कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पुस्तक छन्, पढ्ने छैनन्

घनश्याम खडका

म्याग्दी — बेनीको पश्चिम म्याग्दी खोला किनारामा छ म्याग्दी सामुदायिक पुस्तकालय । हरियो रंगको सफा जुटकार्पेट, चिटिक्क मिलाएका चिल्ला फर्निचर । विविध विधाका हजारौं पुस्तक ।

पुस्तक छन्, पढ्ने छैनन्

जिल्ला समवन्य समिति अध्यक्ष देवेन्द्रबहादुर केसी, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी र प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढासँगै विभिन्न कार्यालय प्रमुख, संघसंस्थाका प्रतिनिधिले पुस्तकालयको अध्ययन कक्ष भरिभराउ छ । सबैका हात–हातमा विभिन्न विधाका पुस्तक छन् । सबै मौन । शान्त वातावरण ।

पुस्तकालयको माहोल सधैं यस्तो हुँदैन । पुस्तकालय दिवस मनाउन आएका पाहुना पाठकले शुक्रबार अध्ययन कक्ष भरिएको हो । दिवसको उपलक्ष्यमा पुस्तकालयमा ‘एक घण्टा पुस्तकालय’ अभियानमा सहभागी हुन पर्यटक पाठक आइपुगे । अरू दिनमा भने पुस्तकालय पुगेर पढ्नेको संख्या न्यून हुन्छ ।

‘लोकसेवा र हाजिरीजवाफ तयारीका कर्मचारी, विद्यार्थीसमेत दैनिक मुस्किलले ५ जनाले पुस्तक पढ्छन् । बाँकी फेसबुक र युट्युब चलाउने मात्र हुन्,’ लाइब्रेरियन अतुल राजभण्डारीले भने, ‘पुस्तकालयका आजीवन सदस्य मात्र होइन, पुस्तकालय सञ्चालक पनि दिवस मनाउन मात्र आउँछन् ।’अभिलेखअनुसार दैनिक पुस्तकालयमा १०/१२ जना आउने गरेका छन् । तर, अधिकांश पुस्तक पढ्न नभई इन्टरनेट चलाउन र भिडियो हेर्न पस्ने गरेका छन् ।

इन्टरनेट–इमेलको सुविधा नि:शुल्क भएकाले पुस्तकका पाठकले होइन गुगल र सामाजिक सञ्जाल चलाउन चाहनेमात्रै पुग्ने गरेका छन् । इन्टरनेटबाट पनि आफ्नो अध्ययनका लागि सन्दर्भ सामग्री खोज्न आउने निकै नगण्य संख्यामा हुने गरेका छन् । लोकसेवाको परीक्षा र हाजिरीजवाफको तयारीका लागि पुस्तकालय टेक्नेहरू पनि साहित्यकारको नाम, जन्ममिति र कृति प्रकाशन मिति हेर्छन्, पुस्तक पढदैनन् ।

एकाध संख्या पत्रपत्रिका पढ्न आउनेको हुन्छ । राजभण्डारीका अनुसार पुस्तकालयमा १० हजार ३ सय ३२ पुस्तक छन् । अधिकांश नेपाली साहित्यका पुस्तक छन् । अंग्रेजी भाषा र हिन्दी साहित्यका पुस्तक पनि छन् । धर्म, दर्शन, राजनीतिलगायत विविध विधाका पुस्तक पनि पर्याप्त छन् । तर, यस्ता पुस्तक पल्टाएर पढ्ने फुर्सदिलाहरूले यहाँ पाइला टेक्दैनन् ।

‘सुरुमा पाठक धेरै थिए तर, वैदेशिक रोजगारी र आधुनिक सञ्चारको सहज पहुँचले पुस्तकमा भन्दा गुगलमा पढ्ने धेरै भए,’ पुस्तकालयका अध्यक्ष सन्तोष रावलले भने, ‘केही वर्ष अघिसम्म पुस्तकालयसँग आबद्ध प्रजातान्त्रिक र प्रगतिशील विचार बोक्ने युवाहरू नियमितरूपमा आउँथे । अब त्यस्ता पाठक रहेनन् ।’ पुस्तक पढ्ने र साहित्यिक कृति मिलेर प्रकाशित गर्ने युवा जमातको संस्कार हराएको प्रभाव पुस्तकालयमा परेको उनले बताए ।

त्यसो त पुस्तकालयमा अध्ययन कक्षबाहेक, बालकक्ष, श्रव्य–दृश्य, संगीत, खेलकुदका सामग्री पनि उपलब्ध छन् । इन्टरनेटबाट आवश्यक सूचना खोज्न र प्रिन्ट गर्न छुट्टै दुईवटा कम्प्युटर राखिएको छ । सामुदायिक पुस्तकालयले छुट्टै बाल पुस्तकालय पनि सञ्चालन गरेको छ । उक्त पुस्तकालय भने दैनिक २०/२२ जना बालबालिका आउने गरेका छन् । उनीहरूले दैनिक बालकथा र कविताका पुस्तक पढ्छन् । एक सय रुपैयाँ धरौटी राखेर फिर्ता गर्ने गरी पुस्तक घर लैजान पनि पाइन्छ ।

पुस्तकालय सञ्चालन गर्न दुईजना लाइब्रेरियन छन् । भुइँतला भाडामा लगाइएको छ । त्यसैबाट उठ्ने रकम नै पुस्तकालय सञ्चालनको एकमात्र आम्दानी हो । त्यसैले कर्मचारीको तलबभत्ता, नयाँ पुस्तक खरिद, बिजुली, इन्टरनेट शुल्क र मर्मतसम्भार खर्च चलाइएको छ ।

वि.सं. ०१२ सालमा स्थापित म्याग्दी पुस्तकालय नि:शुल्क सेवा दिने जिल्लाको सबैभन्दा जेठो सामुदायिक संस्था हो । ०६० चैत ७ मा तत्कालीन विद्रोहीद्वारा बेनी आक्रमणका क्रममा आगो लगाएर पुस्तकालय पनि ध्वस्त पारिएको थियो । घटनामा २० हजार हाराहारी पुुस्तक जलेका थिए । घटनापछि भवन पुनर्निर्माण गरिएको छ ।

प्रकाशित : भाद्र १७, २०७५ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?