खानी दर्ता झन्झटिलो

घरेलुदेखि खानी तथा भूगर्भ विभागसम्म दर्ता गर्दा अनेक प्रक्रिया र ठूलो लागत देखाउनु पर्ने समस्या
प्रकाश बराल

बागलुङ — ताराखोला गाउँपालिका ५ का ओमप्रकाश घर्तीले खानी दर्ता लिएर फर्म सञ्चालनको प्रयास गरे । बीके सप्लायर्स नामक उनले दर्ता गरेको फर्म एक महिना नबित्दै बन्द गरे ।

बागलुङको ताराखोला २ मा रहेको ढुंगाखानीमा काम गर्दै कामदार । तस्बिर : प्रकाश

‘घरेलुमा दर्ता गर्दा २० हजार राजस्व तिरियो,’ उनले भने, ‘इजाजतका लागि खानी विभाग पुग्दासम्म थप ५० हजार खर्च भयो तर, झन्झटिलो प्रक्रियाले गर्दा सानो पुँजी भएकाले खानी सञ्चालन सम्भव देखिएन ।’ आफूले काम गर्न चाहेका अधिकांश स्थानमा पहाडै दर्ता गरेर विभिन्न फर्मले जिम्मेवारी लिइसकेको पाएको उनले बताए । ‘खानीको अध्ययन नै नगरी करोडौंमा किनमेल गर्नेहरू देखेपछि सामान्य लगानीले केही गर्न सकिने देखिएन,’ उनले भने ।

घर्तीसहित नवीन गुरुङ र केही भूगर्भविदको समूहले केही स्थानमा फलाम, तामा, सिसा र ग्रेनाइटजस्ता खानीको सम्भाव्यता खोजी गरेका थिए । विस्तृत अध्ययन गरेर निकासीसमेत गर्न सकिएला भनेर उनले फर्म घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता गरेका थिए । तर, त्यसलाई खानी तथा भूगर्भ विभागसम्म दर्ता गर्नुपर्ने, त्यसका लागि अनेक प्रकारका झमेला र ठूलो लागत देखाउनुपर्ने समस्याले फिर्ता भएको उनले बताए । घरेलु कार्यालयको समितिका अनुसार वर्षभरि यस्ता धेरै जनाले फर्म विधिवत् अनुमति लिएर काम गर्न खोजेपनि नसकेर दर्ता खारेज गरेका छन् ।

Yamaha

‘यो देश माफियाले चलाउने रहेछ, हामी थोरै लगानीबाट केही गरौं भनेर सकिँदैन,’ घर्तीले भने, ‘निर्माण सामग्री, ढुंगा, गिटी बालुवा ढुवानी गर्नका लागि सप्लायर्स दर्ता गर्दा पनि धेरै लगानी पर्ने भयो ।’ ताराखोलामा ढुंगाखानी पनि छ । घर छाउने, टायल र मार्बल बनाउन मिल्ने ढुंगा प्रशस्त भएकाले उनले सप्लायर्स दर्ता गरेर ढुवानी व्यवसाय सञ्चालनको योजना बनाएको बताए । आफ्नै खरबारीको ढुंगाखानी सञ्चालनका लागि पनि कानुनी जटिलता देखिएको उनले बताए ।

ताराखोलामा अहिलेसम्म एउटा मात्र ढुंगाखानी विधिवत् दर्ता भएको छ । धनबहादुर विकले दर्ता गरेको बाहेक अरू धेरै सञ्चालनमा छन् । तर, अधिकांशले दर्ताको प्रक्रियामा रहेको जवाफ दिन्छन् । पोखरादेखि बुटवलसम्मका घरमा लगाइएका आकर्षक टायल र ढुंगा ताराखोलाबाट पनि जान्छ । ‘वातवरणीय प्रभाव मूल्यांकनसहित धेरै प्रक्रिया पुर्‍याउँदा करोडौं लगानी गर्नुपर्छ,’ घर्तीले भने, ‘स्थानीयले काम गर्नै जटिल प्रक्रियाहरू रहेछन् ।’ नजिकमा बस्ती हुन नहुने, विद्यालय भए पनि नपाइने, सडक लगायतका सार्वजनिकस्थलसमेत नभएको र आफ्नै नाउँमा कम्तीमा २५ रोपनी जमिन भएको जस्ता प्रावधानले सानो पुँजी भएकाहरूले हिम्मत गर्न नसक्ने उनले बताए ।

प्रारम्भिक अध्ययनअनुसार ताराखोलामा ढुंगाखानीसहित तामा र ग्रेनाइट पनि छ । त्यस्तै जिल्लाका धेरै स्थानमा खानी रहेको तथ्यांक छ । पुराना पुस्ताले उत्खनन गरेका धेरै उदाहरणसमेत छन् ।

सडक यातायातको विकास हुनुअघिसम्म विभिन्न गाउँमा स्थानीयले फलाम र तामा खानीबाट उत्खनन गरेर प्रयोगमा ल्याएको इतिहास छ । पुरानो जमानाका खानीका फलामबाट निर्मित घरेलु हतियार र औजारहरू अझै केही गाउँमा भेटिन्छन् । ‘मेरा हजुरबुबाले निकालेको कच्चा तामाका डल्ला अहिले पनि हामीले संरक्षण गरेर राखेका छौं,’ राङखानीका ७७ वर्षीय तुलबहादुर श्रीषले भने, ‘वैज्ञानिक परीक्षण र पगाल्न प्रविधि अभावमा खानीहरू गर्भमै छन् ।’ राँगोको गर्धनजस्ता कच्चा तामाका डल्लाहरू निस्केकाले यो गाउँको नाउँ राङ्गोखानी थियो । अपभ्रंस भएर अहिले राङखानी भएको उनले बताए ।

खानी सञ्चालन गर्ने विषयलाई राजनीतिक दलले चुनावी घोषणापत्रमा सामेल भने गरेका थिए । तर, चुनावको वर्षदिनपछि पनि कुनै पनि संस्थाले उत्खननको काम गरेका छैनन् । खानी उत्खननबारे बागलुङ उद्योग वाणिज्य संघले पनि चासो राख्ने गरेको छ । ‘स्थानीय स्रोतको उपयोगबाट जनतालाई आर्थिकरूपमा समृद्धितर्फ लैजान सकिने भएकाले सम्भावित खानीको उत्खननमा सरकारको ध्यानाकर्षण गराउने काम गरेका छौं,’ अध्यक्ष जयराम भारीले भने ।

प्रकाशित : भाद्र १४, २०७५ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नेपाल बुझ्दै विदेशी विद्यार्थी

१७ देशका ३० विद्यार्थी पोखरामा
विद्यार्थी विश्वविद्यालयमा विद्यावारिधि तहमा अध्ययनरत
कान्तिपुर संवाददाता

पोखरा — नेपाली भाषा, रहनसहन, जीवनशैली, सभ्यता, संस्कृति, राजनीति, पर्यटन र प्राकृतिक स्रोतलगायतबारे जानकारी लिने उद्देश्यसहित १७ देशका ३० विद्यार्थी पोखरा आएका छन् ।

नेपालबारे जानकारी लिन पोखरामा विदेशबाट आएका विद्यार्थी । तस्बिर : लालप्रसाद शर्मा

इन्टरनेसनल ग्य्राजुयट स्कुल नर्थ, साउथ र नेपाल सेन्टर फर कन्टेम्पोरेरी रिसर्च (एनसीसीआर) ले इन्टरनेसनल समर स्कुल २०१८ अन्तर्गत उनीहरूलाई ल्याएको हो ।

विद्यार्थीले नेपालको बजार र विशेषगरी ग्रामीण क्षेत्रको स्थलगत भ्रमण गरी आवश्यक जानकारी लिनेछन् । गाउँमा पुगेर उनीहरू होमस्टेमा बस्नेछन् । यसले होमस्टेको प्रचारमा सघाउ पुग्ने विश्वास लिइएको छ । ‘गाउँ पुगेर विद्यार्थीले स्थानीयसँग भेटघाट, छलफल, अन्तरक्रियामार्फत विभिन्न विषयमा जानकारी लिनेछन्’ एनसीसीआरका रिसर्च डाइरेक्टर विष्णुराज उप्रेतीले भने, ‘प्राप्त जानकारीको विश्लेषण विद्यार्थीले गर्छन् ।’

उनीहरू विश्वविद्यालयमा विद्यावारिधि तहमा अध्ययनरत विद्यार्थी हुन् । उनीहरूलाई शोध र अनुसन्धानका लागि सहयोगी र केही प्राध्यापक पनि टोलीमा सहभागी छन् । प्रत्येक दुई वर्षमा यसरी विद्यार्थी ल्याएर नेपाली सभ्यताबारे जानकारी दिइने उप्रेतीले बताए । यस क्रममा नेपाली र विदेशी विद्यार्थीबीच अन्तरक्रिया, नेपाल र विदेशको पढाइ प्रक्रिया र अनुसन्धानका विषयमा पनि छलफल हुन्छ ।

विद्यार्थी १५ दिन आफ्नो काममा हुनेछन् । चार दिन सैद्धान्तिक ज्ञान दिइनेछ भने चार दिन स्थलगत अध्ययनका लागि जानेछन् । सहरी क्षेत्रका लागि पोखरा र बेगनास ताल तथा ग्रामीण क्षेत्रका लागि ताङतिङ, घाचोक र मिश्रा गाउँ पुग्नेछन् ।

त्यसपछि फर्केर तीन दिनसम्म प्राप्त जानकारीको विश्लेषण हुनेछ । कार्यक्रमको बुधबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उद्घाटन गर्दै प्रदेश पर्यटनको राजधानी भएको बताए । पर्यटनबाटै प्रदेशको समृद्धि हुने देखेर प्रदेश सरकारले पर्यटनलाई प्राथमिकतामा राखेको भन्दै उनले जातजाति, भाषाभाषी, जैविक विविधता, संस्कृति र सभ्यता सिकेर आफ्नो देशमा प्रचार गरिदिन आग्रह गरे ।

कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले गण्डकी प्रदेश विविधतायुक्त रहेको बताए । प्रदेशको समृद्धिका लागि असल शासनमा जोड दिँदै उनले स्रोतसाधनको सही परिचालनले मात्र विकासले गति लिने बताए । सरकारका पूर्वसचिव द्वारिकानाथ ढुंगेलले नेपालको सहरी अवस्थाबारे विद्यार्थीलाई जानकारी गराएका थिए ।

साथै ज्युरिक विश्वविद्यालयकी अल्रिक मुलर बोइकर र इन्टरनेसनल ग्राजुएट स्कुल नर्थ–साउथका निर्देशक थोमस ब्रेउले पनि दिगो विकासका लागि अनुसन्धान, नीति र अभ्यास आवश्यक रहेको भन्दै विकासोन्मुख देशहरूले यसैलाई अनुसरण गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित : भाद्र १४, २०७५ ०९:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT