा देखिन्छन् ।

सरसफाइमा जनप्रतिनिधि

जनप्रतिनिधि अघि–अघि र कर्मचारी पछि–पछि भएर सडक सरसफाइमा जुटेका छन् । जनप्रतिनिधि नहुँदा कर्मचारीले नगरको सरसफाइ अभियान सञ्चालन गर्ने गरेका थिए । निर्वाचित हुनुअघि तिनै जनप्रतिनिधि कर्मचारीले गरेको सरसफाइ टुलुटुलु हेर्थे । अहिले भने कर्मचारीभन्दा जनप्रतिनिधि सरसफाइमा अघि सरेका छन् ।

कर्मचारी, प्रहरी र सेनाको सहभागितामूलक सरसफाइको नेतृत्व अहिले स्थानीय तहले गर्न थालेको छ । बेंसीसहर नगरपालिकाले महिनाको पहिलो र दोस्रो शुक्रबार सरसफाइ अभियान थालेको छ । यसमा प्रमुख र उपप्रमुखसहित कार्यालयका कर्मचारी स्वयं उपस्थित हुनेछन् । यस्तै, प्रमुख जिल्ला अधिकारीसहित कार्यालयका प्रमुख तथा कर्मचारी पनि उपस्थित हुने भएको छ । प्रहरीलाई पनि परिचालन गरिएको छ । अघिअघि देखिएको जनप्रतिनिधिको लाइनमा प्रदेश सांसद मधुमाया अधिकारी पनि थिइन् ।

सुरुका दिनमा नगर प्रमुख गुमानसिंह अर्यालको नेतृत्वमा नगर सरसफाइ सुरु भएको थियो । पछि त्यो अभियानले सार्थकता पाउन सकेन । दिवसीय कार्यक्रममा कर्मचारीले नगर सफा गर्थे । अन्य समय हुने थिएन । ‘अहिले हामी निर्णय गरेर नै महिनाको २ पटक, हरेक शुक्रबार बिहान नगर सरसफाइ गर्नेतर्फ लाग्यौं । यस क्रममा सरसफाइ मात्रै नभई सडक अतिक्रमण गरी राखिएका व्यापारिक सामग्रीलाई पनि हटाएका छौं ।’

सरसफाइ अभियानको नेतृत्व लिएका उनले नागरिकमा सरसफाइप्रति सचेतना बढाउन पनि अभियान थालिएको बताए । ‘आफ्नै घरअगाडिको फोहोर व्यवस्थापन गर्ने, उल्टै फोहोर राखेर बजारका बदनाम गराउनेहरू छन् । यहींका भन्दा पनि बाहिरबाट आएर व्यवसाय सञ्चालन गरेकाहरू अटेरी छन्’ उनले भने ।

शुक्रबार बेंसीसहरको मनाङेचौताराबाट हातमा ग्लोब लगाएर कुचो लिई सरसफाइमा निस्केका जनप्रतिनिधि अघि–अघि र कर्मचारी पछिपछि सरसफाइ गरे । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले कर्मचारीले पिँढी र नालीको सफा गर्ने तर घरबेटी भने टुलुटुलु हेरिरहेको बताए । उनका अनुसार अहिले हरेक सरकारी कार्यालयमा दैनिक सरसफाइ हुने दाबी गरे । फूलबारी आमा समूहकी पूर्वअध्यक्ष राममाया रानाले नागरिकमा सचेतना नभएको वा अटेर गरेको पत्तै नपाएको बताइन् । ‘हामीले २०–३० बर्षदेखि टोलको सफाइ गर्दै आएका छौं । हामी मात्रै हो, कोही सफा गर्न आउँदैनन्’ उनले भनिन् ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका सदस्य रामकुमार श्रेष्ठले फोहोर व्यवस्थापनसम्बन्धी नीति नै ल्याउनुपर्ने बताए । ‘फोहोर फाल्नेलाई कारबाही गर्नेसम्मको नीति अवलम्बन गर्नुपर्ने देखिन्छ । मानवीय पहिचान भनेको फोहोर फाल्ने र फोहोर गर्ने होइन नि,’ उनले भने । बेंसीसहर नगरपालिकाले फोहोरबाट ऊर्जा निकाल्ने योजना अघि बढाएको प्रमुख अर्यालले बताए । ‘हामी फोहोरको व्यवस्थापनको लागि ऊर्जा निकाल्ने योजनामा छौं । अहिले परीक्षणको रूपमा कुहिने र नकुहिने वस्तुलाई छुट्याएर राख्न नगरवासीलाई ठूलाखाले बाल्टी बाँडेका छौं,’ उनले भने ।

प्रकाशित : भाद्र ११, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?