१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जोगी नाच संरक्षण

नाचले आसुरी प्रवृत्तिको अन्त्य, सुसम्बन्ध फैलने र सहकाल आउने विश्वास
प्रकाश बराल

बागलुङ — महादेवको पूजा गरेर जटा, त्रिशूल र माला लगाएका जोगीको लस्कर बनेर नाच्ने सांस्कृतिक नाच बागलुङमा अझै देख्न पाइन्छ । यसलाई यहाँका शाक्यहरूले बचाएका हुन् ।

जोगी नाच संरक्षण

झन्डै तीन सय वर्ष पुरानो मानिने यस्तो नाचमा सहभागी हुँदा समाजमा आसुरी प्रवृत्तिको अन्त्य, सुसम्बन्ध फैलने र सहकाल आउने विश्वास छ । काठमाडांै उपत्यकाबाट बसाइँ आएका नेवार समुदायले ल्याएको अनुमान गरिने जोगी नाच पश्चिम क्षेत्रमा बागलुङमा अझै अस्तित्वमा रहेको देख्न पाइन्छ ।

घण्टाकर्णको मृत्युपछि उसकी श्रीमतीले रणचण्डीको रूप लिएको लाखेलाई नचाएको दुई दिनपछि अर्थात् जनैपूर्णिमादेखि कुशे आैंसीसम्म जोगी नाच नचाउने चलन छ । सबै प्रकारका राक्षसी प्रवृत्तिको अन्त्य गर्न सक्ने महादेवको स्वरूप बनाएर जोगी बन्दा समाजमा कुनै पनि राक्षसी प्रवृत्ति पलाउन नपाउने विश्वास लिइने ज्ञानोदय बुद्ध विहारका पूर्वअध्यक्ष संस्कृतिविद् मुकुन्द शाक्यले बताए ।

‘युवाहरूको बसाइँसराइ र सहयोगीको अभावमा हामीलाई पनि यो नाच जोगाउन हम्मेहम्मे भएको छ,’ उनले भने, ‘खर्च धेरै लाग्ने, श्रृंगारका सामग्री धेरै चाहिने र युवामा संस्कतिप्रतिको मोह कम भएकाले धेरै मेहेनत गर्नु परेको छ ।’

भक्तपुरबाट नेवार समुदाय बागलुङमा करिब तीन सय वर्षअघि बसाइँ आएको मानिन्छ । उनीहरूले आफ्नो सांस्कृतिक पर्व र जात्राको चलनलाई गच्छेअनुसार निरन्तरता दिएका छन् । पुराना शाक्य परिवारका सदस्य र ज्ञानोदय बुद्ध विहारले संयुक्त रूपमा जोगी नाचलाई जोगाइरहेका हुन् ।

‘कम्तीमा १० जोगी बन्ने युवा भएनन् भने नाच निस्कँदैन’ मुकुन्द शाक्यले भने, ‘हामी ५० जनासम्म जोगीको लस्कर निकाल्ने योजनामा छौं ।’ यसका लागि बूढापाका र केही युवाले तयारी गरिरहेको उनले बताए । शिव, पार्वती, जोगीका विभिन्न रूप बन्ने, ताण्डव नृत्य र मृदंग बजाउने कलाकारसमेत जुटेपछि मात्र यो नाचले पूर्णता पाउने उनको भनाइ छ ।

जनैपूर्णिमादेखि कृष्ण जन्मअष्टमी, कुशे औंसी र बढीमा तीजसम्म यस्तो नाच देखाउने गरिएको छ । महादेव र पार्वतीको पूजा गरी उनीहरूलाई खुसी पार्न ताण्डव नृत्यसहित जोगी बनाएर नचाएपछि वर्षभरि कुलको सुरक्षा हुने विश्वास रहेको स्थानीय गगनलाल शाक्यले बताए ।

जोगी बन्नेले महादेवकै जस्तो जटा बनाउने, शरीरमा भष्म लेपन गर्ने र पेटमा राक्षसको आकृति बनाएर नाच्ने र भिक्षा माग्नेसमेत चलन छ । भिक्षा मागेर संकलन भएको रकमले कलाकारलाई पारिश्रमिक दिने गरिन्छ । हालसम्म समुदायको प्रयासमा निरन्तरता दिइएको सांस्कृतिक नाचलाई स्थानीय तह र संस्थाले सहयोग नगरे जोगाउन समस्या पर्ने उनले बताए ।

नाचका जानकारमध्येका ९० वर्षीय लालप्रसाद शाक्य विरामी परेर पोखरा बस्न थालेका छन् । नाच आयोजनामा बर्सेनि झन्डै एक लाख रुपैयाँ बराबर खर्च लाग्ने भएकाले संस्कृति बचाउन शाक्या समुदायलाई समस्या छ । कतिपय सामग्री एकपटक प्रयोग गरेपछि सकिने र केही कपडाहरू बिग्रने भएकाले अर्को वर्षलाई छुट्टै जोहो गर्नुपर्छ ।

पर्वते राजाको पालामा भक्तपुरबाट आएका नेवारले यो नृत्यको थालनी गरेको जनविश्वास छ । कलाकारका रूपमा आएर उनीहरूले देखाउने नृत्यले व्यापार बढ्ने विश्वास गरिन्थ्यो । लगातार सात दिनसम्म जोगी नचाउने भएकाले हेर्ने पर्यटक आउँथे ।

भीमसेनले राक्षस मारेर साधुको रक्षा गरेको खुसियालीमा घण्टाकर्ण जलाउने र त्यसैको अवसरमा जोगी नाच पनि देखाउने प्रावधान चलनमा आएको विश्वास पनि छ । तीजसम्म नचाइएको जोगी लाखेको अन्त्यसँगै बिसर्जन गरिने परम्परा छ । संरक्षणकै लागि भनेर मेला महोत्सवमा पनि बेलाबखत जोगी नाच देखाउने गरिन्छ । उद्योग वाणिज्य संघले बर्सेनि आयोजना गर्ने मेलामा यो नाचका लागि प्रवद्र्धनात्मक काम गरेको छ ।

प्रकाशित : भाद्र १६, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?