कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रांगारिक खेती अर्गानिक तरकारी

रैथाने बीउ लगाएर तरकारीमा रासायनिक मल र औषधिहरू प्रयोग गर्न छाडिएको छ
बेलायतका लाहुरेहरू समेत पहाडी बस्तीमा व्यावसायिक तरकारी खेती गर्न तम्सँदै
घनश्याम खडका

हिस्तान (म्याग्दी) — बजारसम्म सडकको पहुँच पुगेपछि यहाँका पहाडी बस्तीहरूमा सुरु गरिएको प्रांगारिक खेतीले स्थानीयको जीवनशैलीमा परिवर्तन ल्याउन थालेको छ । ग्रामीण बस्तीमा सडकले कृषि क्रान्ति गरिरहेको छ ।

प्रांगारिक खेती अर्गानिक तरकारी

वर्षाले हिलाम्मे सडकमा पनि ग्रामीण बस्तीबाट ट्रयाक्टरले आलु, बन्दा, जंगली तरकारी ढौढे (निगुरो प्रजाति) र सिम साग दैनिक ओसार्ने गरेका छन् ।


‘सडक खनेपछि जसरी पनि ट्रयाक्टर पुगेकै छ । खोल्साखाल्सीमा खेर गएका जंगली सातपात सबैले भाउ पाएको छ,’ अन्नपूर्ण गाउँपालिका १ दोबाका पृथबहादुर गर्बुजाले भने, ‘बजारमा पाइने खोनकुरा दैलामा आइपुगेको छ ।’ लेकाली बस्तीमा सडक पुगेपछि उत्पादन भएका आलु, बन्दा, काउली र टमाटरसमेतका तरकारी बेचेर हातहातमै पैसा आएको उनले बताए । मोटरबाटो दैलोमा पुगेपछि अन्नपूर्णका दोबा, शिख, खिबाङ, हिस्तान, घराम्दी र राम्चेवासीले बढी लाभ लिएका छन् ।


अन्नपूर्ण गाउँपालिकामा मात्र होइन जिल्लाका अन्य ग्रामीण भेगमा पनि व्यावसायिक अर्गानिक तरकारी खेतीले राम्रो प्रतिफल दिन थालेको छ । गाउँका फाँटमा प्लास्टिकका टनेर बनाइएका छन् । टनेलभित्र लटरम्म टमाटर फलेका छन् । बारीमा काउली, बन्दा र खुर्सानीलगायतका तरकारी फस्टाएको छ ।


‘रैथाने बीउ प्रयोग गरिएको छ, तरकारीमा कुनै पनि रासायनिक मल र औषधिहरू प्रयोग गरेका छैनौं,’ हिस्तानका अगुवा कृषक टेकबहादुर गर्वुजाले भने, ‘परम्परागत खेती प्रणालीमा थोरै सुधार मात्र गरेका छौं । खुल्ला खेती गथ्र्यौं, अहिले बेमौसमी तरारीका लागि प्लाष्टिकका घरभित्र खेती गर्न सिक्यौं ।’ ‘संस्थागत रूपमा स्थानिय विद्यालय र विदेशमा रहेका आफन्तले समेत गाउँमा तरकारी सुरु गरेको उनले बताए । नेपालीको परम्परागत खेती प्रणाली निर्वाहमुखी भएकाले ठूलो परिमाणमा उत्पादन दिने नभई सानो चक्लामा गरिएको खेतीले गाउँलेलाई फाइदा लिन सिकाएको उनले बताए ।

‘धेरै जग्गामा, ठूलो लगानी गरेर खेती गर्ने न अनुभव छ, न लगानी हाल्ने हिम्मत,’ उनले भने, ‘जतिमा गर्दै आएका थियौं त्यसैलाई तरिका सुधारेर खेती गर्दा पनि धेरै फाइदा पाउनेले जग्गा विस्तार गर्न थालेका छन् ।’ युवा पुस्ता लेखपढ र रोजगारीका लागि बजार झर्ने चलनले खेतीपाती वृद्धवृद्धाले धान्नुपर्ने अवस्थामा पनि लेकाली कृषि उपजले पाउन थालेको भाउ आफैंमा हर्ष लाग्ने खालको भएको उनको अनुभव छ । ‘बाटो बाह्रैमास गाडी सजिलै चल्ने हुनुपर्छ,’ उनले भने, ‘फलाएका चीज सजिलै बिक्री भए बाली लगाउने जाँगर त्यसै बढ्छ ।’


हिस्तानमा वर्षौंदेखि उपयोग हुन छाडेको बाँझे जमिन भाडामा लिएर स्थानीय टिकोट माध्यामिक विद्यालयले आलु खेती गरिरहेको छ । सडक सहज भएर ढुवानीका साधन आउजाउ गर्न थालेपछि आम्दानी बढ्ने देखेर विद्यालयले आलुखेतीमा हात हालेको हो । बेलायतमा रहेका लाहुरेहरूसमेत यहाँका पहाडी बस्तीमा व्यावसायिक तरकारी खेती गर्न तम्सेका छन् । गाउँमा रहेका अगुवा कृषक, पोखरामा रहेका आफन्त र बेलायतमा बसोबास गर्ने पूर्वलाहुरे मिलेर गठित युनाइटेट एग्रिकल्चर समूहले ३० रोपनी जग्गा भाडामा लिएर पोल्ट्री फार्म र तरकारी खेती थालेको छ । ६ वटा टनेलमा टमाटर लगाएको छ । यहाँ उत्पादन हुने अर्गानिक तरकारी पोखरा पुर्‍याएर बेच्ने गरिएको छ ।


‘बेलायतमा बस्ने, पोखरामा बस्ने र गाउँका शिक्षकहरू मिलेर २० लाख लगानीमा अर्गानिक तरकारी खेती थालेका हौं,’ टिकोट माविका प्रध्यानाध्यापकसमेत रहेका उक्त समूहका सदस्य प्रदीप पुनले भने । सम्भावना पहिल्याउँदै अर्गानिक फार्मिङको लहर सुरु भएको उनले बताए । यहाँको मुख्य कृषि उत्पादन आलु हो ।

विषादीरहित र स्वादिलो हुने भएकाले बेनी, बागलुङ, पोखरा र काठमाडांैसम्म यहाँको लेकाली आलुको माग राम्रै छ । जिल्लाको ९ सय ८१ हेक्टरमा गरिएको टमाटर खेतीको उत्पादन १० हजार ३ सय १२ टन छ । यस्तै १ हजार ६ सय ५ हेक्टरमा लगाइने आलुको उत्पादन वार्षिक १६ हजार ४ सय ५१ टन हुने गरेको छ ।

प्रकाशित : भाद्र १३, २०७५ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?