२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

५ दिनदेखि शव अस्पतालमै

पोखरा — लामाचौरकी १३ वर्षीया पुष्पा केसीको शव ५ दिनदेखि अस्पतालमै छ । विद्यालयबाट घर फर्कँदै गर्दा बेपत्ता उनको भोलिपल्ट शव फेला परेको थियो । हत्या गरिएको शंकामा आफन्तले शव बुझेका छैनन् ।

५ दिनदेखि शव अस्पतालमै

प्रहरी भने पुष्पाले आत्महत्या गरेको हुनुपर्ने निचोडमा पुगेको छ ।


बाटुलेचौरको विन्ध्यवासिनी माविमा ६ कक्षामा अध्ययनरत उनी शुक्रबार घरभन्दा साढे दुई किलोमिटर पर मृत भेटिएकी थिइन् । हत्या भएको हुन सक्ने आशंका रहेकाले छानबिन गरी दोषीमाथि कारबाही गर्न प्रहरीलाई दबाबका लागि परिवारले शव नबुझेको आफन्त बुद्धि खत्रीले बताए ।


‘हत्या, आत्महत्या के हो भन्ने निक्र्योल नभएसम्म शव बुझ्दैनौं,’ खत्रीले भने, ‘हामीले पनि प्रहरीको अनुसन्धानलाई सहयोग पुर्‍याउन सहयोग समिति गठन गरेका छौं ।’ घटनामा संलग्नको किटानी गरी जाहेरी दिन नसकिएको र आत्महत्या पनि विश्वास गर्न नसकिने अवस्था रहेको उनले बताए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्षेत्रीय अस्पतालमा शव राखिएको छ ।


घटनालगत्तै अनुसन्धान थालेको प्रहरीले शंकास्पद व्यक्ति, विद्यालय, स्थानीयलगायतसँग सोधपुछ गरिरहेको छ । ‘किशोरीको मृत्यु सम्बन्धमा प्रहरी संवेदनशील भएर कुनै कसर नराखी अनुसन्धानमा जुटेको छ,’ कास्की प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले भने, ‘विधिविज्ञान प्रयोगशालामा भिसेरा पनि पठाएका छौं ।’


प्रहरी स्रोतका अनुसार घटनास्थलमा १२ मिटर छ्यांग भीर र अर्को १० मिटर स्लोभ परेको छ । त्यही भीरको तल शव भेटिएको हो । शवको दुई फरेन्सिक र एकजना प्रसूति विशेषज्ञ गरी तीन चिकित्सकको सहयोगमा पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टममा बाहिरी चोट केही नदेखिएको तर, देब्रे खुट्टाको एंगल भाँचिएको, शरीरको देब्रे साइडमा आन्तरिक चोट रहेको, गिदी फुटेको प्रहरी स्रोतको भनाइ छ ।


पुष्पामा अरूसँग बोल्ने, बढी हेलमेल हुने, रमाउने बानी नरहेको कास्की प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले बताए । विद्यालयमा सिकाइने नाच सिक्न चाहे पनि उनलाई घरबाट ननाच्न भनिएको थियो । बिहीबार विद्यालयको बसमा घर हिँडेकी उनी ‘ममीले टमाटर ल्याउनु भन्नुभएको’ भन्दै करिब सय मिटर वरै झरेकी थिइन् । तर, उनको लामो समयसम्म खोजी नगरिएको र प्रहरीलाई पनि खबर नगरिएको जिल्ला प्रहरीले जनाएको छ ।


भोलिपल्ट बिहान बसबाट झरेको स्थानभन्दा करिब ४ सय मिटर तल झोला फेला परेपछि बल्ल परिवारले खोजी गरी दिउँसो प्रहरीलाई खबर गरेको थियो । शुक्रबार साँझ ६ बजेमात्र उनको शव शैलजा स्मृति पार्कमुनिको फापरतहरोको झाडीमा भेटिएको थियो ।

प्रकाशित : भाद्र १३, २०७५ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?