कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

थन्कियो डायलासिस उपकरण

म्याग्दी जिल्ला अस्पतालमा उपकरण चलाउने प्राविधिक भएनन्
अस्पतालका धेरै उपकरणमा विदेशमा रहेका जिल्लावासीको योगदान

म्याग्दी — मृगौला रोगी डायलासिस जिल्लामै गर्न नपाएर पोखरा र अन्यत्रका अस्पताल जान्छन् । जिल्ला अस्पतालमा भने उपकरण भए पनि थन्किएर बसेको छ ।

थन्कियो डायलासिस उपकरण

म्याग्दी जिल्ला अस्पतालमा उपकरण चलाउने प्राविधिक नहुँदा तीन महिनादेखि थन्किएर बसेको हो ।

रघुगंगा गाउँपालिका ३ पीप्ले तल्लाघरका मुकुन्द र माधव सुवेदी दाजुभाइले दिवंगत आमा धनीदवीको स्मृतिमा अस्पताललाई ३० लाख रुपैयाँ पर्ने डायलासिस मेसिन दिएका थिए । दुवै मृगौलापीडित भएरै आमाको निधन भएको थियो ।

सुवेदी दाजुभाइले आर्थिक अभावमा उपचार गराउन नसक्ने मृगौलापीडितलाई जिल्लामै उपचार गर्न सुविधा पुगोस् भन्दै डायलासिस मेसिन सहयोग गरेका थिए । दाताबाट प्राप्त डायलासिस मेसिन पूर्ण नभएको भन्दै अस्पतालले छुट्टै १३ लाख रुपैयाँलागतमा फिल्टर सिस्टम आरओ मेसिन पनि खरिद गरेको थियो । तर, उक्त मेसिन चलाउन प्राविधिक र रोग हेर्ने डाक्टरसमेत नभएकाले अलपत्र परेको हो ।

‘सेटअप गर्ने ज्ञान र चलाउन जानेको डाक्टर र प्राविधिक नहुँदा मृगौला रोगीका लागि आएको डायलासिस मेसिन थन्किएको छ,’ अस्पतालका निमित्त प्रमुख डा. भूषणकुमार सुवेदीले भने, ‘यही महिना अन्तिम साताबाट मेसिन प्रयोगमा ल्याउने लक्ष्य छ ।’

जिल्ला अस्पताललाई मृगौला डायलासिस मेसिन मात्र होइन प्रवासमा रहेका जिल्लावासीले विभिन्न सहयोग गरेका छन । हङकङमा रहेका म्याग्देलीले १२ लाख रुपैयाँको लागतमा डिजिटल भिडियो एक्स–रे मेसिन र मर्मतसम्भार तथा व्यवस्थापन गर्न ६ लाख ६५ हजार रुपैयाँको छुट्टै अक्षय कोष स्थापना गरिदिएका छन् । जापानमा रहेका म्याग्देलीबाट भिडियो एक्स–रे मेसिन, बेल्जियममा रहेकाहरूले रगत परीक्षण गर्ने कम्प्लिट काउन्टिङ मेसिन र फ्रिजसहित ब्लड बैंक स्थापना गरेका छन् ।

यस्तै इजरायलमा रहेका म्याग्देलीले इमरजेन्सी उपचारमा प्रयोग हुने विभिन्न उपकरण दिएका छन् । ठूला उपकरण मात्र होइन सामान्य पल्स अक्सिमिटर र बीपी, कफजस्ता औजार पनि विभिन्न दाताले दिएका छन् । अस्पतालका बिरामी राख्ने शय्याहरूसमेत विभिन्न दाताहरूले उपहार दिएका छन् । अस्पतालमा प्रयोग भएका केही बेड अस्ट्रेलियामा रहेका जिल्लावासीले दिएका हुन् । अस्पतालमा औषधिबाहेक अधिकांश औजार उपहारका छन् ।

‘अस्पतालका धेरै उपकरणहरू विदेशमा रहेका जिल्लावासीको योगदान छ । जिल्लाका सबै क्षेत्रबाट सहयोग र सहकार्य भएकाले बेनी जिल्ला अस्पतालमा बिरामीको विश्वास छ,’ डा. विराट शर्माले भने, ‘दरबन्दीअनुसार सबै विशेषज्ञ डाक्टर जिल्लामा आउने हो भने यो अस्पताल गण्डकी प्रदेशको नमुना बनाउन सकिन्छ ।’

जिल्ला अस्पताललाई कोरिया प्रवासमा रहेका म्याग्देलीले इमरजेन्सी भवन र बहराइनबाट नाक, कान घाँटी तथा भान्सा भवन बनाइदिएका थिए । अस्पतालले नयाँ भवन बनाउन भन्दै दुई वर्ष पनि नपुग्दै ती संरचना भत्काएको छ । प्रस्तावित नयाँ भवनको काम भने अघि बढेको छैन ।

प्रकाशित : भाद्र १६, २०७५ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?