२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

थुप्रियो सिसाको फोहोर

घनश्याम खडका

म्याग्दी — बस्तीदेखि केही परको बारीमा घाँस काट्दै गर्दा अन्नपूर्ण गाउँपालिका ६ चित्रेका भक्तबहादुर पुनको खुट्टामा सिसा गाडियो । सिसाले काटेको घाउ पाक्यो, गाउँको ओखतीमुलोले निको भएन ।

थुप्रियो सिसाको फोहोर

उनी उपचारका लागि पोखरा पुगे । इन्फेक्सन भएको भन्दै चलेको लामो उपचारमा आफ्नो ५० हजार रुपैयाँ खर्च भएको उनले बताए । ‘बियरको बोतलको सिसा बिझेको थियो । बेच्नेले बेचे, पिउनेले पिए, मलाई व्यर्थै सास्ती,’ उनले भने, ‘सिसा जथाभावी फाल्नै हुँदैन, कसै न कसैलाई परिजान्छ ।’

बजार क्षेत्र मात्रै होइन, ग्रामीण र पदमार्गहरू सबैतिर बोतलबन्द बियर, मदिरा र पेय पदार्थ सर्वसुलभ छन् । बिक्रेता र उपभोक्ताले सेवनपछि बोतलको व्यवस्थापनमा ध्यान नपुर्‍याउँदा भक्तबहादुर जस्तो समस्या खेप्ने पनि थुप्रैजना छन् ।

बर्सेनि खेतबारी काम गर्दा वा वनमा घाँसदाउरा गर्दा सिसा गाडिएर घाइते हुनु सामान्य घटना मान्ने गरिएको भए पनि यसले गाउँलेको अतिरिक्त खर्च गराएको छ । अन्नपूर्ण पदमार्गमा आएका पर्यटकले खाएका बियर र मदिराका रित्ता बोटल व्यवस्थापन नहुँदा गाउँलेका बारी र वनजंगलमा पुगेका छन् । एउटाले सेवन गरेको अर्कोले बेचेर पैसा कमाएको मदिराको खाली बोतलबाट भने निर्दोष पीडित भइरहेका छन् ।

राउन्ड अन्नपूर्ण पदमार्गका बस्तीमा मात्र होइन जिल्लाका प्राय: सबै बस्तीमा बियर समेतका सिसाजन्य मदिराका बोतलको व्यवस्थापन समस्या भएका छन । गाउँगाउँ पुर्‍याइएका सिसा बोतलहरू यत्रतत्र फालिँदा फुटेर दुर्घटना मात्र निम्त्याएको छैन, पूरै बस्तीलाई प्रदूषण बढाएको छ ।

सडक सञ्जालमा जोडिएका सबै दुर्गम भेगका बस्ती मदिराका बोतल र चिसो पेयपदार्थ, पानीका बोतल, चाउचाउ, बिस्कुट र चकलेटका प्लाष्टिकजन्य फोहोरबाट बढी प्रदूषित भएका छन् । बस्ती तथा पदमार्गमा सिसाको बोतलको थुप्रो लाग्न थालेपछि पर्यटकीय बस्ती घोडेपानीका व्यवसायीले खाडलमा पुर्न थालेका छन् । सीसाका बोतल खच्चड तथा मान्छेले बोकेर पर्यटकीय बस्तीका होटलमा पुर्‍याइन्छ । नसड्ने तर बिक्री हुने भए पनि सिसा पुन: प्रयोगका लागि फिर्ता लैजाने व्यवस्था छैन ।

‘बियर र रक्सीका सिसाका बोतलले पर्यटकीय क्षेत्रमै फोहोर मात्रै होइन जोखमि नै बढाएपछि चारवटा ठूला खाडल बनाइ पुरेका छौं,’ अन्नपूर्ण गापा ६ घारका सचिव बाबुराम भट्टराईले भने, ‘बस्तीमा थुप्रो लागेका बोतल फुटेर खेतबारीमा पनि पुगेका छन् ।’ फोहोर र दुर्घटनाको जोखिम बढेपछि खाडल खनेर गाड्न सुरु गरिएको उनले बताए ।

पर्यटकीय बस्तीमा मात्र होइन माथिल्लो क्षेत्रका हिमाली पदमार्ग र बेस क्याम्पमा पनि सिसाजन्य पदार्थ समस्याका रूपमा छ । सिसा र टिनका बोतलहरूले हिमाली पर्यावरणमा पनि प्रभाव परिरहेको छ । धौलागिरि बेस क्याम्पलगायत अन्नपूर्ण, नीलगिरी र चुरेनसमेतका हिमाली क्षेत्रमा जथाभावी बोतल र क्यान फालिएको भेटिन्छ ।

प्रकाशित : भाद्र १२, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?