खेल अभ्यासमा महिला

नियमित अभ्यासमा आउने महिला खेलाडीको संख्या न्यून
छोरीलाई परिवारको हौसलाले खेलमा सफलता
विना थापा

कास्की — एन्फा कास्कीले सञ्चालन गरेको फुटबलको तालिममा जिल्लास्तरको टिमबाट खेल्ने सूचीमा ३० जनाको नाम छ । नियमित अभ्यासमा भने चार जना मात्रै छन् ।

पोखरा रंगशालामा फुटबलको अभ्यास गर्दै महिला खेलाडी । तस्बिर : विना

‘अहिले त तीज लाग्यो होला भन्न सकिन्छ,’ एन्फा कास्की अध्यक्ष मिलन गुरुङ भन्छन्, ‘अभ्यासमा रेगुलर हुने महिला खेलाडीको संख्या सधैं कम हुन्छ ।’ घरपरिवारले छोरीलाई खेल्न पठाउने नगरेसम्म खेलकुदका सबै इभेन्टमा सहभागिता बढाउन गाह्रो हुने उनी बताउँछन् ।

बिहानै उठेर फुटबलको नियमित अभ्यासमा आएको भेटिने पार्वती रानामगरको बुझाइमा छोरीलाई परिवारले कमजोरीको रूपमा लिएसम्म खेल गतिविधिमा सहभागिता बढाउन गाह्रो छ । ‘म्याचको रिजल्ट मात्रै राम्रो चाहने हाम्रो समाजको हेराइ रेगुलर प्राक्टिस गर्नैपर्छ, त्यसका लागि पठाउनैपर्छ भन्नेमा ध्यान दिँदैन,’ उनी भन्छिन्, ‘घरमा मैले पाएको जस्तो वातावरण सबै छोरीले पाए फुटबलमै पनि राम्रो हुनसक्छ ।’ खेलकुदमा लागेका जोसुकैका लागि नियमित अभ्यास आवश्यक हुने उनले बताइन् ।

Yamaha

नयाँगाउँकी धनमाया गुरुङ आमाबाबुले छोराछोरीको इच्छा बुझिदिए समस्या नहुने बताउँछिन् । ‘पहिलो कुरा त खेल्ने रहर भएका छोरीहरूले आमाबुबालाई बुझाउन पनि प्रयास गर्नुपर्छ, यो कुरा दोहोरो भए मात्रै सजिलो हो,’ उनले भनिन्, ‘खेलकुदमा एकैपल्ट जादूले जित हात पर्दैन, रेगुलर प्राक्टिस गर्न जाने वातावरण भइदिए जोसुकैले राम्रो गर्न सक्छन् ।’ अभ्यासमा नियमित नभए पनि म्याचमा एकैपल्ट मौका पाउनेका कारण टिममा तालमेल नमिल्दा महिला फुटबलरले अपेक्षित सफलता हात पार्न नसकेको उनले बताइन् ।

बिहान–बेलुकी पोखरा रंगशालामा भेटिने शीतल गुरुङ फुटबल टिमले खेल्ने भएकाले सबै सदस्यको क्षमता बढाउन र उसको दक्षताअनुसारको भूमिका दिन प्रशिक्षकको पनि भूमिका हुने बताउँछिन् । ‘राम्रो खेल्ने खेलाडी उत्पादन गर्न म्याच पर्खने होइन, प्राक्टिस रेगुलर गरेर कसले कति सक्छ र केमा क्षमता छ त्यही ठाउँ दिइनुपर्छ,’ उनले भनिन्, ‘छोरीको शारीरिक बनोट र क्षमता छोरासँग तुलना नहुने भएकाले उनीहरूलाई खेलमा राम्रो बनाउन सबैको साथ आवश्यक छ ।’ केही समय खेल्न आएर छाड्नेलाई किन आएनन् भनेर खोजी गर्ने गरियो भने राम्रा खेलाडी गुमाउन नपर्ने उनले बताइन् ।

शिक्षण पेसा गर्दागर्दै छाडेर मनिका थापामगर यतिबेला फुटबल खेलमा लागेकी छन् । ‘अभिभावक र समाजले साथ दिए छोरीहरूले फुटबलमा राम्रो गर्न सक्छन्,’ उनले भनिन्, ‘सामाजिक मानसिकतामा परिवर्तन हुन नसक्दाको असर राम्रा खेलाडी उत्पादनमा परेको छ ।’ कसले कुन खेलमा राम्रो गर्नसक्छ भन्ने केही समयको अभ्यासपछि बुझिने भएकाले छोरीको रहर अनुसारको खेल क्षेत्र रोज्न अभिभावकको सधैं साथ हुनुपर्ने उनले बताइन् ।

महिला र पुरुष जसले खेल्न चाहे पनि खेलकुदका नियमित अभ्यास भने निकै कम आयोजना हुने भएकाले अवसर सीमित छ । अझ महिलाको हकमा राम्रो गर्ने खेलाडीको भविष्य उज्जल भए पनि नियमित अभ्यास निकै कम भइरहेको एन्फा कास्की अध्यक्ष गुरुङ बताउँछन् । ‘केटाको खेल्न आउने र खेल्नुपर्छ भन्ने भावना छुट्टै प्रकारको हुन्छ,’ उनले भने, ‘खेल्न चाहने छोरीलाई हौसलाको खाँचो देखिन्छ ।’ राष्ट्रियस्तरको महिला फुटबल टिममा कास्कीले खेलाडी दिन नसक्नुको कारण अभ्यासमा नियमित नहुनु नै प्रमुख रहेको उनले बताए ।

फुटबलको तुलनामा कास्कीमा समूहमा खेलिने भलिबल र बास्केटबलमा महिला सहभागिताको अवस्था राम्रो छ । तर, विद्यालय र कलेजस्तरको अध्ययन सिध्याएपछि खेलकुद क्षेत्रलाई निरन्तरता दिने छात्राहरू निकै न्यून संख्यामा छन् । एथलेटिक्सका विभिन्न इभेन्टमा पनि विद्यालयका स्तरका प्रतियोगिता आयोजना हुँदा मात्रै मैदानमा आउने छात्राको संख्या धेरै हुन्छ । अभ्यासका बेला भने सहभागिता निकै कम हुन्छ ।

राष्ट्रिय भलिबल खेलाडी अरुणा शाहीलाई सुरु–सुरुमा घरपरिवारको साथ नपाउँदा गाह्रो भएको अनुभव छ । ‘स्कुलमा सरहरूले खेलमा भन्दा पढाइमा ध्यान देऊ भनेर गाली गर्थे,’ उनले भनिन्, ‘पछि मैले राम्रो गर्दै गएँ, घरपरिवार र शिक्षकको साथ पाउँदै गएँ । अहिले मलाई खेल्नैपर्छ भन्ने धेरैजना छन् ।’ खेलकुद आफ्नो रुचीमा पनि निर्भर हुने भएकाले नियमित खेल्दै राम्रो गर्दै गए आफू अनुकूलको वातावरण बनाउन सकिने उनले बताइन् । ‘अहिले त स्कुलले पनि खेल खेलाउँछ, खेल्न चाहनेहरूले त्यो अवसरलाई समात्न सक्नुपर्छ,’ उनले भनिन्, ‘खेल क्षेत्रमा लागेकाहरूको भविष्य अब राम्रो हुने अवस्था छ । त्यसैले लागेपछि समर्पित भएर लाग्दा मात्रै आफूले रोजेको इभेन्टमा सफलता पाउन सम्भव हुन्छ ।’ घरपरिवार र समाजले सफलतालाई मात्रै हेर्ने भएकाले आफूले रोजेको खेलको विधामा मिहिनेत गर्नैपर्ने उनले बताइन् ।

भलिबल संघका केन्द्रीय सचिव डीबी नेपाली खेल खेलेर पनि जीविका चलाउने आधार तयार भइसकेकाले खेलाडीले हतास हुनु नहुने बताउँछन् । ‘खेल स्वास्थ्यका लागि त हुँदै हो, यो राम्रो करिअरका लागि पनि हो,’ उनले भने, ‘रुची भएर मात्रै सफल भइँदैन, लगातार मिहिनेत जरुरी छ ।’ अहिले कास्कीका महिला खेलाडीले राष्ट्रिय टिमकी मञ्जु गुरुङलाई हेरेर पनि आफ्नो अभ्यासलाई निरन्तरता दिन रुचाएको उनले बताए ।

भलिबल र फुटबलमा राम्रो गर्नेहरूका लागि धेरै अवसरहरू रहेकाले आशलाग्दा खेलाडीले बीचैमा छाड्न नहुने उनको तर्क छ । ‘पढाइ बिग्रिन्छ भन्ने धारणाले महिलाको सहभागिता कम देखिएको छ,’ उनले भने, ‘तर, खासमा खेलमा राम्रो गर्न सक्नेका लागि पछि त्यही राम्रो पढाइ हुन्छ ।’ कास्कीमा भलिबलमा महिला सहभागिताको अवस्था सन्तोषजनक रहेको उनले बताए । उनका अनुसार जिल्लामा भलिबलमा २५ महिला खेलाडी छन् । यिनमा दुईजना राष्ट्रियस्तरका सटर रहेको उनले बताए ।

Esewa Pasal

प्रकाशित : भाद्र १४, २०७५ ०९:१३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पोखरामा ट्होटेको रौनक [फोटोफिचर]

विना थापा

काठमाडौँ — हातमा तरबार, लठ्ठी धनुषवाण र झार बोकेका, अनुहारमा कालो पोतेर, भोटो कछाडमा ठाँटिएका । कोही ढ्यांग्रो बजाउँदै थिए भने महिला गुनियोचोली, चुरापोतेसहित जातीय पोसाकमा सजिएर लस्करै र समूहमा हिँडिरहेका देखिन्थे । त्यो हुलमा जोगी तथा झाँक्रीको भेषमा सिँगारिएकाहरु र बालबालिकादेखि वृद्धवद्धा पनि थिए । यो दृश्य हो, गुरुङ समुदायले मंगलबार पोखरामा मनाउँदै गरेको ट्होटे पर्वको ।

शव्द/तस्बिर : विना थापा/कान्तिपुर

पोखराको बगर टुँडिखेलबाट निस्किएको र्‍याली बागबजार, भैरवटोल, सिद्धार्थचोक, महेन्द्रपुल हुँदै नयाँबजार तमुधिंमा पुगी समापन भएको भएको थियो । साउन महिनाको अन्तिम मंगलबार गुरुङ समुदायले सामूहिक रुपमा ट्होटे पर्व मनाउने गर्छन् । यस्तै पर्व चैतको अन्तिम मंगलबार पनि मनाउने गरिन्छ ।

गुरुङ भाषामा 'ट्हो' भनेको राज्य र 'टे' भनेको धपाउने अर्थात् राज्यबाट शत्रुलाई लखेट्ने भन्ने बुझिन्छ । सहरमा यसरी मनाए पनि गाउँघरमा भने भूतप्रेत भगाउने पर्वको रुपमा ट्होटे मनाइन्छ । चैतमा उभौली र साउनको ट्होटेलाई उधौली भनिन्छ ।


प्रकाशित : श्रावण २९, २०७५ १६:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT