२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

आत्महत्या रोकथाममा पहल

‘घटना रोकथाममा परिवारका सदस्य जत्तिको भूमिका अरूबाट सम्भव हुँदैन’
प्रतिक्षा काफ्ले

स्याङ्जा — राष्ट्रियस्तरका भलिबल खेलाडीका रूपमा छवि बनाएका बिरुवा गाउँपालिकाका महेश खड्काले केही दिनअघि झुन्डिएर आत्महत्या गरे । घटना अनुसन्धान भइरहेको भन्ने तयारी जवाफ बाहेक प्रहरीसँग उनले किन आत्महत्या गरेका हुन् भन्ने प्रश्नको उत्तर छैन ।

आत्महत्या रोकथाममा पहल

केही महिनाअघि चापाकोट ८ खोरियाघाटकी १२ वर्षीया बालिकाले भुन्डिएर आत्महत्या गरिन् । त्यसको पनि चित्तबुझो कारण प्रहरीको अनुसन्धानमा फेला परेको छैन । बिरुवा ४ का ६१ वर्षीय हरिप्रसाद पोखरेलले झुन्डिएर आत्महत्या गरे । यी केही प्रतिनिधि घटना हुन् ।

जिल्ला प्रहरी कार्यालयको अभिलेखअनुसार स्याङ्जामा आत्महत्या गर्नेमा बालबालिकादेखि वृद्धवृद्धासम्म विभिन्न उमेरका छन् । बिरुवा गाउँपालिका ४ का ६१ वर्षीय हरिप्रसाद पोखरेलले पनि झुन्डिई आत्महत्या गरे । अत्यधिक मादकपदार्थ सेवन तथा पारिवारिक विचलनका कारण उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । ‘घटना रोकथाममा परिवारका सदस्य जत्तिको भूमिका अरूबाट सम्भव हुँदैन,’ प्रहरी नायब उपरीक्षक प्रकाश विष्ट भन्छन्, ‘रोकथामको मामिलामा प्रहरी संवेदनशील छ । समाजले पनि ध्यान दिनुपर्छ ।’ घटना रोकथामका उपायका लागि अभियानका रूपमा कार्यक्रम चलाइनुपर्नेको उनको भनाइ छ ।

प्रहरीको अभिलेख अनुसार जिल्लामा बर्सेनि आत्महत्याका घटना बढेका छन् । आर्थिक वर्ष ०७५/७६ को दुई महिनामै आत्महत्या गर्नेको संख्या ११ पुगेको छ । ५ पुरुष र ६ महिलाले आत्महत्या गरेका छन् । नौ जनाले झुन्डिएर, एकजनाले विष सेवन र अर्काले नदीमा हाम फालेर प्राण त्यागेका छन् । आव ०७४/७५ मा १८ महिला, ३० पुरुष गरी ४८ जना र ०७३/७४ मा ३५ पुरुष ३२ महिला गरी ६६ जनाले आत्महत्या गरेको तथ्यांक छ ।

०७२/७३ मा ३० पुरुष २३ महिला गरी ५३ र ०७१/७२ मा २७ पुरुष २५ महिला गरी ५२ जनाले आत्महत्या गरेका थिए । आत्महत्या गर्नेमा अधिकांश साक्षरदेखि उच्चशिक्षा पढेकाहरू छन् । घटनाहरूका अनुसन्धान अभिलेखअनुसार धेरैले बिहानको समय, शनिबार र महिनाको आधारमा फागुन र जेठमा बढी आत्महत्या गरेका छन् ।

‘कारणहरू अध्ययन गर्दा अशिक्षा, कमजोर आर्थिक स्थिति, दीर्घरोग, असफल प्रेम र वैदेशिक रोजगारीको नकारात्मक प्रभावस्वरूप अनैतिक सम्बन्ध पनि कारक तत्त्व देखिएका छन्,’ बिष्टले भने, ‘तुलनात्मक रूपमा पढेका र नपढेका बराबरी नै छन् । गरिबी र बेरोजगारी नै धेरैको कारण बुझिएको छ ।’ आत्मबल कमजोर भएको बुझिएकालाई परिवार र समाजले चिनेर बेलैमा हिम्मत दिए आत्महत्या गर्ने सोचाइलाई परिवर्तन गर्न सकिने उनले बताए ।

प्रकाशित : भाद्र १४, २०७५ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?