कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संरचना पुरानो, नाम नयाँ

दिप्ती सिलवाल

पर्वत — गत असारमा खारेजीमा परेको जिल्ला वन कार्यालयमा पुरानो बोर्ड फेरेर वन डिभिजन कार्यालय स्थापना भयो । त्यसैगरी कृषि ज्ञान केन्द्र र भू तथा जलाधार व्यवस्थापन कार्यालयको स्थापना भएको छ ।

संरचना पुरानो, नाम नयाँ

केन्द्र सरकार मातहतमा जिल्ला कार्यालयहरू खारेज भएको भनिएको महिना दिन नपुग्दै पुरानै संरचनामा नाम मात्रै फेरेर प्रदेश सरकार मातहत रहनेगरी धमाधम कार्यालय खुल्न थालेका छन् ।

संघीयतासँगै नयाँ संरचनामा बदलिएको मुलका तल्लो युनिटका इकाइहरू सञ्चालनमा सहजता ल्याउन स्थानीय र प्रदेश सरकारको भूमिका महत्त्वपूर्ण हुने भएकाले कार्यालयहरूको संरचना बदलिएको उद्योग पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालले बताए ।

सोमबार भू तथा जलाधार व्यवस्था कार्यालयको शुभारम्भ गर्न आएका मन्त्री लम्सालले अब जिल्ला–जिल्लामा खुलेका यी कार्यालयहरूको नियमन प्रदेश सरकारले गर्ने बताए । ‘हिजो स–सानो काम लिएर सिंहदरबार पुग्नुपथ्र्यो,’ उनले भने, ‘अब त्यस्तो रहेन । यहाँबाट एक–डेढ घण्टामै राजधानी पुग्न सकिन्छ । बाटा फराकिला छन् । काम गर्ने इच्छाशक्ति हुनुपर्‍यो ।’ मन्त्री लम्सालले यही १५ भदौभित्र प्रदेशका सबै संरचना हरेक जिल्लामा पुग्ने बताए । ‘अब सबै संरचना छिट्टै तयार हुनेछन्,’ उनले भने ।

सोमबार पर्वतमा स्थापना भएको भू तथा जलाधार व्यवस्था कार्यालयले कालीगण्डकी जलाधार क्षेत्रका ५ जिल्ला हेर्ने जिम्मेवारी पाएको छ । धौलागिरिका मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत र गण्डकी अञ्चलको स्याङ्जा कालीगण्डकी जलाधारक्षेत्रमा पर्ने जिल्ला हुन् ।

पर्वतको कार्यालयले यिनै कालीगण्डकी जलाधार क्षेत्रको जिम्मेवारी दिइएको मन्त्री लम्सालले बताए । एक उपसचिव र पाँच अधिकृतसहित १७ जना कर्मचारीको दरबन्दी रहेको कार्यालयले स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरेर काम गर्ने मन्त्री लम्सालले जानकारी दिए । गण्डकी प्रदेशका ११ जिल्लामा दुई जलाधार कार्यालय रहने निर्णयअनुसार तनहुँ र पर्वतमा स्थापना गरिएको उनले जानकारी दिए ।

पर्वतस्थित जलाधार कार्यालयले कुवापोखरी, विद्युतीय आयोजना, स्थानीयसँगको समन्वय, आकस्मिक पहिरो, नदी किनार, सडकसँग भू–संरक्षणलगायतका काम गर्नेछ । प्रदेश मन्त्रालयका सचिव डा. बुद्धिसागर पौडेलले पहिलाको भू–संरक्षण कार्यालयले जस्तो यो कार्यालयले झिनामसिना काम नगर्ने बताए । ‘भू–संरक्षण कार्यालय गएपछि स–साना पहिरो रोकथामका काम हुन्थे,’ उनले भने, ‘अब दुई–चार थान जाली बाँड्ने काम स्थानीय तहले गर्छन् । हामीले अति संवेदनशील जलाधार व्यवस्थापनको काम गर्ने हो ।’

उनका अनुसार संवेदनशील जलाधारअन्तर्गत ठूल्ठूला नदी किनारको रोकथाम, सहरी खानेपानी र सडकछेउको जमिनको रोकथाम पर्छ । त्यसबाहेक चार प (पहिरो, पोखरी, प्राकृतिक सिमाना र नदी किनारको पर्यावरण) मा मुख्य ध्यान दिइने उनले बताए ।

कार्यालयको संरचना बदलिए पनि कर्मचारी भने पुरानैलाई निरन्तरता दिइएको छ । जलाधार कार्यालयमा निमित्त वरिष्ठ जलाधार अधिकृत साबिक भू–संरक्षण अधिकृत रोबर्ट महरा कार्यरत छन् । वन डिभिजन प्रमुख साबिक जिल्ला वन कार्यालयका प्रमुख कृष्णप्रसाद ढकाल कार्यरत छन् ।

साबिक जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मी कृषि ज्ञानकेन्द्रको प्रमुखका रूपमा कार्यरत छन् । शिक्षा समन्वय इकाइ प्रमुखमा तत्कालीन शिक्षा कार्यालयका शाखा अधिकृत उद्दिमराज शर्मा प्रमुख भएका छन् । अन्य कर्मचारी पनि अधिकांश पुरानै कार्यालयमा कार्यरत नै निरन्तर छन् ।

प्रकाशित : भाद्र १२, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?