कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

अलैंची टिप्न किसान व्यस्त

आश गुरुङ

लमजुङ — जिल्लाको बेंसी क्षेत्रमा अलैंची टिप्न र सुकाउने कामामा किसान व्यस्त हुन थालेका छन् । असोजदेखि अलैंची टिप्ने काम सुरु हुन्छ ।

अलैंची टिप्न किसान व्यस्त

मर्स्याङ्दी गाउँपालिकाको वडा ७ को ताराचोक, शेरा, ३ को थाकनक्षेत्र, बेंसीसहर १० को कुप्लिङ, सुन्दरबजार १ को कुन्छा, ४ को दुराडाँडा, दोर्दी गाउँपालिका ८ को खिन्चोकबेंसीलगायत गाउँका किसानले अलैंची टिपेर सुकाउन थालेका हुन् । समुद्री सतहको ७ सयदेखि १२ सय मिटरमा हुने साउन्ने, जिर्मले र डम्मरसाई जातका अलैंची टिप्नका लागि तयार भइसकेको किसान बताउँछन् । करिब २ हजार २ सय मिटरसम्म हुनेमध्ये रामसाइ, गोलसाई र भर्लाङ्गे जातका अलैंची पाक्ने क्रममा छन् । उच्च क्षेत्रमा हुने ती अलैंची असोज पहिलो साताबाट टिप्नुपर्ने किसान बताउँछन् ।


बेंसीसहर १० कुप्लिङका किसान नीति तामाङले यसपटक अलि छिटो अलैंची टिप्न थालिएको बताए । ‘पोहोर भदौ दोस्रो साताबाट टिप्न सुरु गरिएको थियो । योपालि भदौ पहिलो साताबाटै टिप्न थालियो,’ उनले भने । यसपटक अलैंची केही छिटो पाकेकाले भदौ पहिलो साताबाटै अलैंची टिप्न थालिएको उनले बताए । माथिल्लो क्षेत्रका अलैंची पनि दसैंअगावै टिप्न भ्याइने उनले बताए ।


मस्र्याङ्दी गाउँपालिका ७ ताराचोक शेराका किसान डम्मरसिंह अधिकारीले धान र कोदो गोडमेल सकिएपछि किसानलाई अलैंची टिप्ने चटारो सुरु भएको बताए । माथिल्लो क्षेत्रमा अलैंची टिप्ने बेलासम्म कोदो गोडाइ भ्याइने उनले बताए ।


किसानले प्राय: दसैंअगाडि अलैंची टिप्ने गर्छन् । दसैं बिदा मनाउन गाउँघर फर्केकाहरू अलैंची टिप्न तल्लीन हुन्छन् । उनीहरूले आफ्नो खेर गइरहेको पाखो तथा झाडीमा अलैंची फलाएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (अलैंची जोन) सञ्चालक समितिका संयोजक तथा अलैंची व्यवसायी महासंघ जिल्ला शाखा लमजुङका अध्यक्ष अजय तामाङले ग्रामीण भेगमा व्यक्तिगत र सामूहिक अलैंची खेती गरिएको बताए ।

प्रकाशित : भाद्र १५, २०७५ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?